उकेरा टप फाइभ : पूर्वगुप्तचर अधिकृत द्वारिकाको हिजोको कुरादेखि पत्रकार महासंघमा बढेको दलीय प्रभावसम्म
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले साँच्चैको मेरिटोक्रेसीका आधारमा र विश्वविद्यालय चल्न सक्ने गरी रिक्त डीन र क्याम्पस प्रमुखहरुको नियुक्ति पुस ७ भित्र गर्न निर्देशन दिएका छन्। त्रिभुवन विश्वविद्यालयको आज कीर्तिपुरमा भएको साधारणसभा (सिनेट) बैठकमा कुलपतिसमेत रहेका ओलीले विश्वविद्यालय चलाउने कामको नेतृत्व उपकुलपतिले गर्ने स्मरण गराउँदै प्रधानमन्त्री ओलीले विश्वविद्यालय चल्न सक्ने गरी निष्पक्ष र साँच्चैको मेरिटोक्रेसीमा रहने गरी काम गर्न उपकुलपतिलाई आफूले भन्दै आएको बताए। बैठकमा सिनेट सदस्यले सिफारिस भइसकेका डीन र क्याम्पस प्रमुखहरुसँगको नियुक्ति नभएको भन्ने प्रश्न उठाएका थिए।
जिल्ला अदालत कास्कीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई थप पाँच दिन म्याद थप गरेको छ। बिहीबार न्यायाधीश चन्द्रकान्त पौड्यालको इजलासले उनलाई थप पाँच दिन म्याद थप गरेर अनुसन्धान गर्न अनुमति दिएको हो। त्यसअघि प्रहरीले भने रविलाई अझै ९ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति माग गरेको थियो।
नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत आज भएको पहिलो खेलबाट पहिलो सुपर ओभरमा पोखरा एभेन्जर्सले जित निकालेको छ। निर्धारित २० ओभरमा दुवै टीमले समान एक सय ३९ रन बनाइएपछि खेल सुपर ओभरमा गएको थियो। जितसँगै पोखरा आठौंबाट छैटौं नम्बरमा उक्लँदा विराटनगर सातौंबाट आठौं स्थानमा झरेको छ।
एनपिएलकै दोस्रो खेलबाट जनकपुर बोल्ट्स प्लेअफमा पुग्ने पहिलो टोली बनेको छ। कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहीबार काठमाडौं गुर्खाजलाई हराउँदै जनकपुरले प्लेअफमा स्थान पक्का गरेको हो। यो जितसँगै जनकपुरको ६ खेलबाट १० अंक भएको छ। उसले अझै एक खेल खेल्न बाँकी छ।
साइबर अपराधको कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौं जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो। प्रसाईंमाथि आपराधिक लाभ र संगठित अपराधको कसूरमा भने अनुसन्धान जारी रहेकाले उनी छुट्न नपाउने भएका छन्।
भारतको औपचारिक भ्रमणमा रहेका प्रधान सेनापति अशोकराज सिग्देललाई भारतीय राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेकी छन्। राष्ट्रपति भवनमा आज आयोजित विशेष सुशोभन कार्यक्रममा राष्ट्रपति मुर्मुले प्रधान सेनापति सिग्देललाई मानार्थ महारथी दर्जाबाट सुशोभित गर्नुभएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।
अब उकेरामा सोमबार प्रकाशित टप फाइभ समाचार
साहित्यकार तथा पूर्वगुप्तचर अधिकृत हुन् द्धारिका ढुङ्गाना। उमेरले ७४ वर्षका भए। उनलाई काठमाडौंको अनामनगरस्थित गोर्खा चोकमा नचिन्ने सायदै कमै होलान्। यतिको वर्षसम्म पनि उनी फुर्सदिलो साहित्य तथा गीत संगीतमा जमेका छन्। दर्जनौं गीतहरू चलेका गायक गायिकाहरूले गाइरहेका छन्। १८ सालमै रेडियो नेपालमा गीत रेकर्ड गरेका उनले रेडियो नेपालकै बाल साहित्य कार्यक्रममा क्यारिकेचर तथा कविता वाचन गरेर सुनाउँथे। त्यहीबाट उनको सांगीतिक यात्रा अघि बढ्यो। उनले आफूले जानेका बुझेका र अनुभव गरेका कुराहरुलाई उकेराको कोलम हिजोको कुराकानीमा यसरी सुनाए।
पूरा समाचार: पूर्वगुप्तचर अधिकृत द्वारिकाको हिजोको कुरा : राजा महेन्द्रको मामाले मुद्दा हार्दा न्यायाधीशलाई बक्सिस
यही मंसिर २१ मा लगनगाँठो कसेकी गायिका स्मिता दाहालको विवाहको चर्चा छ यतिबेला। उनको विवाहको चर्चा यसकारण पनि भएको छ, स्मिता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीसमेत हुन्। स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग काठमाडौंको नर्लिङ रिसोर्टमा लगनगाँठो कसेकी थिइन्। उनको विवाहपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, कलाकार संजय दत्तलगायतले शुभकामाना सन्देश पठाएका छन्, यसको राजनीतीक सन्देश केहो?
