पूर्वगुप्तचर अधिकृत द्वारिकाको हिजोको कुरा : राजा महेन्द्रको मामाले मुद्दा हार्दा न्यायाधीशलाई बक्सिस

पूर्वगुप्तचर अधिकृत द्वारिकाको हिजोको कुरा : राजा महेन्द्रको मामाले मुद्दा हार्दा न्यायाधीशलाई बक्सिस

साहित्यकार तथा पूर्वगुप्तचर अधिकृत हुन् द्धारिका ढुङ्गाना। उमेरले ७४ वर्षका भए। उनलाई काठमाडौंको अनामनगरस्थित गोर्खा चोकमा नचिन्ने सायदै कमै होलान्। यतिको वर्षसम्म पनि उनी फुर्सदिलो साहित्य तथा गीत संगीतमा जमेका छन्। दर्जनौं गीतहरू चलेका गायक गायिकाहरूले गाइरहेका छन्। १८ सालमै रेडियो नेपालमा गीत रेकर्ड गरेका उनले रेडियो नेपालकै बाल साहित्य कार्यक्रममा क्यारिकेचर तथा कविता वाचन गरेर सुनाउँथे। त्यहीबाट उनको सांगीतिक यात्रा अघि बढ्यो। 

त्यतिबेलामा नाम चलेका गायक बच्चु कैलाश, नारायण गोपाल, नातिकाजी लगायतसँग उनको भेटभाट हुन्थ्यो। उनको गीत छनोट भएर वि.स.२०१८ सालमा ‘सिधा बाटो भन्ठान्या थिए, घुमाउरोमा परे हजुर,आफ्नो मान्छे भन्ठानेथेँ बिरानोमा फसे हजुर’ रेकर्ड भयो। यो गीत त्यतिबेला रेडियो नेपालमा राम्रै चल्यो। रेडियो नेपालमा ६० हाराहारी र बाहिर गरि उनका ४ सय वटा भन्दा बढि गीत रेकर्ड भइसकेका छन्। 

गीत र कविता लेखनमा खूब जमेका उनले वि.स.२४ सालमा भएको साहित्य महोत्सवमा प्रज्ञा प्रतिष्ठानबाट स्वर्णपदक पाएका थिए। २८ सालमा गुप्तचर अधिकृतमा जागिर खाएका उनले भ्रष्टाचार गरेका धेरैका जागिर समेत खोसिदिए। उनले आफूले जानेका बुझेका र अनुभव गरेका कुराहरुलाई उकेराको कोलम हिजोको कुरामा यसरी सुनाए। 

000

स्कुल जाँदा कसैले कस्मिराको लुगा लगाउँथे भने कसैले खाडीका
म वि.स.२००७ सालमा भक्तपुरको चाँगुनारायण वडा नम्बर-८ मा जन्मिएको हो। परिवार सामान्य नै थियो। मेरो पहिलो स्कुल चाँगुनारायण माध्यमिक विद्यालय हो। पछि विजय मेमोरियल स्कूलमा ५,६,७ कक्षा पढेपछि एसएलसी चाहिं पद्यमोदय माध्यमिक विद्यालयबाट दिएँ। मैले २३ सालमा एसएलसी पास गरेको। 

त्यतिबेला स्कुलको ड्रेस नै हुँदैन थियो। जे लगाएर गए पनि हुन्थ्यो। किनभने अहिलेको जस्तो प्रशस्त कपडाहरू पाइँदैन थियो। अलिक हुने खानेले कस्मिराको लुगा लगाउँथे भने नहुनेले घरेलु उद्योगमा बनेका खाडीका लुगा लगाएर आउँथे। मैले पनि खाडीकै लुगा लगाउँथ्यें। एक जोर लुगा भन्दा अर्को हुँदैन थियो। 

