उकेरा टप फाइभ : डा. राजनको उपचार अनुभवदेखि पार्टी कमजोर भएपछि एमाले नेताहरूको उग्र गतिविधिसम्म
काठमाडौं : गृहमन्त्री रमेश लेखकले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि मानवअधिकार उल्लंघनको कुनै पनि व्यवहार नभएको भन्दै अदालतको आदेशअनुसार नै अनुसन्धान भइरहेको बताएका छन्। नेपाल प्रेस युनियन नवलपुरद्वारा शनिबार कावासोतीमा आयोजित पत्रकार भेटघाटमा गृहमन्त्री लेखकले लोकतन्त्रमा भिडले न्याय नदिने भन्दै न्यायिक प्रकृयाबाट नै हरेक गतिविधिको छिनोफानो हुने बताए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन्। रूपन्देहीको तिलोत्तमामा आज आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गएको उपनिर्वाचनले पनि आफ्नो पार्टी शक्तिशाली बन्दै गएको दाबी गरे।
नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्समाथि काठमाडौं गुर्खाजले छ विकेटको शानदार जित निकालेको छ। एक सय ३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो। यसले काठमाडौंको प्लेअफ खेल्ने सम्भावना बलियो बनेको छ।
एनपिएलकै अर्को खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई हराएको छ। शनिबार भएको खेलमा चितवनले जनकपुरमाथि ३२ रनको जित हासिल गरेको हो। चितवनले दिएको १ सय ८१ रनको बलियो लक्ष्य पछ्याएको जनकपुरल १८औं ओभरको अन्तिम बलमा अल आउट हुँदै १ सय ४८ रन मात्र बनाउन सक्यो। चितवनको जितका कारण पोखरा र विराटनगर प्रतियोगिताबाट बाहिरिएका छन्।
धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बस आफैं अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो। बुटवलबाट काठमाडौं आउँदै गरेको लु२ख ६६७६ नम्बरको बस धादिङको गल्छी गाउँपालिका-६ सुत्केरी ढुङ्गामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए। बस चालक रुपन्देहीको सैनामैना नगरपालिका-९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिइएको छ।
दक्षित भारतीय अभिनेता अल्लु अर्जुन हैदराबादको चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भएका छन्। हैदरावाद प्रहरीले उनलाई शुक्रबार पक्राउ गरी अदालतमा पेश गरेको थियो। पक्राउको क्रममा बिहानको खाजा खान नदिएको उनको दाबी छ। भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार आफूलाई प्रहरीले लुगा फेर्न पनि अनुमति नदिइएको अल्लु अर्जुनले दाबी गरेका छन्।
अब उकेरामा सोमबार प्रकाशित टप फाइभ समाचार
जारी नेपाल प्रिमियर लिग एनपिएल हेर्न आएका वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लाराले क्रिकेट कमेन्ट्री गरेका छन्। शनिबार त्रिवि क्रिकेट मैदानमा पुगेका उनले चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेलमा कमेन्ट्री गरे। क्यानको निमन्त्रणामा लारा पिको पहिलो संस्करण हेर्न नेपाल आएका हुन्।
पूरा समाचार: ब्रायन लाराले गरे एनपीएलको कमेन्ट्री
दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलविरूद्धको महाअभियोग प्रस्ताव संसदबाट पास भएसँगै उनी पदबाट निलम्बित भएका छन्। उनको अनुपस्थितिमा प्रधानमन्त्री हान डक सुले कार्यवाहक राष्ट्रपतिको रूपमा सरकार चलाउने छन्। राष्ट्रपति योलले उत्तर कोरिया र देशभित्रकै केही विपक्षीहरुबाट राष्ट्रियता खतरामा परेको भन्दै सैनिक शासन (मार्शल ल) लागू गर्ने निर्णय गरेपछि विवादमा तानिएका थिए।
पूरा समाचार: दोस्रो पटकको प्रयासमा दक्षिण कोरियाका राष्ट्रपति योलविरूद्धको महाअभियोग प्रस्ताव संसदबाट पास
एनपिएलका खेलमा आधारित रहेर अनलाइन जुवा खेलाएको आरोपमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलिले मंसिर १७ मा त्रिवि क्रिकेट मैदानबाटै दुई भारतीय नागरिक पक्राउ गर्यो। पक्राउ परेका सुनिल घोष र अनित यादव एनपिएलको खेलमा आधारित रहेर मैदानबाटै अनलाइन जुवा खेलाउन १ महिना अघिदेखि भारतबाट काठमाडौँ आएर बसेको ब्युरोको दाबी थियो। ब्युरोका प्रमुख एआइजी दीपक थापाका अनुसार अनुसन्धानबाट उनीहरूको खाताबाट ८ करोड बराबरको जुवाको कारोबार भएको तथ्य समेत फेला परेको थियो।
पूरा समाचार: ‘युवा आइकन’ पारसको ‘जुवा आइकन’ यात्रा, एनपिएलमा जुवाको प्रचारमा नियामकको निष्क्रियतामा विज्ञ छक्क
एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नयाँ ढङ्गले पार्टीका कामकारबाहीलाई अघि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। एमाले लमजुङ-काठमाडौं सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको विभिन्न पाँचवटा पालिका सम्पर्क मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उनले सङ्गठन विस्तार तथा जनसरोकारका मुद्दामा केन्द्रित हुन आग्रह गरे। त्यसअघि एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पार्टीभित्र व्यक्तिगत स्वार्थ पूरा नहुँदा पार्टी छाड्ने र निष्क्रिय हुने प्रवृत्ति बढेको बताएका थिए।
पूरा समाचार: एमाले कमजोर भएपछि कार्यकर्तासँग रिसाउन थाले नेताहरू, ओलीविरूद्धको घेराबन्दीलाई प्रतिवाद गर्न निर्देशन
डा. राजन पाण्डे ११औं तहका प्रमुख कन्सल्टेण्ट फिजिसियन हुन्। भेरी अस्पतालमा कार्यरत डा. राजन विशेषगरी सिकल सेल एनिमियाका बिरामीको औषधि उपचार र अध्ययन अनुसन्धानमा केन्द्रित हुन्छन्। उनै डा. राजनले बिरामीले भोग्नुपरेका दुःख तथा पीडाका बारेमा उकेरासँग अनुभव साटेका छन्।
पूरा समाचार: सिकल सेलका अनुसन्धाता डा. राजनको उपचार अनुभव : जब ती मुख्य न्यायाधीश मौरीले मुखमा टोकेपछि बेहोस भएर ढले
मंसिर २९, २०८१ शनिबार २१:५४:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।