पितृको मान र प्रकृतिको सम्मानमा आज उँधौली पर्व मनाउँदै किराँत समुदाय

पितृको मान र प्रकृतिको सम्मानमा आज उँधौली पर्व मनाउँदै किराँत समुदाय

काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज पितृको मान र प्रकृतिको सम्मानका रूपमा किराँत समुदायले उँधौली पर्व मनाउँदैछन्।

उँधौलीको अवसरमा किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उँधौली साकेला र लिम्बूहरूले चासोक तङनाम मनाउँछन्। किराँत संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किराँतभित्रका जातजातिले यो पर्वलाई फरक-फरक नाम दिए पनि समग्रमा उँधौलीका नामले चिनिने बताउँछन्।

किराँत समुदायले अन्नबाली पाकेपछि इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई उँधौली पर्वका रूपमा मनाउँछन्। बाली लगाउने बेलामा भने किराँत समुदायले उँभौली पर्व मनाउने प्रचलन छ। 

भूमिपूजा गर्दै आज बिहानैदेखि किराँत महिला तथा पुरूष जातीय वेषभूषामा सजिएर विभिन्न सिली (नाच)सहित पर्व मनाउँछन्। 

ललितपुरको सानो हात्तीवन किरातकालदेखिको ऐतिहासिक तथा धार्मिकस्थल मानिन्छ। सानो हात्तीवनमा आज पूजाआजा सहित किराँत चाड विशेष रूपमा मनाइन्छ। 
 
पूजापछि आ-आफ्नो परम्पराअनुसार साकेला सिली, च्याब्रुङ नाचेर मनोरञ्जन गर्ने चलन छ। वैशाख शुक्ल पूर्णिमामा उँभौली पूजा गरेका किराँतले आज उँधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन्। जसलाई पर्यावरण अनुकूलता अनुरुपका कामका रूपमासमेत लिइने संस्कृतिका अनुसन्धाता राईले बताए। जाडोमा तल झर्ने गर्मीमा माथि लेकमा जाने प्रकृयालाई उँधौली र उँभौली पर्वको रूपमा लिने गरिन्छ।
 
उँधौलीमा खेतिपाती राम्रो होस् भनी पूजा गर्ने र उँधौलीमा खेतिपाती राम्रो गरेकोमा साकेला (भूमे)लाई धन्यवाद दिने गरिन्छ।  

मंसिर ३०, २०८१ आइतबार ०७:५२:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।