मैले थाहा पाउँदा गाउँमा स्कुल खोल्ने लहर चलेको थियो। मान्छेहरू धेरै जागृत भइसकेका थिए। १३/१४ सालतिर नै महाकवि लक्ष्मी प्रसाद देवकोटाले स्कुललाई परिमार्जित गर्नुपर्छ भन्दै यही विजय मेमोरियलमा ‘विद्या धनम् सर्वधनम् प्रभानम’ भनेर लेख्नुभएको हो। सबैले पढ्न पाउनुपर्छ भनेर त्यति बेला उर्दी नै जारी गरिएको थियो। 

मैले थाहा पाउँदा महेन्द्र वीर बिक्रम शाहदेव राजा थिए। उनको कार्यकालमा असाध्यै विकास भएको थियो। उनले राम्रो गर्दै जाँदै थिए। विभिन्न राजनीतिक दलहरूले अवरोध गर्ने काम गरेको पनि देखियो। महेन्द्र राजा विकासप्रेमी राजा थिए, किनभने उनले १० वर्षको शासनकालमा धेरै परिवर्तन ल्याए। मैले थाहा पाउँदा लेखपढ गर्ने छोरी मान्छेहरू प्रशस्तै थिए। अलि गाउँ/पहाडतिर चाहिं छोरीलाई नपढाउने अभिभावकहरू पनि थिए। 

तर, सरकारबाट छोरी मान्छेलाई नपढाउने, पढाउनु हुँदैन भन्ने कुरामा रोकटोक थिएन। पढाउनुपर्छ भन्नेमा नै थियो। १३/१४ सालमा छोरा र छोरी एउटै हो कसैले भेदभाव नगरौं भन्ने अभियान नै चलेको थियो। डाक्टर केआइ सिंह प्रधानमन्त्री थिए त्यतिबेला। 

महाकवि लक्ष्मी प्रसाद देवकोटाले शिक्षामन्त्री हुँदा विभेद भन्ने हटाउनुपर्छ भनेर लाग्नुभएको थियो। छोरा र छोरी एउटै गर्भबाट जन्मिएको कसैलाई भेदभाव गर्नु हुँदैन भन्ने नारा थियो त्यसबेला। मसँगै पढेका केटीहरू बाबा बस्नेत, डाक्टर प्रतिभा, पुन्य प्रभा ढुङ्गाना, कमल राणालगायत थुप्रै थिए। उनीहरू नपढेको भए यति ठूला विद्धान हुन्थे त? त्यतिबेला स्कुलमा बस्ने बेञ्च चाहिं केटा र केटीलाई छुट्टाछुट्टै हुन्थ्यो। शिक्षकसँग विद्यार्थीहरू त्यो समयमा डराउँथे र पढ्थे पनि। 

काठमाडौं र भक्तपुरमा सवारी उका गाडी र लहरी
त्यतिबेला सवारी साधनमा भनेको उका गाडी, ट्रक जस्तो लामो अनि १३/१४ नम्बर भएका लहरी जिपहरू पनि चल्थे। त्यसमा बस्न सजिलो हुन्थ्यो। तर, अहिलेको जस्तो बग्रेल्ती गाडी हुँदैन थिए। समय कुरेर आउजाउ जाउ गरिन्थ्यो।


 
घट्टेकुलोमा मेरो आफन्तको घर थियो, म पनि यहीं बसेर पढेको हो। कहिलेकाहीं घर जाँदा उका गाडी, लहरीमा चढेर जान्थेँ। त्यो बेला र अहिलेको कुरा सम्झियो भने त सपना जस्तो लाग्छ। त्यतिबेला अनामनगरबाट डिल्लीबजार जानुपर्दा खेतका आली-आली जानुपर्थ्यो। अहिले कसले पत्याउँछ, खेतका आली र झिँगटीका घर थिए भनेर! पुरानाले पत्याउँलान्, नयाँले त पत्याउँदैनन्। अहिले त मान्छे नै मान्छे, घरै-घर भए। अहिले त छिमेकी चिन्न छाडिसकियो। 

