एनपीएलमा आज कर्णाली र लुम्बिनी तथा चितवन र विराटनगर भिड्दै
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा आज पनि दुई खेल हुँदैछन्।
पहिलो खेलमा प्लेअफको दौडबाट बाहिरिइसकेको टिम लुम्बिनी लायन्सविरुद्ध कर्णाली याक्सले आज खेल्दैछ। खेल कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ९ बजे सुरु हुनेछ।
यसअघि छ खेल खेलमा पारजित भएर प्लेअफ होडबाट बाहिरसकेको लुम्बिनी लिगकै अन्तिम खेल खेल्दैछ।
अर्कोतर्फ कर्णाली याक्स लुम्बिनीलाई हराएर प्लेअफ यात्रा अझ बलियो बनाउने लक्ष्यमा छ। पाँच खेल खेल्दा तीनमा जित र दुईमा हारबाट छ अंक जोडेको कर्णाली पाँचौं स्थानमा छ।
सुरुवाती दुई खेलमा पराजित भएपनि त्यसपछि लगातार तीन खेल जितेको कर्णाली लयमा छ र त्यो जितको लय कायम राख्न चाहन्छ। लुम्बिनीलाई पराजित गरेमा कर्णालीको प्लेअफ सम्भावना बलियो हुनेछ।
दोस्रो खेलमा प्लेअफ पुग्ने गणितीय सम्भावना कायम राख्न जित्नैपर्ने दबाबसहित विराटनगर किंग्सले चितवन राइनोजविरुद्ध प्रतिस्पर्धा गर्दैछ। यो खेल दिउँसो १ बजेदेखि सुरू हुनेछ।
पाँच खेलमध्ये चारमा हार र एकमा जित निकालेको विराटनगर अंक तालिकाको पुच्छारमा छ। सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरको खातामा दुई अंक मात्र छ।
आजको खेलमा चितवनविरुद्ध पराजित भए विराटनगर प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिने दोस्रो टिम बन्नेछ।
यता, विराटनगरविरुद्ध मैदान उत्रिँदा कुशल मल्लको कप्तानीमा रहेको चितवन भने जितसहित प्लेअफ सम्भावनालाई बलियो बनाउने लक्ष्यमा हुनेछ।तालिकाको तेस्रो स्थानमा आसीन चितवनले पाँच खेलमा तीन जितसहित ६ अंक जोडेको छ।
मंसिर २८, २०८१ शुक्रबार ०७:२६:५५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।