पत्रकार महासंघ चुनाव : केन्द्रमा दलको 'ह्वीप' लाग्दा चार जिल्लामा फरक नतिजा

पत्रकार महासंघ चुनाव : केन्द्रमा दलको 'ह्वीप' लाग्दा चार जिल्लामा फरक नतिजा

काठमाडौं : शुक्रबार भएको नेपाल पत्रकार महासंघको २७औं महाधिवेशन अन्तर्गतको निर्वाचनमा पार्टीगत भातृ सङ्गठनहरूले प्यानल बनाएर उम्मेदवार तोके। दलगत भातृ सङ्गठनको प्यानलका उम्मेदवार जिताउन पार्टी नै मैदानमा उत्रियो।

उम्मेदवार बनेका पत्रकारहरू दलका कार्यकर्ताझैं  देखिए। पर्दा पछाडि शीर्ष तीन दलका नेताहरू आफ्ना पार्टीका उम्मेदवार जिताउन डटेर लागे। जिल्ला जिल्लामा नेपाली कांग्रेस र एमालेका पार्टीका नेताहरूले संयुक्त विज्ञप्ति नै जारी गरे प्यानलको पक्षमा।

तर, पत्रकार महासंघमा दलीय राजनीतिको प्रभाव परेको लामै समय भइसक्यो। अचाक्ली भएको अघिल्लो निर्वाचनबाट हो। त्यसबेला प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि नेपाली कांग्रेस-माओवादी केन्द्र, एकीकृत समाजवादी एकजुट भएर एमाले-राष्ट्रिय प्रजातन्त्र पार्टीविरुद्व महासंघको चुनाव लडेका थिए। प्रधानमन्त्री कांग्रेस सभापति शेरबहादुर देउवा थिए। 

त्यस बेलाको सत्तापक्ष कांग्रेस-माओवादी-एकीकृत समाजवादी र प्रतिपक्ष एमाले-राप्रपानिकट पत्रकारका संगठनहरू गठबन्धन गरेर एकअर्काविरुद्व चुनाव लडे। नभन्दै केन्द्रमा कांग्रेस निकट प्रेस युनियनका नेता विपुल पोखरेल अध्यक्षमा निर्वाचित भए भने महासचिव निर्वाचित भए माओवादीनिकट प्रेस सेन्टरका नेता रोशन पुरी। त्यतिमात्र हैन, युनियन-सेन्टर गठबन्धनले अधिकांश प्रदेश र जिल्लाहरूमा आफ्नो नेतृत्व स्थापित गर्यो। 

महासंघको चुनाव सकिएपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, 'पत्रकार महासंघको चुनावमा पनि हामीले एमालेलाई देखाइदियौँ।' 

प्रचण्डले भनेजस्तै त्यसबेला दलहरूले महासंघको चुनावलाई दलीय प्रतिष्ठाको विषय बनाएका थिए। त्यसो त त्यसअघि पनि दलीय प्रतिष्ठाको विषय नबनेको भने हैन, तर नेताहरू यतिबिघ्न लागेको भने देखिदैन थियो।

त्यसअघि महासंघको नेतृत्व दलगत आधारमै छानिन्थ्यो। महासंघमा युनियन, प्रेस चौतारीको दलीय आधारमै प्यानल बन्थे। माओवादी शान्तिपूर्ण राजनीतिमा आएपछि युनियन, चौतारीसँगै  प्रेस सेन्टर पनि महासंघमा तेस्रो शक्तीको रुपमा उदायो। अनि युनियन र चौतारीले पालैपालो प्रेस सेन्टरसँग मिलेर प्यानल बनायो। कहिले महासचिव त एक पटक अध्यक्ष नै पायो प्रेस सेन्टरले। 

आन्तरिक रुपमा लगाम पार्टीमै भए पनि प्रत्यक्ष रुपमा निर्वाचनमा उत्रिँदैनथ्यो। दलले नि शुभेच्छा राख्थ्यो, उम्मेदवारले पनि शुभेच्छा लिन्थे। तर पछिल्लो समय भने महासंघको निर्वाचन पत्रकारहरुको कम दलका कार्यकर्ताहरुको बढी देखिदै आएको छ। योपाली पनि त्यसले निरन्तरता नै पायो।

माओवादी-एकीकृत समाजवादीलाई हराउन कांग्रेस-एमाले एक ठाउँमा 

पटक-पटक महासंघको निर्वाचन मिति तोक्दै सर्दै गर्यो। तेस्रो पटक मिति तोक्दा एमालेको चौतारी र माओवादीको प्रेस सेन्टरबीच केन्द्रमा भागबन्डा नै भइसकेको थियो। राजनीतिक परिस्थिति बदलिएर एमाले र नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेसँगै महासंघको समीकरण पनि बदलियो।

अघिल्लोपटक एमाले-राप्रपाबाट निर्मला शर्मा अध्यक्षमा उम्मेदवार भएकी थिइन्।  उनलाई हराउन कांग्रेस-माओवादी-एकीकृत समाजवादी एकैठाउँ थिए। यसपटक माओवादी-एकीकृत समाजवादीलाई हराउन कांग्रेस-एमाले एक ठाउँमा उभिए।

