आत्मदाह गरेकी महिलाको सुसाइड नोट ‘मेरा कारण श्रीमान् र छोराहरुले दुख पाए, खुसीसाथ बस्नु’
काठमाडौँ : कागेश्वरी मनोहरा नगरपालिका–८ को किँरातचोक नजिक बागमती नदी किनार आत्मदाह गरेकी महिलाको ‘सुसाइड नोट’ मा आफ्नै कारणले आत्मदाह गर्न बाध्य भएको लेखेकी छिन्।
शरीरमा पेट्रोल छर्केर आगो लगाएर जल्दा गम्भीर घाइते भएकी ३८ बर्सिया कमला आचार्यको उपचारकोक्रममा निधन भएको थियो। प्रहरीले श्रीमानको मोबाइल नम्बरसमेत लेखिएको सुसाइड नोट घटनास्थल नजिकै फेला पारेको थियो।
अनुसन्धानमा संलग्न प्रहरीका अनुसार उनले आफ्नै कारणले आत्महत्या गरेको भन्दै आत्महत्याको कारणमा कसैलाई दोष लगाएकी छैनन्।
उनको १३ र ३ वर्षका छोराहरू छन्। सुसाइड नोटमा आफ्नो कारण श्रीमान् र छोराहरूले दुख पाएको लेखिएको एक प्रहरीले जानकारी दिए। उनले ‘म कसैलाई दुःख दिन चाहन्न’ भन्दै श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’ भनेर लेखेकी थिइन्।
स्कुटरमा आएकी उनले नजिकै स्कुटर रोकेर आफ्नो शरीरमा आगो लगाएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ। उपचारका लागि उनलाई सुषमा कोइराला मेमोरियल अस्पताल लगिए पनि अधिकांश शरीरको भाग जलेकाले उनको ज्यान बच्न सकेन।
मंसिर ३०, २०८१ आइतबार १३:२७:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।