त्यतिबेला अहिलेको जस्तो बाटोघाटो थिएन। समयको हुरीसँगै बाटाघाटो बने। व्यक्तिहरुसँग पैसा प्रशस्त हुन थाले। नेताहरूले विदेशी गुहारेर अनेक अस्पताल खोले, सहकारी खोले। कतिपयले आफ्नै लगानीमा पनि खोले। त्यतिबेला बोर्डिङ स्कुल कमै थियो। अहिले च्याउसरि छन्। केटाकेटीलाई भारी ब्याग र हातमा टिफिन बोकाएर बोर्डिङ स्कुल पठाएका छन्। के पढ्दैछन् कसो पढ्दैछन् बाउ आमालाई मतलब छैन। फेसन जस्तो भयो बोर्डिङ स्कुल। कहाँ पढ्छ तिम्रो छोरो भन्दा बोर्डिङमा भन्या छ। कस्तो पढ्दैछ भन्ने कुरा थाहा छैन। नेपालीपन हराउँदै गएको छ। यो हिसाबले पहिलाको तुलनामा अहिलेको पढाई कमजोर छ। अहिले नेपालीलाई त निकै तल पारेको महसुस गरेको छु। 

अठार सालमै रेडियो नेपालमा गीत रेकर्ड 
मैले सानै उमेरबाटै गीत, कविता लेख्न थालेको हो। मैले १६ सालमा ‘सितलु भो छायाँ सितलु भो छायाँ, जाडो भयो थुरथुर काँपे आउन माया’ बोलको गीत लेखेको थिएँ। यो गीत मैले रेकर्ड गर्न त पाइँन। तर खुब राम्रो लागेको गीत थियो। मेरो अर्को गीत १८ सालमा रेकर्ड भयो। त्यो गीतको बोल थियो, ‘सिधा बाटो भन्ठान्या थिए, घुमाउरोमा परे हजुर, आफ्नो मान्छे भन्ठानेथेँ बिरानोमा फसे हजुर’। यो गीत त्यतिबेला रेडियो नेपालमा धेरै समय बज्यो। अहिले पनि बज्छ, तर त्यतिबेला एउटै रेडियो नेपाल, फलानाको गीत बज्यो है भन्थे, सबैले चिन्थे। 

रेडियो नेपालमा गीत गाउनका लागि जो कोहीले पनि स्वर परीक्षा पास गर्नै पर्थ्यो। गीतका शब्दमा सेन्सर हुन्थे। मेरो एउटा राष्ट्रिय गीत थियो, ‘अजर अम्बर हाम्रो नेपाल, डेढ कोटीले कम्मर कसे बन्छ नेपाल’। अहिले पो तीन कोटी भयो त, त्यति बेला डेढ कोटी (करोड) नेपाली जनता थिए। यो गीत बोकेर रेडियो नेपालमा गएर दर्ता गरें। त्यसपछि मेरो शब्द पास भएछ। यो गीतमा नातिकाजीले संगीत भर्दिनुभयो।   

त्यतिबेला सिंहदरबार जाँदा कुनै छेकबार थिएन। पश्चिमगेटबाट प्रवेश गर्न पाइन्थ्यो। सिंहदरबारभित्र काउली, साग फलिरहेका हुन्थे। मा आफैंले  पनि मुला उखालेर लिएर आएको छु। टिपेर लैजाँदा कसैले केही भन्दैन थिए।

रेडियो नेपालको बालकार्यक्रममा सहभागी 
रेडियो नेपालमा हुने बाल कार्यक्रममा मैले लामो समयसम्म बाल गीतहरू गाएँ। विस्तारै कविताहरू पनि वाचन गर्न थालें। त्यतिबेला रेडियो नेपालमा ‘साहित्य संसार’ नामक कार्यक्रम थियो। त्यसमा मैले पनि कविता वाचन गर्थें। त्यो समयमा कविता वाचन गरेको २५ रूपैयाँ पाउथेँ। समयक्रमसँगै रेडियो नेपालमा ५ सयसम्म पाएँ। त्यो समयमा उत्कृष्ट कविता हुँदा रेडियो नेपालले साहित्यकारहरूलाई पारिश्रमिक रुपमा खर्च दिने चलन थियो। 

