सिकल सेलका अनुसन्धाता डा. राजनको उपचार अनुभव : जब ती मुख्य न्यायाधीश मौरीले मुखमा टोकेपछि बेहोस भएर ढले

सिकल सेलका अनुसन्धाता डा. राजनको उपचार अनुभव : जब ती मुख्य न्यायाधीश मौरीले मुखमा टोकेपछि बेहोस भएर ढले

डा. राजन पाण्डे ११औं तहका प्रमुख कन्सल्टेण्ट फिजिसियन हुन्। भेरी अस्पतालमा कार्यरत डा. राजन विशेषगरी सिकल सेल एनिमियाका बिरामीको औषधि उपचार र अध्ययन अनुसन्धानमा केन्द्रित हुन्छन्। उनै डा. राजनले बिरामीले भोग्नुपरेका दुःख तथा पीडाका बारेमा उकेरासँग अनुभव साटेका छन् : 

000 

जब ती मुख्य न्यायाधीश मौरीले मुखमा टोकेपछि बेहोस भएर भए
बाँकेको नेपालगन्जमा रहेको तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीशलाई उपचार गरी बचाएको प्रसंग डा. राजन कहिल्यै भुल्दैनन्। 

प्रसंग करिब १२ वर्षअघिको हो। जतिबेला डा. राजन भेरी अस्पतालमा मेडिकल अधिकृतका रुपमा कार्यरत थिए। बिहानैको समय थियो। डा. राजन भेरी अस्पताल नजिकै रहेको एउटा क्लिनिकमा काम गरिरहेका थिए। एक जना व्यक्ति दौडँदै त्यहाँ आइपुगे अनि ‘लौन डाक्टरसाप हाम्रो श्रीमान जानु भयो। छिटो जानुपर्यो’ भने। अत्तालिएको देखिएका ती व्यक्तिको हाउभाउ अस्वाभाविक देखिन्थ्यो। त्यसैले सुरुमा त कुनै मानसिक समस्या भएको व्यक्ति पो हो की भनेर उनी अलमलिए। 

तर, सोधखोज गर्दा ती व्यक्ति बाँकेको नेपालगन्जस्थित तत्कालीन पुनरावेदन अदालतका मुख्य न्यायाधीशका सहयोगी रहेछन्। आपत पर्यो भनेपछि डा. राजन हतार-हतार ती व्यक्तिसँगै भेरी अस्पताल नजिकै रहेको पुनरावेदन अदालतको मुख्य न्यायाधीश बसेको क्वार्टरमा पुगे। क्वार्टरमा पुगेर हेर्दा त मुख्य न्यायाधीश कोठामा ढलिरहेको देखे। बेहोसी अवस्थामा ढलेका ती मुख्य न्यायाधीशको मुखबाट फिँज आइरहेको थियो। उनको शरीर नीलो भइसकेको थियो।

तर, केही भइहाल्यो भने फसिएला भन्ने डरले अन्य व्यक्तिहरू मुख्य न्यायाधीशको कोठामा जान डर मानिरहेको अवस्था थियो। त्यसैले न्यायाधीश ढलेको कोठामा कोही छिरेका रहेनछन्। त्यो देखेपछि डा. राजनले तुरुन्तै भेरी अस्पतालमा फोन गरेर उपचारको लागि तयारी अवस्थामा रहन भने। त्यसपछि ती मुख्य न्यायाधीशलाई भेरी अस्पताल पुर्याइयो। 

केही मिनेटमै भेरी अस्पताल पुर्याएर ती मुख्य न्यायाधीशको आवश्यक औषधि उपचार थालियो। उनलाई दाँत माझ्नेक्रममा मौरीले टोकेको थाहा भयो। मौरीले टोकेपछि उनको शरीरमा एलर्जी भएर श्वासप्रश्वासमा समस्या निम्तिएछ। मुटुको चालमा गडबडी हुनुकासाथै मुख सुन्निने लगायतका समस्या भएछन्। जसका कारण उनी बेहोस भएर ढलेछन्। यसरी मौरीले टोकेर एलर्जी भएपछि बेहोस हुने अवस्थालाई चिकित्सकीय भाषामा ‘एनाफाइल्याक्टिक सक’ भनिन्छ।

