मोदीदेखि विवेक ओबरायसम्मले प्रचण्डकी नातिनी स्मितालाई किन पठाए विवाहको शुभकामना?

मोदीदेखि विवेक ओबरायसम्मले प्रचण्डकी नातिनी स्मितालाई किन पठाए विवाहको शुभकामना?

काठमाडौं : यही मंसिर २१ मा लगनगाँठो कसेकी गायिका स्मिता दाहालको विवाहको चर्चा छ यतिबेला। उनको विवाहको चर्चा यसकारण पनि भएको छ, स्मिता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीसमेत हुन्। स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग काठमाडौंको नर्लिङ रिसोर्टमा लगनगाँठो कसेकी थिइन्। 

त्यस समारोहमा प्रचण्डका साथै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, परराष्ट्रमन्त्री डा आरजु राना देउवा, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, कलाकारहरू हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, केदार घिमिरे ‘माग्ने बूढा’, जितु नेपाल, सन्दीप क्षेत्री, संगीतकार चेतन सापकोटा लगायतले उपस्थित भएर स्मितालाई बधाई दिए।

त्यतिमात्र हैन, स्मिताको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत शुभकामना सन्देश पठाए। 

आमा गंगा दाहालले फेसबुकमार्फत सार्वजनिक गरेको त्यस शुभकामना सन्देशमा प्रधानमन्त्री मोदीले स्मिता र सायुज्यलाई जीवनभरको विश्वास र एकताको यात्रा सुरू गरेकोमा हार्दिक बधाई दिएका छन्।

गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु। ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु। कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला।’

त्यससँगै बलिउड स्टार संजय दत्तले पनि स्मितालाई वैवाहिक जीवनको शुभकामना दिए। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश दिएको एक दिनपछि अभिनेता दत्तले एक भिडियो सन्देशमार्फत स्मितालाई बधाई दिएका हुन्। 

गंगा दाहालले सामाजिक संजालमार्फत सार्वजनिक गरेको त्यस भिडियोमा अभिनेता दत्तले नवविवाहित जोडीलाई बधाई दिन चाँडै नेपाल आउने बताएका छन्।

त्यसैगरी अर्का बलिउड अभिनेता विवेक ओबरायले पनि भिडिओ सन्देश पठाउँदै स्मिता र सायुज्यलाई शुभकामना दिएका छन्। अझ उनले त नवविवाहित जोडीलाई कसरी वैवाहिक जीवनलाई खुसी राख्न सकिन्छ भन्नेबारेमा मन्त्र नै दिए। उनले दाम्पत्य जीवनको अनुभव पनि सुनाएका छन्।

‘विवाह त्यतिबेला महान् हुन्छ, जतिबेला श्रीमती सधैं सही हुन्छिन्। मेरो विवाहमा मेरो बुवाले यस्तै भन्नुभएको थियो’ विवेकले भनेका छन्, ‘विवाहमा पनि श्रीमती राइट (दायाँ) बस्छिन्, किनभने उनी सही हुन्छिन्।’

शुभकामनाभित्र लुकेको राजनीतिक अर्थ 
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी स्वकीय सचिवसमेत रहेकी छोरी गङ्गाले यी शुभकामनाका तस्बिर र भिडिओहरू सार्वजनिक गरिरहेकी छन्। यसको सोझो अर्थ उनले बुवा प्रचण्ड र भारतको सम्बन्ध सुमधुर रहेको देखाउन खोजेकी बुझ्न सकिन्छ। 

त्यसै पनि आफू सरकारबाट बाहिरिंदा देशी-बिदेशी प्रतिक्रियावादीका रूपमा भारतसमेतलाई जोडेर सरकारबाट हटाएको भन्दै अभिव्यक्ति दिने प्रचण्डले यसपटक भारतलाई केही भनेनन्। उनी हटेपछि प्रधानमन्त्री बनेका एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भारतले नरूचाएको कुरा नेपालस्थित पूर्व भारतीय राजदूतहरूले सार्वजनिक रूपमा बोल्दै आएका छन्। त्यसमा पनि प्रधानमन्त्री ओलीले भारतले निम्तो नदिंदा केही साताअघि चीनको भ्रमण गरेर भारतसँगको चिसो सम्बन्धलाई सतहमा ल्याइदिएकै छन्। 

यता, पछिल्लो समय प्रचण्डको भने दक्षिणी छिमेकी भारतसँगको सम्बन्ध राम्रो बन्दै गएको देखिन्छ। केही दिनअघि प्रधानमन्त्री ओली चीन भ्रमणमा जानअघि प्रचण्डले त्यसलाई ‘चाइना कार्ड’को संज्ञा दिएर भारतसँग नजिकिन खोजेको घटना त्यसैको उपज हो। अझ आफ्नो प्रधानमन्त्रीकालमा प्रचण्डले भारतसँग विद्युत् व्यापारलगायत महत्त्वपूर्ण सम्झौतासमेत गरेका थिए।

गङ्गाले सार्वजनिक गरेको पत्रले पनि प्रचण्ड र भारतीय प्रधानमन्त्री मोदीबीचको सम्बन्ध सुमधुर रहेको देखाउन खोजेको बुझिन्छ। 

बलिउड सेलिब्रेटीले किन दिए शुभकामना?
प्रचण्ड प्रधानमन्त्री भएको बेला भारत भ्रमणमा जाँदा सँगै गएकी गङ्गाले सञ्जय दत्त लगायत केही कलाकारहरूसँग भेटेकी थिइन्। त्यसपश्चात उनीहरुको बेलाबखत कुराकानी हुने गरेको थियो। यही कारण गंगाले सञ्जय दत्तलाई छोरीको बिहेमा डिजिटल माध्यमबाट निम्तो पठाएकी थिइन्।

उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीदेखि कलाकारहरू सुरेश ओबराय, कैलाश खेर लगायतलाई पनि निमन्त्रणा गरेकी थिइन्। 

सुरेश ओबराय र कैलाश खेरले पनि शुभकामना सन्देश पठाइसकेका छन्। सुरेश र उनका छोरा विवेक ओबराय नेपाल भ्रमणमा आएका बेला खुमलटारस्थित निवासमा पुगेर प्रचण्ड परिवारलाई भेटेका थिए। 

मंसिर २७, २०८१ बिहीबार २१:११:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।