ब्रायन लाराले गरे एनपीएलको कमेन्ट्री

काठमाडाैं : जारी नेपाल प्रिमियर लिग एनपीएल हेर्न आएका वेष्टइण्डिजका प्रख्यात क्रिकेटर ब्रायन लाराले क्रिकेट कमेन्ट्री गरेका छन्।
शनिबार त्रिवि क्रिकेट मैदानमा पुगेका उनले चितवन राइनोज र जनकपुर बोल्ट्सबीचको खेलमा कमेन्ट्री गरेका हुन्।
क्यानको निमन्त्रणामा लारा नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो संस्करण हेर्न नेपाल आएका हुन्।
दुई खेलको बीचमा उनले त्रिवि क्रिकेट मैदानमा आएका फ्यानसँग समेत साक्षात्कार गरेका थिए।
क्रिकेटर लाराले वेष्टइण्डिजका लागि सन् १९९० देखि २००७ सम्म राष्ट्रिय टोलीबाट खेलेका थिए। उनले वेष्टइण्डिजका लागि एक सय ३१ टेष्ट खेल खेलेका छन्।
एक सय ३१ खेलबाट लाराले ११ हजार नौ सय ५३ रन बनाएका थिए। उनले टेस्ट क्रिकेटमा ३४ शतक प्रहार गरेका छन् भने ४८ अर्धशतक प्रहार गरेका छन्।
उनले टेस्ट क्रिकेटमा एक खेलमै चार सय रन प्रहार गरेर विश्व रेकर्डसमेत बनाएका छन्। लाराले सन् २००४ अप्रिल १२ मा इङ्ग्ल्यान्डविरुद्धको टेस्ट क्रिकेटमा अविजित रहँदै चार सय रन बनाएका थिए।
त्यसैगरी लाराले वेष्टइण्डिजका लागि दुई सय ९९ एक दिवसीय खेल खेलेका थिए। एक दिवसीय क्रिकेटमा १९ शतक र ६३ अर्धशतक प्रहार गर्दै उनले १० हजार चार सय पाँच रन जोडेका थिए।
मंसिर २९, २०८१ शनिबार १३:४३:४६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।