प्रशासकीय अधिकृत पार्वतीको प्रसव पीडा र खुसी : अस्पताल जाँदा पनि डाक्टले ‘तपाईं जहिले एक्लै आउनु हुन्छ है’ भन्दा मन कटक्क खान्थ्यो
सामाजिक सुरक्षा कोषमा प्रशासकीय अधिकृतको रुपमा कार्यरत पार्वती श्रेष्ठ कार्यालयसँगै घरको काममा पनि उत्तिकै सक्रिय छिन्। उनी ‘ब्ल्याइन्ड युथ एसोसियसन’को उपाध्यक्ष पनि हुन्। अपाङ्गता भएकाहरूको लागी लामो समय सामाजिक परामर्श गरेको अनुभव पनि उनीसँग छ।
अपाङ्गता भएकाहरूकै लागि भनेर खोलेको सञ्चारमाध्यममा पनि उनले केही समय काम गरिन्। पछि भने सरकारी सेवामा हात हालिन्। त्यसबेला अपाङ्गता, महिला, जनजाति र खुलामा उनको नाम निस्किएको थियो। तर, उनको नाम खुलाबाटै सिफारिस भयो।
रामेछापमा जन्मिएकी उनको जन्मँदा नै दृष्टि कमजोर भएको रहेछ। तर, उनले यो कुरा पछि मात्र थाहा पाइन्। यसले गर्दा आफूमा आत्मबल झन् कमजोर भएको उनको तीतो अनुभव छ। पढाइमा अब्बल उनले बिस्तारै अक्षर चिन्न र लेख्न सकिन्। अहिले भने उनी पुरै सुनेर र सहयोगीको सहायताले पढ्ने गर्छिन्।
सामाजिक सेवामा स्नातकोत्तर गरेकी उनी वित्तीय संस्थामा आवद्द भएको कारण अब अर्थशास्त्रमा स्नातकोत्तर गर्ने तयारीमा छन्। उनी अहिले एक सन्तानकी आमासमेत हुन्। आफ्नो दृष्टि कमजोर भएकै कारण गर्भावस्थामा आफूमा आएको डर र चिन्तासहित पार्वतीले उकेराको नियमित स्तम्भ प्रसव पीडा र खुसीमा आफ्नो मातृत्व अनुभव यसरी सुनाइन् :
000
रामेछापको ग्रामीण मध्यम वर्गीय परिवारमा हुर्किएको भए पनि बाबा शिक्षक हुनुभएको कारण मेरो पढाइमा कुनै कमी भएन। त्यसमाथि मेरो पढाई पनि पहिलेदेखि राम्रो थियो। हामी पाँच जना दिदीबहिनी र एक जना भाइ छौं। छोरी नै छोरी जन्माउन पर्दा मेरो ममीले भोग्नु भएको कुराले त म आमा बन्दा पनि असर पार्यो।
मलाई पहिल्यैदेखि सामाजिक क्षेत्रमा काम गर्छु भन्ने लाग्थ्यो। तर, ठुलो हुँदै गर्दा आफ्नो रुची पनि बदलिने रहेछ। कसरी-कसरी सरकारी सेवामा पुगें। अब यसमै राम्रोसँग काम गर्ने इच्छा छ। अहिले पनि आँखा नदेख्ने त हैन। तर, पढ्न-लेख्न चाहिँ गाह्रो हुने भएकाले मैले सहायता लिने गरेको छु। बाँकी काम त राम्रैसँग गर्छु।
हामीसँग पैसा नभएर होला, पछि म धेरै पैसा कमाएर आफ्नो उपचार आफैं गर्छु भन्नेसम्म लाग्थ्यो। तर एक चरणमा पुगेपछि आफूलाई सम्हाले। अनि पढाइमा असर हुन दिइँन। काम पनि गरें। पढाइ पनि सकें। आफ्नो खुट्टामा आफैं उभिन सक्ने भएपछि मैले विवाह पनि गरें।
श्रीमान मोरङको हुनुहुन्छ। विवाह अघि नै मैले मेरो बारेमा सबै कुरा भने पनि सासुआमालाई चाहिँ ‘पुरै आँखा नदेख्ने हो कि! लट्ठी नै टेकेर हिँड्नुपर्ने, अरूको सहायता चाहिने हो कि!’ भनेर चिन्ता लागेको रहेछ। मैले यो कुरा त विवाहपछि मात्र थाहा पाएँ। तर, पढ्न र लेख्न बाहेक अरू सबै काम म आफैं गर्न सक्छु।
विवाहमा पनि कुनै समस्या भएन। तर, विवाह भएपछि सबैलाई थाहा भयो भने श्रीमान र परिवारलाई अप्ठ्यारो पर्न सक्छ भन्ने कहींकतै लाग्थ्यो। अहिले त विवाह भएको पनि धेरै भयो। त्यस्तो केही लाग्दैन।
