काठमाडौं आइपुगे ब्रायन लारा
काठमाडौं : वेस्ट इन्डियन लिजेन्ड ब्रायन लारा आज नेपाल आइपुगेका छन्।
बिहान साढे आठ बजे त्रिभुवन विमानस्थलमा अवतरण भएका उनी केहीबेरअघि मात्र अध्यागमन सकेर बाहिर निस्किएका छन्।
उनी आफ्नी छोरीसहित नेपाल आएका हुन्। ब्रायन र उनकी छोरीलाई नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारीहरू विमानस्थलमा स्वागत गरेका थिए।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै लाराले यसअघि आफू भारत आएको भए पनि नेपाल अहिलेसम्म नआएको र पहिलो पटक आउन पाउँदा खुसी लागेको बताए।
लारा नेपालमा रहँदा त्रिवि मैदानमा गएर नेपाल प्रिमियर लिग (एनपीएल)का केही खेलहरू हेर्दै पाँच ओभरको कमेन्ट्री समेत गर्ने क्यानले जनाएको छ।
एनपीएललाई ब्रान्डिङ गर्नका लागि लारालाई क्यानले नेपाल ल्याएको हो। उनी बढीमा चार दिन नेपाल बस्ने जनाइएको छ।
सर्वकालीन महान क्रिकेटरमा रूपमा परिचित ५५ वर्षीय लारा टेस्ट क्रिकेटको एउटै इनिङ एक्लै चार सय रन बनाउने एक्ला ब्याट्सम्यान हुन्।
लाराले १३१ टेस्टमा ११ हजार ९५३ रन जोडेका छन्, जसमा ३४ शतक र ४८ अर्धशतक सामेल छन्।
यस्तै, २९९ एक दिवसीय खेल्दा १९ शतक र ६३ अर्धशतकसहित १० हजार ४०५ रन बनाएका छन्।
लाराले सन् १९९० देखि २००७ सम्म वेस्ट इन्डिजको राष्ट्रिय टिमबाट खेलेका थिए।
मंसिर २८, २०८१ शुक्रबार ०९:३१:५१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।