एनपीएलमा पोखरामाथि काठमाडौंको शानदार जित

एनपीएलमा पोखरामाथि काठमाडौंको शानदार जित

काठमाडौं : नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्समाथि काठमाडौं गुर्खाजले छ विकेटको शानदार जित निकालेको छ।

एक सय ३९ रनको लक्ष्य पछ्याएको काठमाडौंले १४.२ ओभरमा ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेट्टायो।

उसका लागि स्टेफेन स्कनाजीले अर्धशतकीय पारी खेले। ३४ बलको सामना गरेका उनले १० चौकाको मद्दतमा ६० रन जोडे।

त्यसअलावा माइकल लेभिटले ३२ रन जोड्दा भिम सार्की २२ रन बनाएर आउट भए। जिरार्ड इरासमसले २५ रनको अविजित पारी खेले।

पोखराका लागि विपिन खत्रीले तीन विकेट लिँदा माइकल लिस्कले एक विकेट लिए।

त्यसअघि त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको पोखराले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय ३८ रन बनाएको थियो।

उसका लागि रेमन रिफरले अविजित रहँदै सर्वाधिक ४१ रन बनाए। त्यस अलावा दिनेश खरेलले ३८ रन बनाउँदा दिलिप नाथले २७ रन जोडे।

काठमाडौंका करण केसी र रसिद खानले तीन-तीन विकेट लिँदा माइकल लेभिट र जेरार्ड इरासमसले समान एक-एक विकेट लिए।

जितसँगै काठमाडौं छ खेलमध्ये तीनमा जित र तीनमा हारसहित तालिकाको पाँचौं स्थानमा उक्लियो। यसले काठमाडौंको प्लेअफ खेल्ने सम्भावना बलियो बनेको छ।

पराजित पोखरा छ खेलमध्ये दुईमा जित र चारमा हारसहित तालिकाको सातौं स्थानमा छ। उसका लागि अब एक खेलमा राम्रै मार्जिनले जित निकाले पनि प्लेअफ खेल्नका लागि अरू टिममा भर पर्नुपर्नेछ।

प्रतियोगितामा जनकपुर बोल्ट्सले प्लेअफ खेल्ने पक्का भइसक्दा अन्य टोलीको टुङ्गो अझै सम्म लागिसकेको छैन।

मंसिर २९, २०८१ शनिबार १२:०१:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।