पूरा समाचार: मोदीदेखि विवेक ओबरायसम्मले प्रचण्डकी नातिनी स्मितालाई किन पठाए विवाहको शुभकामना?
कार्यकाल सकिन लागेका राष्ट्रपति जो बाइडेनले बिहीबार करिब एक हजार पाँच सय अपराधीको सजाय कम गराएका छन्। अन्य ३९ जनालाई अहिंसात्मक अपराधका लागि माफी दिए। यसलाई ह्वाइट हाउसले अमेरिकी इतिहासमा एकै दिनमा सबैभन्दा ठूलो क्षमादानको कार्य भनेको छ।
पूरा समाचार: कार्यकालको अन्तिममा अमेरिकी राष्ट्रपति बाइडेनले १५०० अपराधीलाई क्षमादान दिए
गोरखा जिल्लाकै पुरानो मध्येको एक सामागाउँको प्रवेशद्वार नजिकै ठुलो क्षेत्रफलमा फैलिएको विद्यालय देखियो। प्राथमिक तहसम्म मात्र पढाइ हुने गौरीशङ्कर प्राथमिक विद्यालय रहेछ। विद्यार्थीहरू चौरमा घाम तापेर बसिरहेका थिए। दशैं-तिहारको बिदामा गएका शिक्षक अझै फर्किएका रहेनछन्। विद्यालय अगाडि सानो कफीसप देखियो। त्यो कफीसप रहेछ ‘छ्योर्तेन सर’ को। त्यसपछिका थप घटनाक्रमबारे उकेराकर्मी मोनिका वाइबाले लेखेको ब्लगको भाग २ आज उकेरामा प्रस्तुत छ।
पूरा समाचार: कार्यकालको अन्तिममा अमेरिकी राष्ट्रपति बाइडेनले १५०० अपराधीलाई क्षमादान दिए
व्यवसायीक अजेण्डा भन्दा दलगत आबद्धताका आधारमा नेपाल पत्रकार महासङ्घको नेतृत्वमा पुग्नु सामान्य नै हो। दलगत रूपमा पार्टीमै आबद्ध भएका हुन् या पत्रकारिताको कर्ममा रहेकाहरू हुन्, अपवाद बाहेक ती कुनै न कुनै दलको भातृ सङ्गठनको उम्मेदवार बनेर महासङ्घको नेतृत्वमा पुगे। हिजो पनि दलगत आधारमै नेतृत्व छानिन्थ्यो। तर पार्टी प्रत्यक्ष निर्वाचनमा उत्रिँदैनथ्यो। तर शुक्रवार हुने महासङ्घको २७ औ महाधिवेशन अन्तर्गतको निर्वाचनमा पार्टीगत भातृ सङ्गठनहरूले प्यानल बनाएर उम्मेदवार तोके नै, दलगत भातृ सङ्गठनको प्यानलका उम्मेदवार जिताउन पार्टी नै मैदानमा उत्रिएको देखियो।
पूरा समाचार: पत्रकार महासंघ निर्वाचन : पहिले भातृ सङ्गठन चलाउँथे अहिले त दलै मैदानमा उत्रिए, नौ हजार मतमा कसको पल्लाभारी ?
मंसिर २७, २०८१ बिहीबार २१:५३:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।