'प्रहरीले पक्राउ गर्दा अल्लु अर्जुनलाई खाजा खान अनि लुगा फेर्न पनि दिएन'

'प्रहरीले पक्राउ गर्दा अल्लु अर्जुनलाई खाजा खान अनि लुगा फेर्न पनि दिएन'

एजेन्सी : साउथ इण्डियन अभिनेता अल्लु अर्जुनले आफ्नो गिरफ्तारीको शैलीमा आपत्ति जनाएका छन्। प्रहरीले शुक्रबार बिहानको खाजा खान नदिएको उनको दाबी छ। 

भारतीय सञ्चार माध्यममा प्रकाशित समाचारका अनुसार आफूलाई प्रहरीले लुगा फेर्न पनि अनुमति नदिइएको अल्लु अर्जुनले दाबी गरेका छन्। 

टेलिभिजन टिभी नाइनले सामाजिक सञ्जाल ‘एक्स’मा शेयर गरेको भिडियोमा अभिनेताले कफीको कप समातेको र उनलाई हिरासतमा लिन आफ्नो निवासमा पुगेका अधिकारीसँग कुरा गरिरहेको देखिएको छ।

शुक्रबार चलचित्रको विशेष प्रदर्शनका क्रममा उपस्थित भएका बेला भागदौडमा एक महिलाको मृत्यु भएको घटनालाई लिएर उनलाई अनुसन्धानका लागि पक्राउ गरिएको थियो। 

अल्लु अर्जुन बिना जानकारी डिसेम्बर ४ मा फिल्मको प्रदर्शनका लागि सन्ध्या थिएटरमा आएका थिए। जसका कारण फ्यानहरू अल्लु अर्जुनलाई भेट्न आतुर थिए। फ्यानहरूको ठुलो सङ्ख्या उनीसँग थिएटरमा प्रवेश गर्न खोज्यो। जसका कारण थिएटरमा ठुलो भीड जम्मा भयो र त्यसपछि मानिसहरूलाई सास फेर्न गाह्रो हुन थाल्यो।

भीडलाई नियन्त्रणमा लिन प्रहरीले हल्का लाठी चार्ज गरेको थियो। भीड कम भएपछि निसास्सिएर बेहोस भएका मानिसहरूलाई अस्पतालमा भर्ना गरिएको थियो। तर त्यही क्रममा अस्पतालमा एक महिलालाई चिकित्सकले मृत घोषणा गरेका थिए।

शुक्रबार पक्राउपछि उनको बयान लिइएको थियो। मेडिकल चेकअपका लागि उस्मानिया अस्पताल लगियो। 

आफ्नो छोरासँग स्क्रिनिङमा सहभागी भएकी ३० वर्षीया एक महिलाको डिसेम्बर ४ मा भएको भागदौडमा परी मृत्यु भएको थियो। इन्डिया टुडेका अनुसार महिलाका परिवारले अर्जुन, उनको सुरक्षा टोली र सिनेमा हल व्यवस्थापनविरुद्ध उजुरी दर्ता गराएपछि उनी पक्राउ परेका थिए। 

तर, हैदरावाद प्रहरीले शुक्रबार पक्राउ गरी अदालतमा पेश गरेका अल्लु अर्जुन शनिबार हैदराबादको चंचलगुडा सेन्ट्रल जेलबाट रिहा भए।

अर्जुनको दक्षिण भारतमा निकै लोकप्रिय अभिनेताका रूपमा स्थान छ र ‘पुष्पा-२ : द रुल’ ले बक्स अफिसमा करोडौं कमाएको छ। रिलिजको सात दिनमै एक हजार करोड भारू कमाएर यसले इतिहास रचेको छ। 

मंसिर २९, २०८१ शनिबार १६:२५:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।