रिलिजको एक सातामा १००० करोड कमाएर 'पुष्पा-२'ले बाहुबलीको रेकर्ड ब्रेक गर्यो

रिलिजको एक सातामा १००० करोड कमाएर 'पुष्पा-२'ले बाहुबलीको रेकर्ड ब्रेक गर्यो

एजेन्सी : दक्षिण भारतीय अभिनेता अल्लु अर्जुन अभिनीत फिल्म 'पुष्पा २' ले रिलिजको एक हप्तामा भारतीय सिनेमामा इतिहास रच्न सफल भएको छ।

भारतीय सञ्चारमाध्यम टाइम्स अफ हिन्दुस्तानका अनुसार एक सातामा फिल्मले भारतीय बक्स अफिसमा ६४७ करोड ३१ लाख भारू कमाएको छ भने विश्वव्यापी रूपमा १००० करोड भारू कमाएको छ।

यस फिल्मले धेरै ठूला फिल्मको रेकर्ड तोडेको छ। बाहुबली पनि यस मामिलामा पछि परेको छ। 'पुष्पा २'ले सात दिनमा विश्वव्यापी कलेक्सनका हिसाबले १००० करोडको क्लबमा पुग्दै गर्दा बाहुबलीले यति कमाउन १० दिन कुर्नुपरेको थियो।

यस फिल्ममा अल्लु अर्जुनले रातो चन्दन तस्करी गर्ने पुष्पराजको भूमिका निर्वाह गरेका छन्। विशेष गरी अल्लु अर्जुनको लुकले फ्यानहरूको ध्यान तान्यो। त्यसैकारण पनि रिलिजको दिन बिहानैदेखि हल बाहिर दर्शकको बाक्लो भीड देखिएको थियो।

सुकुमार बान्द्रेडीको लेखन तथा निर्देशन रहेको फिल्ममा अल्लु अर्जुनसहित रश्मिका मन्दना, फरद फासिल, जगपति बाबु, धनुञ्जय, राव रमेश, सुनील लगायतको अभिनय छ। नवीन येर्नेनी र रविशंकर यममाञ्चिली फिल्मका निर्माता हुन्।

एक्सन, क्राइम र ड्रामा जनराको यो फिल्मको रनटाइम ३ घण्टा २१ मिनेट छ। 

मंसिर २७, २०८१ बिहीबार २०:१८:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।