काठमाडौं महानगरले नागरिकलाई घरआँगनमै सरकार रहेको आभास गराएको छ : उपराष्ट्रपति यादव
काठमाडौं : उपराष्ट्रपति रामसहायप्रसाद यादवले काठमाडौं महानगरपालिकाले महानगरवासीलाई घरआँगनमै सरकार रहेको आभास गराएको बताएका छन्।
३०औं महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले स्थानीय निकायको सक्रियताबाट जनताले आफ्नै घरआँगनमा सहज सेवा पाएका बताए।
महानगरले आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपतिले यादवले सांस्कृतिक, ऐतिहासिक र पुरातात्विक सम्पदाले भरिपूर्ण काठमाडौं महानगर संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी तथा राष्ट्रिय एवं अन्तर्राष्ट्रिय केन्द्रबिन्दु भएको बताए।
उनले विश्वसम्पदा क्षेत्रमा समेटिएका सांस्कृतिक वैभव, मौलिक पहिचान संरक्षणमा ध्यान दिन समेत जोड दिए।
महानगरले मतदातालाई प्रवाह गरेका सेवा अन्य स्थानीय तहका लागि अनुकरणीय रहेका उल्लेख गर्दै उनले संघीयता कार्यान्वयनमा युवावर्गले सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
उपराष्ट्रपति यादवले सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवर्द्धन, मठमन्दिरजस्ता सम्पदाको संरक्षण, पोखरीको पुनःस्थापना, एकीकृत सहरी विकास गरेकामा महानगरको सराहना गरे।
महानगर प्रमुख बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न लायक महानगर बनाउनेतर्फ आफ्नो ध्यान केन्द्रित रहेको बताए।
उपप्रमुख सुनिता डङ्गोलले पूर्वाधार विकासलाई महानगरले पहिलो प्राथमिकता दिएको बताइन्।
वि.सं. १९९६ पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई २०५२ मंसिर २९ गते काठमाडौं महानगर घोषणा गरिएको हो।
मंसिर २९, २०८१ शनिबार १४:१२:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।