प्रधानमन्त्री ओलीको कम्बोडियाको लगानी छ/छैन सामान्य खोजी समेत गरेन प्रहरीले
काठमाडौँ : मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मंसिर ३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बोडियाको स्मार्ट आजियटा कम्पनी लिमिटेडमा २१ करोड अमेरिकी डलर अर्थात् साढे ३२ अर्ब लगानी गरेको आरोप लगाए।
आरोप सार्वजनिक भएकै भोलिपल्ट प्रहरीको प्रतिवेदनका आधारमा प्रधानमन्त्रीको मानमर्दन गरेको आरोपमा पक्राउ परेका प्रसाईँ बिहीबार ४० हजार धरौटीमा छुटे।
प्रसाईँको दाबी झुटो हो या सत्य भनेर करिब एक महिना लगाएर प्रहरीले गरेको अनुसन्धानमा प्रधानमन्त्रीको लगानीको पक्षबारे कहिँकतै सोधखोज र अनुसन्धान भएको देखिएन। प्रहरीले जिल्ला अदालत काठमाडौँमा दायर गरेको अभियोग पत्रमा कम्बोडियामा ओलीको लगानी हो या हैन भन्ने आधार प्रसाईँ र अन्य बुझिएकाहरूको बयानलाई मात्र बनाएको छ।
अभियोग पत्रमा उल्लेख गरिएको प्रहरी अनुसन्धानको अंशले ओलीको लगानी छ छैन भनेर अनुसन्धान गर्न भन्दा पनि दुर्गा प्रसाईँले त्यो विवरण कसरी प्राप्त गरे भन्नेमा केन्द्रित भएको देखियो।
अनुसन्धान कतिसम्म फितलो देखियो भने प्रहरीले अनुसन्धानकाक्रममा सम्बन्धित देशमा सामान्य पत्राचार समेत गरेको देखिएन। प्रहरी दुर्गा प्रसाईँकै बयानलाई आधार मान्दै अनुसन्धान टुङ्गाएर जिल्ला सरकारी वकिलको कार्यालयमा प्रहरीले प्रतिवेदन बुझाएको देखियो।
अनुसन्धान गर्ने निकायले के कारणले प्रसाईँले सार्वजनिक गरेको विवरण झुटा हो भनी प्रमाणित गर्न सक्नुपर्ने हो तर प्रहरी प्रतिवेदनले प्रसाईँले सार्वजनिक गरेको विवरण झुटो हो भन्ने बलियो आधार टेक्न सकेको देखिँदैन ।
बयानमा प्रसाईँले नेपालीसहित विदेशी मिडियाहरूले समेत 'कम्बोडियाको टेलिकममा प्रधानमन्त्री खड्गप्रसाद ओलीले २१ करोड अमेरिकी डलर लगानी गरेको र त्यसको नेपाली अन्दाजी साढे ३२ अर्ब लगानी गरेको भनेको उल्लेख गरेका छन्।
त्यही कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो विषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले फोन सम्पर्क गरी ओलीको स्मार्ट आजियटा कम्पनी लिमिटेडको कम्बोडियामा लगानी छ भनी जानकारी गराएको उनले उल्लेख गरेका छन्।
उनै व्यक्तिले ओली बिजनेस फोरमको लागि २०१९ मे १४ मा कम्बोडियामा जाँदाको भिडियो समेत र कागजात समेत दिएको बताएको उनको बयानमा उल्लेख छ।
‘त्यो सूचना आएपछि विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेसमिट क्षणमा यहाँका नेताहरूको पैसा कम्बोडिया, मङ्गोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुबई, सिंगापुरमा छ। मसँग प्रमाण छ लिखित सिग्नेचर भएका पेपरहरू छन् भनेको हुँ,’ उनले दाबी गरेका छन्।
उनले तीनै व्यक्तिले पठाएको विवरणको आधारमा आफूले समाचार प्रकाशन गरेको दाबी गरेका छन्।
निकै फितलो अनुसन्धान
प्रसाईँकै बयान पनि अपूरो र हल्का देखिन्छ। प्रसाईँले ह्ववाट्स एपबाट विवरण आएको र प्रधानमन्त्री ओली २०१९ मे १४ मा कम्बोडिया समेत गएको प्रमाणित गरेर भिडियो बनाएको बताएका छन्।
अनुसन्धानमा प्रहरीले ह्ववाट्सएपबाट विवरण पठाउने को हो भन्नेसम्म खोजेको देखिएन। प्रहरीले बुझिएका मानिसहरूले गरिदिएको घटनाको विवरण भन्दै अमर पुलामी र दिनेश गजमेयरको बयान लिएको छ।
प्रहरीले प्रसाईँले प्रधानमन्त्रीमाथि गम्भीर आरोप लगाएकाले कारबाही गर्नुपर्ने टिप्पणी उठाएको देखिन्छ। तर प्रधानमन्त्रीको टेलिकममा लगानी हो की होइन भन्ने पक्षमा प्रवेशै गरेको छैन।