त्यहीक्रममा उच्च अदालतका अन्य न्यायाधीश र सहयोगी लगायतले तुरुन्तै काठमाडौंमा रेफर गरिदिन समेत डा. राजनसँग अनुरोध गरेका थिए। तर, हेलिकप्टरबाट लाँदा समेत काठमाडौं पुर्याउन दुई घण्टा भन्दा बढी समय लाग्थ्यो। दुई घण्टासम्म आकस्मिक उपचार नपाएको खण्डमा त ती मुख्य न्यायाधीशको ज्यानै जान सक्ने जोखिम उच्च रहेको डा. राजनले देखे। त्यसैले सबैलाई सम्झाउँदै उनले आकस्मिक उपचार गर्न दिन अनुरोध गरे। अनि उनको टिमले भेरी अस्पतालमा नै उपचार गर्यो। 

स्वास्थ्यको जटिलता र संवेदनशीलताका कारण उनले आकस्मिक उपचार त्यहीँ गर्ने निर्णय त लिए। तर, उनको मनमा कताकता ‘मुख्य न्यायाधीशलाई केही भइहाल्यो भने के गर्ने होला!’ भन्ने डरसमेत थियो।

धन्य, उनले औषधि उपचार थालेको करिब आधा घण्टामा ती मुख्य न्यायाधीशको होस् खुल्न थाल्यो। त्यसपछि डा. राजनले पनि लामो श्वास फेरे। ती मुख्य न्यायाधीशले बिस्तारै बोल्न थाले। औषधि उपचारपछि उनको समस्या ठिक हुँदै गयो। 

ती मुख्य न्यायाधीशका परिवारका सदस्य पनि डाक्टर रहेछन्। त्यसमा पनि उनको रक्तचाप, मुटु, सुगर र मिर्गौला लगायतको समस्या पहिल्यैदेखि रहेछ। त्यसैले उनी धन्न बाँचेछन् भन्ने विषय उनका परिवार र उनी स्वयमले थाहा पाए। सबै कुरा थाहा पाइसकेपछि ज्यान बचाइदिने डा. राजनलाई ती मुख्य न्यायाधीशले बेलुका हात समाएर भावुक बन्दै ढोगेछन्। बेलुकै उनी ठिक भएर अस्पतालबाट डिस्चार्ज भए। पछिसम्म भेट्दा पनि उनले ‘तपाईं त मेरो जीवनदाता हो’ भनेको सम्झन्छन्, डा. राजन।

काठमाडौंको निजी अस्पतालमा ती युवाको २५ लाख सकिएपछि...
घटना २०७७ तिरको हो। बर्दियाका एक जना करिब २६ वर्षका युवा बिरामी काठमाडौंको एउटा निजी अस्पतालमा भर्ना भएछन्। ती युवालाई शरीर दुख्ने लगायतका समस्या थिए। उनको एकिन रोग पत्ता नलागेपछि लक्षण अनुसारको उपचार गरिएछ। 

एक महिना अस्पताल भर्ना भएर उपचार गर्दा बिरामीको करिब २५ लाख रकम सकिएछ। काठमाडौंमा ती बिरामी युवाको आइसियुमा समेत राखेर उपचार गर्नुपरेछ। कसोकसो गरेर ती बिरामीका आफन्त डा. राजनको सम्पर्कमा पुगेछन्। ती बिरामीको समस्या सुनेपछि डा. राजनले सिकल सेल एनिमियाको परीक्षण गर्न सल्लाह दिएछन्। त्यसपछि काठमाडौंमा उपचार गराइरहेका चिकित्सकमार्फत नै ती बिरामीको सिकल सेल एनिमियाको परीक्षण गरिएछ। तर, त्यसअघि उपचार गर्ने चिकित्सकले सिकल सेल एनिमियाको परीक्षण गर्न आवश्यक ठानेका थिएनछन्। 

आखिरमा ती बिरामीलाई सिकल सेल एनिमियाकै समस्या भएको पुष्टि भयो। रोग एकिन भएपछि रोग अनुसारकै उनको औषधि उपचार भयो। तर, रोग पत्ता लाग्नु अघि नै ती बिरामी युवाको करिब २५ लाख खर्च भइसकेको रहेछ। बिरामीका आफन्तले देश विदेशबाट चन्दा बटुलेर उपचार खर्च जुटाएका रहेछन्। 