देशैभर प्रेस युनियन र प्रेस चौतारीबीच गठबन्धन बन्यो। त्यसलाई हराउन युनियनकै एक समुहसहित प्रेस सेन्टर-समाजवादी प्रेस संगठनलगायतका संगठन अर्कोतिर भए।

पछिल्लो पटक केन्द्र, प्रदेश र जिल्ला तथा प्रतिष्ठान शाखाहरूको नतिजा सार्वजनिक भइरहेको छ। तर, (यो समाचार तयार गर्दासम्म) देश भारको परिमाण आइसकेको छैन। मधेश प्रदेशका केही स्थानमा अझै मत गणना भइरहेको छ। 

पछिल्लो परिमाण अनुसार युनियन-चौतारी गठबन्धनको देशैभरी वर्चस्व छ। दलबीच जे सहमती भयो पत्रकारहरुले त्यसलाई स्विकारेर भोट दिए। अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित हुने पक्का देखिएको छ।

मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशमा मतगणना सकिँदा शर्माले निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी हुन्। मधेशमा खसेको ७७२ मत शर्माले लिएको अग्रता भन्दा कम हो। अधिकांश जिल्लाहरूमा पनि यही गठबन्धनको जित देखिन्छ। 

केही स्थानको नतिजा भने बदलियो। २० बढी जिल्लाहरूको नेतृत्वमा भने युनियनका बागी र प्रेस सेन्टर समर्थित उम्मेदवार विजयी भए। तीन वटा प्रदेशमा सेन्टर समर्थित उम्मेदवार विजयी भएका छन्। सेन्टर समर्थित उम्मेदवारले बागमती प्रदेश, एशोसिएट प्रदेश र उपत्यका प्रदेशको नेतृत्व पायो।

पत्रकार महासंघको एसोसिएट प्रदेश समितिको अध्यक्षमा रोयल आचार्य विजयी भए। बागमती प्रदेश अध्यक्ष कृष्ण सारू मगर र उपत्यका प्रदेश अध्यक्ष टेनिस रोका विजयी भए। 

देउवा, ओली, प्रचण्ड र नेपाललाई पत्याएनन् पत्रकारले 
यस अगाडिको निर्वाचनको ट्रेन्डमा प्रतिष्ठान र एसोसिएटको भोट कुनै निश्चित प्यानलमा खस्ने नगरे पनि जिल्लामा भने प्यानल हावी हुने गरेका थिए। यस पटक सो ट्रेन्ड ब्रेक भएको देखियो। तर केही जिल्लामा मात्रै नतिजा बदलियो।

मत क्रस नहुने रेकर्ड राखेका जिल्लाहरूको मत परिणाममा युनियनबाट विद्रोह गरेर प्रेस सेन्टरसहितको समूहसँग गठबन्धन गरेका रमेश विष्टले कडा टक्कर दिए। युनियन-चौतारी गठबन्धनकी साझा उम्मेदवार निर्मला शर्मालाई त्यतिधेरै सहज देखिएन। 

अझ योभन्दा पनि महत्वपूर्ण, शीर्ष तीन दलका नेताहरू शेरबहादुर देउवा, केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्डका आफ्नै जिल्लामा फरक मत परिमाण आयो। 

अझ पूर्वप्रधानमन्त्री समेत रहेका माधव नेपालको जिल्लामा रौतहटमा पनि उनको पार्टीनिकट समाजवादी प्रेस संगठन हार्यो। समाजवादी प्रेस  संगठनले मदन ठाकुरलाई अध्यक्षमा उठाएको थियो। उनको गठबन्धनसँग जित्ने संख्या हुँदाहुँदै आफ्नै पार्टी र संगठनको झगडाका कारण उनले हारे। युनियनका सन्जय कार्कीले चुनाव जिते।

तीन शीर्ष नेताहरूको त कुरै टेरेनन् पत्रकारले। कांग्रेस सभापति देउवाको गृहजिल्ला डडेल्धुरामा कांग्रेसनिकट प्रेस युनियन हार्यो। देउवाको निर्देशनमा बनेको प्रेस चौतारी र प्रेस युनियनको गठबन्धनका साझा उम्मेदवार युनियनका पुष्कर भण्डारीलाई हराउँदै हिक्मत सिंह महासंघको डडेल्धुरा शाखामा अध्यक्षमा विजयी भए। विजयी भएका सिंहलाई एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठन र माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालले समर्थन गरेका थिए। 

उता, एमाले अध्यक्ष तथा प्रधानमन्त्री ओलीको जिल्ला झापामा युनियन-चौतारीका साझा उम्मेदवार राजेन्द्र गौतमले अध्यक्षमा हारे। जबकि उनलाई जिताउन केन्द्रबाट निर्देशन गएको थियो। विपक्षी गठबन्धनका उम्मेदवार एकराज गिरी १ सय ३१ मतका साथ विजयी भए। 

माओवादी अध्यक्ष प्रचण्डको जिल्ला चितवनमा माओवादीनिकट प्रेस सेन्टरका उम्मेदवार प्रकाशमणि ज्ञवालीलाई युनियनका उम्मेदवार बसन्तराज पराजुलीले ४० मतको अन्तरले हराए।

मंसिर ३०, २०८१ आइतबार ११:०२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।