धादिङमा बस अनियन्त्रित भएर सडक छेउको डिभाइडरमा ठोक्किदा आठ जना घाइते

धादिङमा बस अनियन्त्रित भएर सडक छेउको डिभाइडरमा ठोक्किदा आठ जना घाइते

काठमाडौं : धादिङको गल्छीमा बस दुर्घटना हुँदा आठ जना घाइते भएका छन्। बस आफैं अनियन्त्रित भई सडक छेउमा रहेको डिभाइडरमा ठोक्किएको हो।

बुटवलबाट काठमाडौं आउँदै गरेको लु२ख ६६७६ नम्बरको बस धादिङको गल्छी गाउँपालिका-६ सुत्केरी ढुङ्गामा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सुवास हमालले जानकारी दिए। 

उनका अनुसार दुर्घटनामा परी कपिलवस्तुको शिवराज नगरपालिका-३ का ४० वर्षीय गोपाल सुनार, ३९ वर्षीया अस्मिता आले, बारगङ्गा नगरपालिका-३ का ५४ वर्षीय जनक गौतम, सुर्खेतको गुर्भाकोट नगरपालिका-१ का ४२ वर्षीय चित्रबहादुर पाण्डे, काभ्रेको बनेपा नगरपालिका-७ का ३१ वर्षीय सुकराम कार्की, ५८ वर्षीय विजय कार्की, स्याङ्जाको आधिखोला गाउँपालिका-१ का ५६ वर्षीय नन्दलाल अधिकारी र रामेछापको सुनापति गाउँपालिका-१ का ४२ वर्षीय राजकुमार दास घाइते भएका छन्।

दुर्घटनामा परी घाइते भएका आठै जनालाई बैरेनी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौंको बिएन्डबी अस्पताल रेफर गरिएको छ। 

बस चालक रुपन्देहीको सैनामैना नगरपालिका-९ का ३० वर्षीय भूपेन्द्र चापागाइँलाई नियन्त्रणमा लिएको डिएसपी हमालले जानकारी दिए। 

मंसिर २९, २०८१ शनिबार २१:२२:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।