रोग पत्ता लागेपछि भने फलोअपका लागि ती युवा बिरामी भेरी अस्पतालमा पुगे। अस्पतालमा पुगेका ती बिरामीको फाइल र खर्च भएको रकम हेर्दा डा. राजन पनि छक्क परे। अहिले पनि ती युवाको निःशुल्क औषधि, उपचार भइरहेको उनले सुनाए।

दुई महिनामा १७ पटक आकस्मिक रुपमा अस्पताल पुगेकी ती युवती
त्यसैगरी काठमाडौंको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)मा एमडी अध्ययन गर्दा एक जना युवती दुई महिनामा १७ पटक अस्पतालको आकस्मिक कक्षमा पुगेको प्रसंग पनि उनी कहिल्यै भुल्दैनन्। 

ती युवतीलाई पेट, छाती, खुट्टा दुख्ने, कब्जियत हुने, वाकवाकी लाग्ने, बान्ता हुने, शरीरका मांशपेशी दुख्ने, चिटचिट पसिना आउने, मुटुको धडकन बढ्ने जस्ता समस्या थिए। स्वास्थ्य परीक्षण गर्दा अन्त्यमा डा. राजनको टीमले उनलाई ‘एक्युट इन्टरमिटेन्ट प्रोफाइरिया (एआइपी)को समस्या भएको पत्ता लगायो। त्यसपछि सामान्य खर्चमा नै औषधि उपचार भएको र बिरामीको स्वास्थ्य समस्या ठिक भएको उनले सुनाए। 

डा. राजनले कतिपय रोगहरू पत्ता नलागेर बिरामीहरूले धेरै दुःख पाउनु परेको नजिकबाट देखेका छन्। अनि रोग पत्ता लागेपछि सामान्य खर्चमा बिरामी ठिक भएको उनको अनुभव छ। त्यसैले रोग परीक्षणको लागि आवश्यक ल्याब परीक्षणलगायतमा नै ध्यान दिनुपर्ने उनी बताउँछन्। नेपालमा वंशाणुत, अटोइम्युन र इम्युन डिफिसियन्सी जस्ता रोगहरू पत्ता लाग्नुअघि बिरामीले शारीरिक र आर्थिक दुवै रुपमा दुःख पाएको अवस्था रहेको उनले देखेका छन्। 

२२ लाख खर्च गरेका बिरामीको सामान्य ओखतीले रोग ठिक भएपछि...
प्रसंग करिब तीन महिनाअघिको हो। करिब २५ वर्षका पुरुष भेरी अस्पताल पुगे। ती बिरामीलाई डा. राजनले भेटे। ती बिरामी शरीर दुख्ने, पोल्ने लगायतका समस्याका कारण देशका विभिन्न अस्पतालमा पीडाले छटपटाउँदै पुगेछन्। भारतसमेत पुगेछन्। अस्पताल चाहर्दा-चाहर्दै उनको करिब २२ लाख खर्च भइसकेको रहेछ। तर, रोग भने बिसको उन्नाइस पनि भएनछ। 

डा. राजनले ती बिरामीको स्वास्थ्य परीक्षण गरे। स्वास्थ्य परीक्षण गर्दा ती बिरामीलाई ‘फ्याब्रि डिजिज’ नामक वंशाणुगत समस्या भएको पत्ता लाग्यो। रोग पत्ता लागेपछि उनको उपचार प्रक्रिया सहज भएको र उपचारपछि सुधार भइरहेको उनले सुनाए। 

जन्म गोरखा, अध्ययनमा अब्बल
राजन २०३८ मा गोरखाको हालको पालुङ्टार नगरपालिका वडा नम्बर पाँचस्थित ठाँटीपोखरिमा जन्मिएका हुन्। उनले स्थानीय भवानी माविमा प्राथमिक तहको अध्ययन गरे।

