पत्रकार महासंघको अध्यक्षमा अघिल्लोपटक हारेर यसपटक इतिहास रच्दै निर्मला शर्मा
काठमाडौं : नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा निर्वाचित हुने पक्का देखिएको छ। तथापि सबै मत गणना भने भइसकेको छैन।
नेपाली कांग्रेसनिकट नेपाल प्रेस युनियन र एमालेनिकट प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार शर्माले अहिलेसम्म एक हजार १४४ मतले अगाडि छिन्।
मधेश प्रदेशबाहेक बाँकी ६ प्रदेशमा मतगणना सकिँदा शर्माले निकटतम् प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी हुन्। मधेशमा खसेको ७७२ मत शर्माले लिएको अग्रता भन्दा कम हो।
पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टले २ हजार ८ सय २९ मत पाएका छन्।
प्रेस युनियनबाट बागी उम्मेदवारी दिएका विष्टलाई माओवादी केन्द्रनिकट प्रेस सेन्टर, एकीकृत समाजवादीनिकट समाजवादी प्रेस संगठनलगायतले समर्थन गरेका थिए। उनी यसअघि महासंघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष थिए।
यता, निर्वाचित बनेकी शर्मा भने अघिल्लोपटक प्रेस युनियनका नेता विपुल पोखरेलसँग पराजित उम्मेदवार हुन्। उनी पत्रकार महासंघको इतिहासमा पहिलो महिला निर्वाचित अध्यक्ष पनि हुन्।
मंसिर ३०, २०८१ आइतबार ०९:१६:५३ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।