विवाह गरेको अर्को वर्ष हाम्रो सन्तान भइहाल्यो। श्रीमानले 'अलि छिटो भयो कि' भन्नु भएको थियो। तर, पढाई सकेर हामी दुवै जना करिअरमा पनि राम्रै गरिरहेको कारण मलाई त्यति धेरै सोच्नुपर्छ जस्तो लागेन। त्यो अनुभूति अप्ठ्यारो, रोचक अनि कस्तो-कस्तो हुने रहेछ। त्यसपछि श्रीमानको उदयपुरमा पोस्टिङ भयो। अनि म काठमाडौंमै भएँ।
त्यो बेला मैले श्रीमानको कमी खूब महसुस गरें। जँचाउन अस्पताल जाँदा पनि ‘तपाईं जहिले एक्लै आउनु हुन्छ है’ भनिदिनु हुन्थ्यो डाक्टरहरूले। मेरो मन कटक्क खान्थ्यो। गर्भावस्थाको पहिलो तीन महिना त खाना नरुच्ने, कमजोरी हुने जस्तो भयो। त्यसले गर्दा पनि हो कि, म कमजोर भइरहें। तौल पनि मेरो त्यति धेरै बढेको होइन। तर, हिँड्न सकस हुन्थ्यो।
पुरानो कपडा खासै ठिक हुँदैन थ्यो। खाना त चटरपटरनै मीठो लाग्ने रहेछ। बट्टाइको अण्डा र पनिर त म अहिले पनि खान्न। समग्रमा भन्दा, शारीरिक रुपमा मलाई त्यति धेरै अप्ठ्यारो भएन। तर मानसिक रुपमा भने धेरै सोच्ने भएकी थिएँ, त्यसबेला। मेरो सन्तानमा पनि मेरो जस्तै आँखामा समस्या भयो भने के गर्ने होला भनेर निकै डर लागेको थियो।
मैले त डाक्टरलाई सोधेको पनि हुँ। तर, उहाँहरूले त्यसबेला हुन्छ/हुँदैन केही भन्नु भएन। जसले गर्दा मैले जन्माएर आफैं नहेर्दासम्म चिन्ता लागिरह्यो। झट्ट हेर्दा मेरो अपाङ्गता खासै याद हुँदैन नि, जसले गर्दा मलाई बेलाबेला झन् अप्ठ्यारो हुने गर्छ।
अनि फेरि हाम्रो समाज कति पितृसत्तात्मक छ भनेर हामी छोरी मान्छेहरूलाई झन् बढी पिरोल्ने के। ‘छोरी भयो भने दुख पाउँछ’ भनेर गर्भवती हुँदा धेरै सुन्नु पर्यो। ‘दुख पाउँछ, धेरै कुरा सहन पर्छ, जे भने पनि पहिलो त छोरै हुनुपर्छ, बरू पछि छोरी भए पनि हुन्छ’ भन्ने मेरो कानमा परि नै रह्यो।
त्यो कुरा बारम्बार सुन्दा मलाई पनि छोरा नै हुनुपर्छ भन्ने लागेको पनि हो। डाक्टरले दिएको समय भन्दा १५ दिनअघि नै म छुट्टी लिएर विराटनगर गएँ, किनकी त्योबेला श्रीमान् पनि उहीं हुनुहुन्थ्यो। त्यो समय फेरि अर्कै सकसको हुने रहेछ। जति सक्दो छिटो भइदिहाले हुन्थ्यो भन्ने लागेको थियो। त्यही बेला झन् दुखाइहरू पनि बढ्दै जाने रहेछ।
प्रसवको समय निकै नर्भस भएको थिएँ। नर्मल नै जन्म दिन्छु भनेर पुरै तयारीका साथ म अस्पताल गएकी थिएँ। अप्रेशन गर्नुपर्छ भनेर त सोचेकै थिइँन। किनभने मेरो शारीरिक व्यायाम पनि राम्रैसँग भइरहेको थियो। तर, प्रसव व्यथा लागेको पाँच घण्टापछि पनि मेरो घर नै खुलिरहेको थिएन।
त्यसमाथि अस्पतालमा जो आए पनि हात हाल्दै चेक गर्दा झन् गाह्रो भएको थियो। त्यसबेला त 'महिला हुनुको सबै भन्दा नराम्रो पल यही होला' जस्तो समेत लाग्ने रहेछ।
अनि तुरुन्त बरू अप्रेशन गरिदिए हुन्थ्यो भन्ने पनि लागेको हो। पछि अप्रेशन गर्नुपर्छ भन्ने कुरा आयो। मैले त फ्याट्टै हुन्छ भनिदिएँ।
पाँच घण्टाको लगातार व्यथा अनि त्यसमाथि दुखाइ हुने औषधीबाट कम हुने भयो भनेर ढुक्क भएँ। श्रीमान पो भन्दा बढी नर्भस हुनु भएको देखें। पछि मलाई अप्रेशन कक्षमा लगियो। एनेस्थेसियापछि ‘चटचट’ गरेको आवाज सुनेको मात्र के थिएँ, एकैछिनमा बच्चा रोएको पनि सुनें।