त्यसपछि उनले चितवनको नारायणघाटस्थित बालकुमारी माविबाट २०५३ मा ८१.१४ प्रतिशत अंक साथ एसएलसी गरे। अनि काठमाडौं आएर उनले अमृत साइन्स कलेज (अस्कल)बाट आइएस्सी गरे। उनी त्यहाँ पढ्दा हालका स्वास्थ्य मन्त्री प्रदीप पौडेल स्ववियु सभापति थिए। 

अध्ययनमा अब्बल उनलाई डाक्टरी विषय अध्ययन गर्ने रहर थियो। नभन्दै राजनले सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस अध्ययन गर्ने मौका पाए। उनले कास्कीको पोखरास्थित ‘मनिपाल कलेज अफ मेडिकल साइन्सेस’मा सन् १९९९ मा भर्ना भएर एमबीबीएस अध्ययन गर्न थाले। उनले सन् २००४ मा पाँच वर्षे एमबीबीएस अध्ययन पूरा गरे। त्यसपछि राजनले चितवनको भरतपुरस्थित ‘कलेज अफ मेडिकल साइन्सेस’मा इन्टर्नसिप गरे। त्यही बीचमा उनको विवाह पनि भयो। उनका ११ वर्षका छोरा र ६ वर्षकी छोरी छन्। 

राजनले सरकारी छात्रवृत्ति कोटामा एमबीबीएस गरेकाले एमबीबीएस अध्ययन गरेवापत उनले छात्रवृत्ति करारमा दुई वर्ष काम गर्नुपर्ने भयो। त्यसैले २०६३ पुसमा मकवानपुरको दामनस्थित पालुङ प्राथमिक स्वास्थ्य केन्द्रमा गएर दुई महिना काम गरे। उनी सरकारी छात्रवृत्ति कोटामा पढेवापत छात्रवृत्ति करारमा काम गर्ने पहिलो ब्याचको चिकित्सक रहेछन्।
 
मकवानपुरमा काम गर्दागर्दै डा. राजन लोकसेवा परीक्षामार्फत सातौं तहको मेडिकल अधिकृत चिकित्सकका रुपमा जागिरे भए। सरकारी जागिरे भएपछि उनी रोल्पाको दहवनस्थित तत्कालिन तत्कालिन माओवादीको पाँचौ डिभिजन मुख्यालयको रुपमा रहेको माओवादी शिविरमा काम गर्न खटिए। उनले रोल्पाको दहवन, उँगा, तिला र दाङको सक्राममा खटिएर काम गर्नुपर्थ्यो। दहवन रोल्पाकै मुख्य माओवादी शिविरका रुपमा थियो भने उँगा, तिला र दाङको सक्राम सहायक शिविरका रुपमा थिए। ती शिविरमा उनलाई याद भएसम्म करिब चार हजार माओवादी थिए। डा. राजनले करिब ६ महिना माओवादी शिविरमा काम गर्दा हजारौं माओवादीहरू र स्थानीयको स्वास्थ्य परीक्षण तथा औषधि उपचार गरे। 

यसैक्रममा २०६४ मा डा. राजन सरकारी नियम अनुसार स्वतः स्तरवृद्धि भएर आठौं तहमा बढुवा भए। त्यसपछि उनी पोष्टिङ भएर दाङको लमही प्राथमिक स्वास्थ्य केन्द्रमा पुगे। त्यहाँ उनले करिब एक वर्ष काम गरे। अनि सरुवा भएर नवलपरासीको दुम्कौली प्राथमिक स्वास्थ्य केन्द्रमा पुगेर केही समय काम गरे। 

जनरल मेडिसिनमा एमडी
डा. राजनलाई थप अध्ययन गर्नु त छँदै थियो। त्यसैले उनले न्याम्समा २०६५ मा भर्ना भएर इन्टरनल मेडिसिन विषयमा स्नातकोत्तर तहको एमडी अध्ययन गर्न थाले। २०६८ मा उनको एमडी अध्ययन पूरा भयो। उनले एमडी पनि सरकारी छात्रवृत्ति कोटामा नै अध्ययन गरेका रहेछन्। 

