प्रचण्डको दाबी 'परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ'
रूपन्देही : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता र परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र नै हो भनेर जनताले मनमनै फैसला गरिसकेको बताएका छन्।
रूपन्देहीको तिलोत्तमामा आज आयोजित माओवादी केन्द्रसँग राष्ट्रिय जनमुक्ति पार्टी समाहित तथा राजनीतिक प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले गएको उपनिर्वाचनले पनि आफ्नो पार्टी शक्तिशाली बन्दै गएको दाबी गरे।
उनले भने, ‘पछिल्लो समय जहाँ गए त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ। नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिने छैन। प्रतिक्रियावादी जाली-झेलिहरुले राष्ट्रलाई बन्दक बनाउने नेपाली जनतालाई भ्रष्टाचार जाँतोमा पिस्ने जुन काम गरेका छन्। भर्खरै सम्पन्न स्थानीय तहको उपनिर्वाचनले को सिद्दिदै छ, को रिभाइभ भएर आउँदै छ भन्ने देखाइसकेको छ। को शक्तिशाली बन्दै छ र कोप्रति जनताको घृणा देखिएको भन्ने संकेत देखिएको छ।’
अध्यक्ष प्रचण्डले थपे, ‘जनताले मनमनै फैसला गरिसकेको छ। जनतालाई माया गर्ने पार्टी माओवादीले नै हो, परिवर्तनको पक्षमा लड्ने पार्टी माओवादी केन्द्र र नेता प्रचण्ड नै हो भन्ने जनतालाई परेको छ।’
माओवादी केन्द्रको नेतृत्वमा बनेका सरकारले गरेका काम र अगाडि बढाएका योजनालाई जनताले सकारात्मक ढंगले बुझ्दै गएका कारण माओवादी केन्द्रलाई जनताले माया गर्न थालेको उनले बताए।
आफू सरकारमा रहँदा भ्रष्टाचारविरुद्ध सुशासनको अभियान, सामाजिक न्याय, राष्ट्रको हितमा छिमेकी र अन्य राष्ट्रहरूसँग राम्रो सम्बन्ध कायम गर्दै दूरगामी रुपमा राज्यलाई फाइदा हुने गरी चीन र भारतसँग सहमति र सम्झौता गरेको उनले बताए।
अध्यक्ष प्रचण्डले भने, ‘म सरकारमा रहँदा भ्रष्टाचारीहरूलाई कारबाही अगाडि बढाए। धेरै राजनीतिक नेताहरु, ठूल्ठूला कर्मचारी, भुमाफियाहरूलाई कारबाही गरी राज्यको सम्पति जनताको हातमा ल्याउने काम गरें। भ्रष्टाचारीहरूविरुद्धको कारबाही अगाडि बढाउदा म प्रचण्ड नै अगाडि देखिए त्यसलाई पनि नछोड्न भनेर सुशासनको अभियान चालियो।’
उनले माओवादी केन्द्रप्रति जनताको आकर्षण बढ्दै गएको उल्लेख गर्दै पार्टीलाई थप एकताबद्ध बनाउँदै जनताको बीचमा लैजान र जनताको भावनालाई समेट्ने काममा लाग्न निर्देशनसमेत दिए।
कार्यक्रममा राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव राम परियारसहित जनमुक्ति पार्टीका नेता-कार्यकर्ताको ठूलो टिम माओवादी केन्द्रमा समाहित भएको थियो। साथै, कांग्रेस-एमाले परित्याग गरी थुप्रै कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका थिए।
मंसिर २९, २०८१ शनिबार १८:२०:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।