त्यसपछि डाक्टरले 'हेर्नु त छोरा भयो कि छोरी' भनेर देखाउनु भयो। २४ घण्टापछि मैले बाबुलाई समाउन पाएँ। तर, स्तनपानको समयमा गाह्रो भयो। त्यो भन्दा अगाडि नै बाबुलाई बाहिरको बोतलले दूध ख्वाउनु परेको कारण बाबुले मेरो दूध खानै सकेन।
बच्चाले दूध नखाएपछि दूध पनि नआउने रहेछ। अनि दूध आएन भने आमालाई दोष दिने चलन छ हाम्रो समाजमा। मैले पनि मेरै कारणले दूध नआएको भन्ने सुन्नु पर्यो। भावनात्मक रूपमा एकदम कमजोर भएको हुनाले त्यसबेला जसले जे भने पनि रिस उठ्ने, रून मन लाग्ने हुने रहेछ। त्यो बेला हाम्रो मन एकदम सानो हुने रहेछ।
जसरी नि दूध खुवाउँछु भनेर मैले त दूध तान्ने मेसिन पनि ल्याएको थिएँ। तर, त्यो मेसिनले पछि गाह्रो बनाउँछ भनेर प्रयोग गर्न डर लाग्यो। बाबुले तीन महिनासम्म मेरो दूध राम्रोसँग खान पाएन। अनि बाहिरको दूध खुवाउन पनि निकै झन्झट भएको थियो। राम्रोसँग दूध खान नपाएकाले होला, पछिसम्म मेरो बाबु सानो देखिएको थियो।
सुत्केरी स्याहार पनि त्यस्तो राम्रो भएको होइन। नराम्रो पनि होइन। सुत्केरीको समयमा मैले सहयोगी राख्न चाहेकी थिएँ। तर, राखिएन। त्यसले गर्दा मलाई निकै गाह्रो बनाएको थियो।
अहिले जस्तो हुन्थ्यो अनि मेरो बस चल्थ्यो भने मैले सहयोगी राख्थें। सहयोगी भएपछि आफूलाई पनि समय दिन मिल्छ नि। माइतीमा पनि म धेरै समय बसिनँ। ममीको आफ्नै धेरै काम हुन्थ्यो। मैले गरेर धेरै दुख हुने भयो भन्ने लागेर चाँडै घर फर्केको।
सुत्केरी भएपछि एकनासको दिनचर्या हुने रहेछ। तेल लगाएर, घाम तापेर कालो कालो भएको थियो ज्यान। बाबु चार/पाँच महिनापछि म अफिस पनि जान थालेँ। तर, खै किन हो कुन्नि, अर्कै अनुभुती गरें। सुरूसुरूमा काममा हुँदा पनि बाबुकै बारेमा मात्र सोचिन्थ्यो। अहिले भने त्यस्तोधेरै हुँदैन।
अब उ तीन वर्ष हुँदै छ। भर्खर स्कुल जान थालेको छ। दश महिनासम्म उसलाई हजुरआमाले हेर्नु भयो। पछि सिंहदरबारमा निजामती कर्मचारीहरूको बच्चा हेर्ने दिवा स्याहार केन्द्र छ, त्यसमा राख्न पहल गरें।
म निजामती कर्मचारी नै नभए पनि उहाँहरूले मलाई हेरेर बाबुलाई राखिदिनु भयो। त्यसले गर्दा ढुक्कले काम गर्न पाएँ। अहिले पनि बाबुले स्तनपान गरि नै राखेको छ। एकदम सक्रिय, चञ्चल अनि जिद्दी पनि छ ऊ। अब उसलाई राम्रो संस्कार र शिक्षा दिनेमै हाम्रो ध्यान छ। हाम्रो भन्दा उसको बाल्यकाल राम्रो होस् भन्ने नै लाग्छ।
उसलाई राम्रो अभिभावकत्व हुन कुनै पनि कमी नहोस् भनेर हामी सधैं सतर्क हुन्छौं। त्यै भएर हामीले तत्काल अर्को सन्तानको बारेमा सोचेका पनि छैनौं। आमा भएपछि छोरी मान्छेको जिन्दगी अर्कै हुने रहेछ। धेरै जिम्मेवारी बढेको भएर पनि होला। अहिले त अरूको बच्चा देख्यो भने, अनि गर्भवती महिला देख्यो भने पनि कति धेरै माया लाग्छ। मातृत्व अनुभव भनेकै संघर्षपूर्ण अनि धेरै जिम्मेवारीको समिश्रण रहेछ।
मंसिर ३०, २०८१ आइतबार १४:३७:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।