एमडी अध्ययनपछि डा. राजन २०६८ मा नेपालगन्जको भेरी अस्पताल पुगे। २०७२ मा उनी लोकसेवा परीक्षामार्फत नवौं तहमा बढुवा भए भने २०७४ मा लोकसेवाको खुला प्रतिस्पर्धात्मक परीक्षामार्फत ११औं तहको प्रमुख कन्सल्टेण्ट फिजिसियनका रुपमा बढुवा भए। आफूले थाहा पाएसम्म इन्टरनल मेडिसिन विषयमा लोकसेवाको खुला प्रतिस्पर्धामार्फत ११औं तहमा बढुवा हुने आफू कान्छो उमेरको चिकित्सकसमेत भएको उनले सुनाए।

डा. राजन २०६८ यता भेरी अस्पतालमै कार्यरत छन्। २०७७ मा उनले करिब दुई महिना चितवनको भरतपुर अस्पतालको प्रमुखको भूमिकामा पनि काम गरे। तर, प्रशासनिक जिम्मेवारी भन्दा बिरामीको औषधि, उपचारमै उनी रमाए। त्यसैले उनी पुनः भेरी अस्पताल नै फर्किएर काम गर्न थाले। डा. राजन हाल भेरी अस्पतालमा मेडिकल विभाग प्रमुखका रुपमा कार्यरत छन् भने चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको सह-प्राध्यापकको भूमिकामा समेत छन्। डा. निराजन सुवेदी भेरी अस्पतालको प्रमुख भएपछि त्यहाँ चिकित्सा शास्त्रको स्नातकोत्तर तहको कार्यक्रम सञ्चालनको लागि न्याम्सबाट स्वीकृतसमेत भइसकेको छ।

उनी हार्वर्ड विश्वविद्यालय/एनसीबीआई पोभर्टी कमिशनबाट सञ्चालित पेनप्लस कार्यक्रमको सिकल सेल र थालासेमिया रोगको नेशनल कन्सल्टेण्ट समेत छन्। २०७३ मा डा. राजन राष्ट्रपतिबाट प्रबल जनसेवा श्री र २०७८ मा सुप्रबल जनसेवा श्री पदकबाट समेत सम्मानित भएका छन्। लुम्बिनी प्रदेशबाट २०७९ मा ‘मुख्यमन्त्री प्रज्वलदिप पदक’बाट समेत सम्मानित हुनुका साथै कोरोना भाइरस संक्रमणको समयमा राम्रो काम गरेवापत अन्य पुरस्कारबाट समेत उनी सम्मानित भए। 

त्यसैगरी सिकल सेल एनिमियाको विषयमा राम्रो काम गरेकैले डा. राजनलाई २०७९ मा थारू आयोगले थारू रत्नबाट सम्मान गर्यो।

बिरामीको रोग पत्ता लगाउने तथा औषधि उपचारमा त उनी तल्लीन हुने नै भए। वैज्ञानिक खोज तथा अनुसन्धानमा पनि उनी त्यतिकै सक्रिय हुन्छन्। उनका करिब एक दर्जन वैज्ञानिक अनुसन्धानात्मक आलेख विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलमा प्रकाशित छन्। दर्जनौं राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा, सम्मेलनमा उनले सहभागी हुने र अनुसन्धानात्मक आलेख प्रस्तुत गर्ने मौका पाएका छन्। दुर्लभ रुपमा देखिएका रोगको विषयमा उनी केन्द्रित भएर काम गरिरहेका छन्। 

सिकल सेलको विषयमा झुटो बोलेको भन्दै मुद्दा हालिदिन्छौं भनेपछि....
डा. राजन पश्चिम तराइको थारु समुदायमा जनस्वास्थ्य समस्याको रुपमा देखिएको सिकल सेल एनिमियाको विषयमा केन्द्रीत भएर काम गरिरहेका छन्। नेपालमा सन् २००३ मा सिकल सेल एनियमिया दुर्लभ रोग (रेयर डिजिज)का रुपमा देखिएको थाहा भएको थियो। तर, त्यति धेरै वास्ता गरिएको अवस्था थिएन। यो रोग छ भन्ने थाहा भएपनि समुदायका धेरै व्यक्तिमा छ भन्ने थाहा थिएन। चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा डा. विशेष पौडेलसँग काम गर्दा उनले केही सिकल सेल एनिमियाका बिरामी हेरेका थिए। 

