एनपीएल : लुम्बिनीविरुद्ध कर्णालीको पाँच रनको रोमाञ्चक जित

एनपीएल : लुम्बिनीविरुद्ध कर्णालीको पाँच रनको रोमाञ्चक जित

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा कर्णाली याक्सले लुम्बिनी लायन्सविरुद्ध पाँच रनको रोमाञ्चक जित निकालेको छ।

एक सय २९ रनको लक्ष्य पछ्याएको लुम्बिनीलाई लुम्बिनीले सात विकेट लिएर एक सय २३ रनमा समेट्दै पाँच रनको रोमाञ्चक जित निकालेको हो।

लुम्बिनीका लागि टम मोर्सले ३६ रनको पारी खेल्दा सन्दीप जोरा २६, साद बिन जफर १६, आशुतोष गिराहिया १६, अर्जुन साउद १३, रोहित पौडेल १० र बेन कटिङ एक रनमा आउट भए।

रेमन सिमोण्ड्स र तिलक भण्डारीले अविजित रहँदै क्रमशः ४ र ३ रन जोडे।

कर्णालीका जीसान मक्सुदले दुई विकेट लिँदा विलियम बोसिस्टो, विपिन शर्मा, नन्दन यादव र सोमपाल कामीले समान एक-एक विकेट लिए।

त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर एक सय २८ रन बनायो।

उसका लागि अष्ट्रेलियन ब्याटर विलियम्स बोसिस्टोले सर्वाधिक ४४ रन बनाउँदा अर्जुन बिटाुलले २५, बाबर हायातले २०, चाडविक वाल्टनले १३ रन जोडे।

लुम्बिनीका विकास आग्रीले तीन विकेट लिए। त्यस अलावा तिलक भण्डारीले दुई विकेट लिँदा रोहित पौडेल, साद बिन जफर र रेमन सिमोण्डसले समान एक–एक विकेट लिए।

जितसँगै कर्णाली याक्स छ खेलमा चारमा जित निकालेर आठ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। लुम्बिनी लायन्स भने सात खेलमा छ मा हार र एकमा जित निकालेर प्रतियोगिताबाटै बाहिरिएको छ।

मंसिर २८, २०८१ शुक्रबार १२:४२:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।