एमाले कमजोर भएपछि कार्यकर्तासँग रिसाउन थाले नेताहरू, ओलीविरूद्धको घेराबन्दीलाई प्रतिवाद गर्न निर्देशन

एमाले कमजोर भएपछि कार्यकर्तासँग रिसाउन थाले नेताहरू, ओलीविरूद्धको घेराबन्दीलाई प्रतिवाद गर्न निर्देशन

काठमाडौं : एमालेका उपमहासचिव एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरूङले नयाँ ढङ्गले पार्टीका कामकारबाहीलाई अघि बढाउन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्। 

एमाले लमजुङ-काठमाडौं सम्पर्क मञ्चले आज राजधानीमा आयोजना गरेको विभिन्न पाँचवटा पालिका सम्पर्क मञ्चको सम्मेलनलाई सम्बोधन गर्दै उनले सङ्गठन विस्तार तथा जनसरोकारका मुद्दामा केन्द्रित हुन आग्रह गरे।
 
'तपाईंहरूले आजदेखि नै के अठोट गर्नुस् भने हाम्रा पालामा म केही न केही नयाँ काम गर्छु, अर्को पटक नेतृत्व लिनेगरी काम गर्नुस्, उपमहासचिव गुरूङले भने, 'इमानदारितापूर्वक र गतिशील भएर काम गर्दा सफलता पाउन सकिन्छ, यतातर्फ ध्यान दिनुहोला।' 

अध्ययनशीलता र लगनशीलताले व्यक्तिलाई सफलतातर्फ उन्मुख गराउने भन्दै उनले अध्ययनका क्रममा प्राप्त ज्ञानलाई व्यवहारमा उतार्न पनि आग्रह गरे।
 
उपमहासचिव गुरूङले पार्टी नेतृत्व र सरकार विरूद्धको घेराबन्दी तोड्ने गरी योजना बनाइनुपर्नेमा जोड दिँदै नेता जत्तिकै कार्यकर्ता पनि सक्रिय हुनुपर्ने बताए। 

उनले मुख्य जिम्मेवारीमा रहेका नेता तथा कार्यकर्ताले राजनीतिक सक्रियता अझ अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए। 

एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मालगायत सरकारविरूद्ध घेराबन्दी बढेपछि प्रतिवाद गर्न एमालेले स्थानीय तह उप-निर्वाचनअघि काठमाडौंको दरबारमार्गमा सभा (जागरण सभा) गरेको उनले सुनाए। तर, सभामा नेता-कार्यकर्ताको न्यून उपस्थिति भएको भन्दै उनले असन्तुष्टि जनाए। 

त्यसमा माधव नेपालले पार्टी टुक्र्याएर गएलगत्तै गरिएको सभामा भन्दा आधा कम कार्यकर्ता सहभागी भएको उनले उल्लेख गरे।

एमालेले मङ्सिर ७ मा दरबारमार्गमा गरेको जागरण सभामा एक लाख कार्यकर्ता उतार्ने दाबी गरेको थियो। प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, विद्युत प्राधिकरणका एमडी कुलमान घिसिङ, रास्वपा सभापति रवि लामिछाने र मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई शक्ति प्रदर्शन गर्न एक लाख कार्यकर्ता उतार्न एमालेले सर्कुलर जारी गरेको थियो। 

तर, त्यसबेला ५ हजार कार्यकर्ता पनि सडकमा आएनन्। प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओलीले सम्बोधन गरेको त्यस सभामा विपक्षीको खैरो खनेका थिए। तथापि त्यसले झन् आलोचना मात्रै बढाएको थियो।  

त्यसअघि एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पनि पार्टीभित्र व्यक्तिगत स्वार्थ पूरा नहुँदा पार्टी छाड्ने र निष्क्रिय हुने प्रवृत्ति बढेको बताएका थिए। ज्ञवालीले नेता, कार्यकर्ताले पार्टीका आधिकारिक बैठकबाहेक अन्यत्र गएर बोल्ने प्रवृत्तिले पार्टी अनुशासनमा चुनौती ल्याएको भनेका थिए। 

मंसिर २४ मा झापाको बिर्तामोडमा आयोजित पार्टीका नेता कार्यकर्ताहरूको बृहत् भेलामा उनले विरूद्धको घेराबन्दीलाई प्रतिवाद गर्न निर्देशनसमेत दिएका थिए। 

मंसिर २९, २०८१ शनिबार २०:३२:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।