भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि भागेका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक श्रेष्ठ १३ वर्षपछि पक्राउ
काठमाडौं : भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका नेपाल बैंक लिमिटेडका तत्कालीन उपप्रबन्धक शशीकिरण श्रेष्ठ १३ वर्षपछि पक्राउ परेका छन्। उनलाई काठमाडौंको स्वयम्भूबाट शुक्रबार अपराह्न पक्राउ गरिएको प्रहरी वृत्त स्वयम्भूका डीएसपी उद्धव भाटले जानकारी दिए।
नेपाल बैंकमा कार्यरत रहँदा विभिन्न कर्जा प्रवाह गर्दा अख्तियारको दुरुपयोग गरी बैंकलाई ३९ करोड ८९ लाख ३१ हजार ७८४ रुपैयाँ हानीनोक्सानी गरी भ्रष्टाचार गरेको कसुरमा उनी दोषी ठहर भएका थिए।
दुई वटा छुट्टाछुट्टै मुद्दामा उनीबिरुद्ध ६/६ महिना कैद सजाय तोकिएको छ। २०६८ भदौ ६ मा उनीसहित ऋणी लक्ष्मीप्रसाद आचार्य समेतलाई विशेष अदालतले दोषी ठहर गरेको थियो। त्यो फैसला २०७३ असोज २५ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय विश्वम्भरप्रसाद श्रेष्ठ र आनन्दमोहन भट्टराईको इजलाशबाट सदर भएको थियो। तर, श्रेष्ठ त्यसयता फरार थिए।
शनिबार र आइतबार सार्वजनिक बिदा परेकाले उनलाई सोमबार अदालतमा पेस गरिने डीएसपी भाटले बताए।
अदालतमा पेश गरेपछि उनी फैसला कार्यान्वयनको लागि कारागार बस्नुपर्नेछ।
मंसिर ३०, २०८१ आइतबार ११:४२:३६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।