अभियोगमा प्रसाईँलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७को उपदफा २ बमोजिम थप सजाय गर्न माग गरेको थियो।
दुर्गा प्रसाईँको बयान
नेपालमा भइरहेको राजनीतिक अस्थिरता, देशमा मौलाउँदो भ्रष्टाचार, चरम आर्थिक सङ्कट, युवाहरू विदेश पलायन, सामान्य नागरिकले महँगीको मारमा झेल्नु परेको पीडा पिर मर्कालाई बुझी नेपालीहरूको अभिभावकको रूपमा मैले विगत ३ वर्ष देखी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानको रूपमा नेतृत्वदायी भूमिकामा कार्य गर्दै आइरहेको छु।
सो कार्यहरू गर्नमा अवरोध सृजना गर्ने नेपालको वर्तमान सङ्घीय सरकार तथा सरकारको नेतृत्व गर्ने प्रमुख राजनीति दलका नेताहरूलाई चुनौती दिँदै सामाजिक तथा राजनीतिक अभियानहरू चलाइरहेको छु।
हाल नेपालका सम्माननीय प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीज्यूको बारेमा बारम्बार नेपाली मिडियाहरू लगायत विदेशी मिडियाहरूले समेत 'कम्बोडियाको टेलिकममा प्रधानमन्त्री खड्ग प्रसाद ओलीले २१ करोड अमेरिकी डलर लगानी गरेको त्यसको नेपाली अन्दाजी. साढे ३२ अर्ब लगानी गरेको भनेको कारण सो मिडियाहरूको समाचारहरूको बारेमा केलाउनुका साथै सो विषयमा बुझ्दै गर्दा एक जना कम्बोडियामा बस्ने नेपालीले मैले प्रयोग गर्दै आएको नेपाली नम्बर ९८०१०…..मा मलाई फोन सम्पर्क गरी खड्ग प्रसाद शर्मा ओलीको Smart Axiata Company Limited कम्बोडियामा लगानी छ भनी जानकारी गराएका थिए।
त्यसो भए तपाईँसँग के प्रमाण छ भनी निजलाई सोधपुछ गर्दा निजले खड्ग प्रसाद शर्मा ओली Business forum को लागि 14, May 2019 Tuesday मा कम्बोडियामा जाँदा खेरी भाग लिएको अवस्थाको भिडियो र सो कम्पनीको सेयर खरिद गरेको पैसा खुलेको कागजहरू छ भनेकोमा त्यसो भए सो कागजातहरू मैले प्रयोग गर्ने नेपाली नम्बर, बनाएको कागजात, भिडियो तथा फोटोहरू होइन।
गरिब, विकासोन्मुख हाम्रो देशका प्रधानमन्त्रीसँग कम्बोडियामा लगानी गर्ने यत्रो पैसा कहाँबाट आउँछ, नत हाम्रो देशका प्रधानमन्त्री ठुलो व्यापारी नत ठुलो व्यवसायी नत ठुलो उद्योगी यत्रो रकम किन, कसरी लगानी गरे भन्ने विषयमा जनता सामु प्रस्ट पारौँ भन्ने उद्देश्यले मैले विभिन्न मिडियाका साथीहरूलाई बोलाई प्रेसमिट गर्दाको क्षणमा मैले ‘यहाँका नेताहरूको पैसा कम्बोडिया, मङ्गोलिया, तुर्किमेनिस्तान, साउथ अफ्रिका, केन्या, दुबई, सिंगापुरमा छ, मसँग प्रमाण छ लिखित सिग्नेचर भएका पेपरहरू छन्, मसँग बुझ्नु भो मलाई यिनीहरूले मारे भने अर्कै कुरो हो नभए दुर्गा प्रसाईँ बिग्दैन, संसारमा दुर्गाप्रसाद मर्छ बिग्दैन संसारमा दुर्गा प्रसाईँ झुक्छ तर बिग्दैन किनभने मैले नेपालीहरू रोएको नेपाली चेलीबेटीहरू रोको देखेको छु’ भन्ने लगायतको शब्दहरूमा बोल्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीले Smart Axiata Company Limited कम्बोडियामा लगानी गर्नु भएको रकम सहितको कागजातहरू देखाउँदै सो सँग सम्बन्धित विषयमा संवाद गर्दै गर्दाको भिडियोलाई मैले प्रयोग गर्दै आइरहेको सामाजिक सञ्जाल फेसबुकमाबाट ‘ल हेनुहोस् केपी ओलीको कम्बोडियामा लगानी, हालका देशका प्रधानमन्त्रीको असली चरित्र. .’ भन्ने लगायतको स्टाट्सहरूको साथमा भिडियो समेत अपलोड/पोस्ट गरेको हुँ।
मंसिर २८, २०८१ शुक्रबार ००:४३:०१ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।