ओली आफैंलाई थाहा छ 'एमालेले जसरी विकास गर्नुपर्थ्यो त्यसरी गर्न सकेन'
काठमाडौं : प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन जस्तो परिस्थिति आउँछ, त्यसैगरी सामना गर्न सक्ने खालको श्रेष्ठता हासिल गर्न कार्यकर्तालाई आग्रह गरेका छन्।
पार्टीको केन्द्रीय सङ्गठन विभागद्वारा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुई दिने राष्ट्रिय कार्यशालालाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुकको परिस्थितिमा परिवर्तन ल्याउने गरी सिङ्गो पार्टीपंक्ति परिचालित हुनुपर्नेमा जोड दिए।
चिनियाँ कम्युनिष्ट पार्टीको सङ्घर्ष, सफलता र हाल चीनको तीव्र आर्थिक विकासलाई दृष्टान्तका रुपमा प्रस्तुत गर्दै अध्यक्ष ओलीले सबै कुरामा तयार भएर जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउन लाग्नुपर्ने बताए।
उनले अरू देशले स्थिरता र स्थायित्व दिएर अघि बढे पनि पार्टीले गर्नुपर्ने मात्रामा विकास गर्न नसकेको उल्लेख गरे।
'अरू पनि देश छन्, स्थिरिता, स्थायित्व कायम गरेर तीव्र आर्थिक विकास गरेका छन्। यस्तै उद्देश्यका लागि हाम्रो पार्टी पनि स्थापना भयो। हाम्रो पार्टीले जसरी विकास गर्नुपर्थ्यो त्यसरी गर्न सकेन, ओलीले भने, वैचारिक स्पष्टता जस्तो हुनुपर्थ्यो र त्यस स्पष्टतामा एकता जस्तो हुनुपर्थ्यो, त्यो भएन।'
ओलीले तुलनात्मक रूपमा पुष्पलालले सही विचार लिएको बताए। केहीले भने भोटो फटाए पनि नेतृत्व दिन नसकेको उनको भनाइ थियो।
चिनियाँ कम्युनिस्ट पार्टीले केही पनि नभएको ठाउँबाट राज्यसत्तामा पुगेर श्रेष्ठता हासिल गर्दै अहिले चीनलाई आर्थिकरुपमा महाशक्ति राष्ट्र बनाएको उदाहरण प्रस्तुत गर्दै अध्यक्ष ओलीले त्यहाँ पार्टी नेतृत्वलाई कुनै पनि नेताले विरोध नगर्ने गरेको स्मरण गराए।
चीनले अन्य समाजवादी मुलुकको नक्कल नगरी आफ्नै विशेषताको समाजवादको यात्रा थालेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले एमालेले पनि नेपालमा समाजवाद स्थापनाको लक्ष्यमा आफूलाई अग्रसर गराउँदै आएको जनाए।
'हाम्रो पार्टी केवल राजनीति गर्न जन्मेको होइन। समाजवाद र राष्ट्रवादको महान् उद्देश्य बोकेर देश बनाउन र सकारात्मक परिवर्तन ल्याउन जन्मेको पार्टी हो', अध्यक्ष ओलीले भने, जनताले सजिलोसँग खान, लाउन, बस्न पाउने तथा छोराछोरी पढाउन पाउने, बिरामी हुँदा उपचार गर्न पाउने आधारभूत आवश्यकताको परिपूर्ति तथा राजनीतिक अधिकार पाउनुपर्ने भन्ने उद्देश्यले कम्युनिष्ट पार्टीको स्थापना भएको हो।'
इतिहासकालदेखि पार्टीमा वैचारिक स्पष्टता र एकता हुन नसक्दा वाञ्छित उपलब्धि हासिल हुन नसकेको बताउँदै उनले पार्टीभित्र बिमति जनाउने तर सही बाटो के हो भनेर पहिल्याउन नसक्ने प्रवृत्ति देखा पर्दै आएको स्पष्ट गरे।
मंसिर ३०, २०८१ आइतबार १३:०६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।