'नेतृत्वविरूद्ध हमला हुँदा एमालेपंक्ति खरो रूपमा उत्रन सकेन, यही तरिकाले मिसन-२०८४ असफल हुन्छ'

'नेतृत्वविरूद्ध हमला हुँदा एमालेपंक्ति खरो रूपमा उत्रन सकेन, यही तरिकाले मिसन-२०८४ असफल हुन्छ'
फाइल

काठमाडौं : एमालेका महासचिव शंकर पोखरेलले पार्टी जीवनमा समस्या देखिएको औंल्याएका छन्।

ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आयोजित ‘स्थानीय तहमा पार्टी कामका समस्या र समाधान’ विषयक दुईदिने कार्यशालाको शनिबार उद्घाटन गर्दै उनले पार्टीको नीति जनतासम्म पुर्याउन तथा वैचारिक राजनीतिक संघर्षमा जनतासँग संवाद गर्नुपर्ने पक्षमा कमी रहेको बताए।

हाल पार्टीको जुन ढंगले काम भइरहेको छ, यसरी एमालेलाई राष्ट्रिय शक्ति निर्माण गर्न कठिन हुने उनले बताए। उनले हालै सम्पन्न स्थानीय तह उपनिर्वाचनको मत परिणामले विगतको तुलनामा उपलब्धि देखिए पनि परिणाम उत्साहित हुनुपर्ने खालको नभएको बताए।

महासचिव पोखरेलले स्थानीय तहका जनप्रतिनिधिले पार्टी निर्माणमा सहयोग गर्नुपर्ने उल्लेख गरे। जनप्रतिनिधिका काम पनि पार्टीलाई सहयोग पुग्ने खालका हुनुपर्नेमा उनले जोड दिए। 

उनले पार्टीको वार्षिक कार्य योजनाका बारेमा अभिमुखीकरण गर्दै एमालेलाई बलियो राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने आधार र सम्पादित कामका बारेमा सहभागीको ध्यानाकर्षण गरे।

मिसन-२०८४ मा आधारित वार्षिक कार्ययोजना कार्यान्वयनमा असफल हुने छुट पार्टीलाई नभएको उनले बताए। यस सन्दर्भमा सदस्यता नवीकरण सर्वाधिक महत्त्वपूर्ण काम भएको भन्दै महासचिव पोखरेलले पार्टी कमिटीले युवा तथा महिलाको क्षेत्रमा विशेष महत्त्वका साथ काम नगरेको उल्लेख गरे।

पार्टी सदस्यलाई केन्द्रीय स्कुल विभागले मात्र प्रशिक्षण दिएर सम्भव नहुने उनले बताए। माध्यमिक र आधारभूत तहको प्रशिक्षणको काम प्रदेश र जिल्ला कमिटीले सञ्चालन गर्नुपर्ने उनको भनाइ थियो।

महासचिव पोखरेलले पार्टी र नेतृत्वविरूद्ध हमला र भ्रमपूर्ण प्रचार भइरहँदा त्यसविरुद्ध एमालेपंक्ति खरो रूपमा उत्रनुपर्नेमा प्रतिरक्षा कमजोर भइरहेको बताए। 

उनले मुलुकमा देखिएको निराशालाई चिर्न राजनीतिक स्थायित्व आवश्यक रहेको हुँदा निर्वाचनबाट बलियो शक्ति स्थापना गरेर त्यसकै जगमा स्थिर सरकार निर्माण गर्नुपर्ने उल्लेख गरे। 

मंसिर २९, २०८१ शनिबार २०:५३:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।