प्लेअफमा पर्न सङ्घर्षरत विराटनगरले चितवनलाई हरायो

प्लेअफमा पर्न सङ्घर्षरत विराटनगरले चितवनलाई हरायो

काठमाडौँ : नेपाल प्रिमियर लिगको शुक्रवारको दोस्रो खेलमा विराटनगर किग्स्ले चितवन राइनोज्लाई ५१ रनले पराजित गर्यो। विराटनगरले पाँच विकेटको क्षतिमा एक सय ८१ रन बनाएको थियो। तर चितवनले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ३० रनमै समेटिएको थियो।

टस जितेर ब्याटिङ रोजेको विराटनगरले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ८१ रन बनाएको थियो। विराटनगरका लागि बसिरले ६८ रनको अर्धशतकीय पारी खेले। उनले ४ चौका र ४ छक्का हानेका थिए। राजेश पुलामीले ३३ र मार्टिन गुप्टिलले ४५ रन बनाएका थिए।

चितवनका लागि रिजन ढकालले २ विकेट लिएका थिए भने सोहिल तनविर, बसिल हामेद र कुशल मल्लले १–१ विकेट लिए। 

एक सय ८२ को टार्गेट लिएर मैदानमा उत्रिएको चितवनको टिम एक सय ३० रनमै समेटियो। चितवनका लागि अमर राउटेलाले सर्वाधिक ४२ रन बनाए। सन्तोष कार्कीले २८ र कुशल मल्लले २५ रन बनाए।

विराटनगरका लागि सन्दीप लामिछानेले २ विकेट लिए। क्रिस सोल, लोकेश बम, बसिर अहमद र सुवाश भण्डारीले १–१ विकेट लिए।

विराटनगरले शुक्रवारकोसहित ६ खेल खेललिसकेको छ। यस अगाडि एक खेल मात्र जितेको उसले शुक्रवारको जितसँगै ४ अंक जोडेको छ। यो अंक प्लेअफमा पर्न पर्याप्त छैन। अब एक खेल मात्र बाँकी भएकाले विराटनगर प्लेअफमा पर्ने या नपर्ने अन्य टिमको खेलमा निर्भर रहेको छ।

शुक्रबारको खेल गुमाएसँगै चितवनले पनि ६ खेलमा तीन खेल जितेर ६ अंक जोडेको छ। अंक तालिकामा अगाडि रहे पनि अन्तिम खेलको नतिजा र अन्य टिमको नतिजापछि मात्र चितवनको प्लेअफ निर्धारण हुन सक्ने देखिन्छ। 

शुक्रवारको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको थियो। एक सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई कर्णालीले एक सय २३ रनमा समेट्दै पाँच रनको रोमाञ्चक जित निकालेको थियो।

जितसँगै कर्णाली याक्स छ खेलमा चार जित निकालेर आठ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लियो। लुम्बिनी लायन्स भने सात खेलमा छ हार र एकमा जित निकालेर प्रतियोगिताबाटै बाहिरियो।

मंसिर २८, २०८१ शुक्रबार १७:०१:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।