एनपीएलमा आज दुई खेल, पोखरा सहितका तीन टिम जित्नैपर्ने दबाबमा
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा शनिबार दुई खेल हुँदैछ।
एनपीलएमा लिगका खेल अन्तिम-अन्तिम चरणमा आइपुग्दा शनिबार चारमध्ये तीन टिमले आफ्नो महत्त्वपूर्ण खेल खेल्दैछन्।
त्रिवि मैदान कीर्तिपुरमा बिहान ९ बजे पोखरा एभेन्जर्सले काठमाडौं गुर्खाजको सामना गर्दैछ। प्लेअफ सम्भावलाई जीवित राख्न दुवै टोलीलाई उक्त खेल महत्त्वपूर्ण हुनेछ।
अंक तालिकामा नेट रन रेटका आधारमा काठमाडौं गुर्खाज पोखराभन्दा एक स्थान अगाडि छ। पाँच खेलमा तीन हार र दुई जित निकालेको दुवै टिमको समान ४/४ अंक छ।
पोखराविरूद्धको खेलमा जित निकाल्न सके ६ अंक हुनेछ र तालिकाको चौथो स्थानमा रहेको चितवन राइनोजसँग समान अंक बनाउनेछ। उसले अन्तिम खेल विराटनगरसँग खेल्नेछ।
पोखरा एभेन्जर्सका लागि आजको खेल प्लेअफ सम्भावनालाई बरकरार राख्ने अवसर हुनसक्छ। उसको अन्तिम खेल लिगमा अहिलेसम्म बलियो मानिएको सुदूरपश्चिमसँग रहेकाले आज जितले अन्तिम खेलका लागि उत्साह थप्न सक्छ।
दोस्रो खेलमा चितवन राइनोजले प्लेअफमा पुगिसकेको जनकपुर बोल्ट्सको सामना गर्दैछ।
तालिकाको चौथो स्थानमा रहेको चितवनलाई पनि प्लेअफ सम्भावना जिवित राख्न शनिबारको खेल महत्वपूर्ण हुनेछ। उसको यो अन्तिम खेल पनि हो।
शनिबारको खेलमा चितवन पराजित भए थप एक खेल बाँकी हुने टिमहरू काठमाडौं र पोखरामध्येको एकलाई फाइदा हुन सक्नेछ।
मंसिर २९, २०८१ शनिबार ०७:३७:४७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।