तर, भेरी अस्पतालमा पुगेपछि भने डा. राजनले अस्पतालमा सिकल सेल एनिमियाको समस्याको लक्षण भएका धेरै बिरामी देखे। त्यो बेला सिकल सेल एनिमियाको समस्या भएका बिरामीलाई बाथ, जन्डिस जस्ता समस्याका रुपमा लक्षण अनुसारको उपचार गरिँदै आएको थियो। अझ सिकल सेल एनिमिया हो वा हैन भनेर एकिन गर्नका लागि नमुना परीक्षण गर्न भारत पठाउनुपर्नेसमेतको अवस्था थियो। तर, अहिले भने यसको परीक्षण नेपालमा नै हुने गरेको उनले सुनाए। त्यसैले उनले यही विषयमा खोज तथा अनुसन्धानमा उनी केन्द्रित भए। 

सुरुको परीक्षणको क्रममा थारू समुदायका ३९ जनामा उनले सिकल सेल एनिमियाको समस्या भएको थाहा पाए। त्यसपछि उनी पश्चिमी क्षेत्रमा बसोबास गर्ने थारू जातिमा यो जनस्वास्थ्य समस्याका रुपमा रहेको हुनसक्ने निष्कर्षमा पुगे। सिकल सेल एनिमिया विशेषगरी थारू समुदायमा जनस्वास्थ्य समस्याकै रुपमा रहेको हुनसक्ने देखिएपछि उनी त्यसै बसेनन्। सरकारले यो रोगको निःशुल्क परीक्षण र उपचार गरिदिनुपर्ने विषयमा उनले पहल सुरु गरे। 

उनले यस्तो रोगको समस्या भएका बिरामीलाई औषधि उपचारका विषयमा समेत वकालत नै सुरू गरे। कतिपय चिकित्सक तथा कर्मचारीले त उनलाई समस्याका रुपमा नभएको रोगको बारेमा आफू ठूलो पल्टिन ‘यो डाक्टरले सिकल सेल एनिमियाको विषयलाई बढाइचढाई गर्दै प्रचार गरिरहेको छ’ भन्ने आरोप समेत लगाएछन्। यो विषयको वकालत तथा प्रचारप्रसार गर्दा कतिपयले उनको विरुद्ध अदालतमा मुद्दा हाल्नुपर्छ समेत भनेछन्। 

तर, सिकल सेल एनिमियाको समस्याका कारण बिरामीले शारीरिक दुःख मात्रै नभएर उपचारमा बिरामीको लाखौं खर्च भइरहेको उनले देखेका थिए। उनले यो रोगको उपचारका लागि कतिपयको घरबास नै उठेको बिरामी तथा बिरामीका आफन्तबाट सुनेका थिए। त्यसैले जसले जेसुकै आरोप लगाएपनि उनी सही कामका लागि रोकिएनन्। 

२०७० बाट उनले सिकल सेल जनस्वास्थ्यको समस्याको रुपमा बढ्दै गएको विषयलाई आम सञ्चार माध्यमबाट समेत प्रचारप्रसार गर्न थाले। 

डा. राजनले पश्चिमी तराईको विशेषगरी थारू समुदायमा देखिएको सिकल सेल एनिमियाको समस्याबारे तत्कालीन संविधान सभा सदस्य डा. गोपाल दहितलाई भेटेर जानकारी दिए। उनलाई यो रोगको विषयमा लेखेर तथ्यसहित दिए। त्यसपछि यो विषय संसद (संविधान सभा)मा पनि बहस भएको डा. राजनले अनुभव सुनाए। त्यो बेला स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारी थिए। 

यो विषयको व्यापक बहस भएपछि २०७१ मा सरकारको नीति तथा कार्यक्रममा नै सिकल सेल एनिमियाको उपचारका विषयमा जटिल आठौं रोगको रुपमा समावेश गरिएको डा. राजन सम्झन्छन्। त्यसपछि प्रत्येक सिकल सेल एनिमियाको समस्या भएका बिरामीले एक लाख रकम बराबरको निःशुल्क औषधि उपचार सुविधा पाउन थालेको डा. राजनले सुनाए। अनि सिकल सेल एनिमियाको समस्या भएका क्षेत्रमा सरकारले ल्याब परीक्षण गर्ने मेसिनको व्यवस्थापन गरेको उनी सम्झन्छन्। 

निःशुल्क ल्याब परीक्षणको व्यवस्थापन भएपछि यो रोगको परीक्षण गराउने बिरामीको संख्या दैनिक थपिँदै जान थाल्यो। डा. राजनका अनुसार हाल नेपालमा चार हजारभन्दा बढी संख्यामा सिकल सेल एनिमियाको समस्या भएका बिरामी रहेको तथ्यांकमा देखिएको छ। जसमध्ये भेरी अस्पतालमा मात्रै एघार सय भन्दा बढी सिकल सेल एनिमियाका बिरामी दर्ता छन्। थारू जातिबाहेक अन्य जातिमा समेत फाट्टफुट्ट सिकल सेल एनिमियाका बिरामी देखिन थालेको उनले सुनाए। 

त्यसो त नेपाल स्वास्थ्य अनुसन्धान परिषद (एनएचआरसी)ले ६ वर्षअघि बर्दिया जिल्लाको बारबर्दिया नगरपालिकाका २० हजार थारू समुदायलाई परीक्षणको नमुनाका रुपमा लिएर सिकल सेल एनिमियाको परीक्षण गर्यो। आफ्नो पहलमा यो अध्ययन भएको सम्झँदा डा. राजनलाई आनन्द लाग्छ। त्यसमा उनको पनि सक्रिय सहभागिता थियो। एनएचआरसिको त्यो अध्ययनले परीक्षण गरिएकामध्ये करिब दश प्रतिशत समुदायमा सिकल सेल लुकेको, एक प्रतिशतमा सिकल सेल एनिमियाका बिरामी भएको पुष्टि भयो। पाँच प्रतिशतमा ‘बिटा थालासेमिया’ लुकेको, ‘०.५’ प्रतिशतमा हेमोग्लोविन–‘ई’ र २० प्रतिशतमा हेमोग्लोविन–‘ए२’ कम देखियो। 

अध्ययनको यो निष्कर्षपछि सिकल सेल एनिमिया विशेषगरी पश्चिमी थारू समुदायमा जनस्वास्थ्य समस्याका रुपमा रहेको छ भन्ने विषय थप प्रमाणित भयो। त्यसैगरी स्क्रबटाइफस र कालाजार जस्ता विषयमा पनि केन्द्रित भएर काम गरेको उनले अनुभव सुनाए। 

उपचार सम्भव छ
सिकल सेल एनिमिया वंशाणुगत रोग हो। बुवा र आमाबाट आउने जिनमा खराबीका कारण सिकल सेल एनिमियाको समस्या हुन्छ। यस्तो रोगको समस्या भएका व्यक्तिमा बाल अवस्थादेखि नै रगत चढाउनुपर्ने हुनसक्छ। आमाबुवामध्ये कोही एकजना वा दुवैको जिनमा खराबी हुनसक्छ। यस्ता बुवाआमाबाट जन्मने बच्चा सिकल सेल एनिमियाको बाहक हुन सक्छन्। बुवाआमा दुवैमा सिकल सेल एनिमियाको रोग भएको खण्डमा बच्चामा शतप्रतिशत सिकल सेलको समस्या हुने डा राजन बताउँछन्। 

सिकल सेलको समस्या भएका व्यक्तिमा रक्त अल्पता हुनसक्छ। शरीरमा रगत कम हुँदै जानसक्छ। यो रोगको समस्या भएका बिरामीमा फियो सुन्निने, कलेजो सुन्निने, बारम्बार हाड जोर्नी दुख्ने, पेट दुख्ने तथा जण्डिसको लक्षण देखिने जस्ता समस्या हुन्छन्। यसको लक्षण अनुसार नै उपचार हुन्छ। यो रोग पूर्ण रुपमा निको नभएपनि नियमित औषधि उपचार गरी रोकथाम भने गर्न सकिन्छ। सिकल सेल एनिमियाको समस्या भएका बिरामीलाई बेला-बेलामा रगत चढाउने लगायत चिकित्सकको सल्लाहमा औषधि उपचार गर्नुपर्ने हुन्छ।  

मंसिर २९, २०८१ शनिबार १९:५५:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।