रेडियो नेपालमा प्रायजसो पेसेवर गायक-गायिकाहरू हुन्थे। उनीहरुको तलब रेडियो नेपालले नै दिन्थ्यो। उनीहरुको कामै गीत गाउने थियो। तर, बाहिरबाट जानेहरूले अलिअलि खर्च पाउँथे। जागिर नहुनेले पारिश्रमिक पाउँथे १५/२० रूपैयाँ जति। 

मेरो हकमा चाहिं, रेडियो नेपालले करार पत्र भनेर कागजमा भरेर दिन्थ्यो अनि मैले २५ रूपैयाँ पाउथें। त्यो कागज राष्ट्र बैंकमा गएपछि पैसा साटेर दिन्थ्यो। त्यो २५ रूपैयाँले एक महिना मज्जाले खान पुग्थ्यो। होटलतिर गयो भने हलुवा, स्वारी, लालमन, निम्की यस्तै-यस्तै किनेर खाइन्थ्यो। चियाको १० पैसा पर्थ्यो। दूधको २५ पैसा लिन्थ्यो। अहिलेको जस्तो पानी हालेर घिउ झिकेको जस्तो दियो भने त कारबाहीमा परिन्थ्यो। एकदमै खाट्टी दूध। 

रेडियो नेपालमा भेट हुँदा
मेरो त्यतिबेलाका गायक-गायिका तथा संगीतकारहरू सबैसँग भेट हुन्थ्यो। बच्चु कैलाश, कुमार बस्नेत, नारायण गोपाल, फत्तेमान, पन्नालाल लगायत सबैसँग भेट हुन्थ्यो। मसँग सबैभन्दा नजिक थिए, कुमार बस्नेत। उहाँ म भन्दा जेठो हुनुहुन्छ। त्यतिबेला उहाँका गीतहरू चल्तीका थिए। कुमार दाइ भनेपछि सबैको लोकप्रिय मान्छे हुनुहुन्थ्यो। मेरो गीतहरू पनि केही गुनगुनाई हेर्नुभयो। तर, गाउने अवसर कहिल्यै जुरेन। 

रेडियो नेपालमा नारायण गोपालले मेरो एउटा गीत गाइदिनु भएको थियो। त्यो गीत रेकर्ड त भयो तर, मिक्सिङ भएको छैन। अहिले पनि त्यतिकै छ। रेडियो नेपालमा मेरा ६०/७० वटा गीत रेकर्ड भएका छन् भने बाहिर ४ सय वटा जति छन्। त्यसबेला घुमाएर रेकर्ड गर्ने हुन्थ्यो। त्यसलाई ग्रामाफोन भनिन्थ्यो। त्यसमा रेकर्ड भएका गीतहरू राखेर मिक्सिङलगायतका काम हुन्थ्यो। अहिलेको जस्तो आज रेकर्ड गरेर भोलि नै बजारमा आउँदैन थियो। 

केही दिनअघि मात्र पनि मेरो गीत रेडियो नेपालमा बज्यो, ‘नरोक प्रियसी म जाँदैछु टाढा’ भन्ने। कहिलेकाँही बज्छ। महिला झङ्कार भन्ने किताब निस्किन्थ्यो। त्यसमा कुन कलाकारको गीत कति बजे बज्छ भन्ने थाहा हुन्थ्यो। अहिले त थाहै हुँदैन, कसको गीत कति बेला बज्छ र जान्छ!

गुप्तचर अधिकृतमा जागिर खाँदा काला काम गर्नेको जागिर चैट
मैले २८ सालमा गुप्तचार अधिकृतमा जागिर खाएको हो। सिंहदरबारमा अफिस थियो। मेरो घर नजिकै, पर्खाल नाघेर फुत्तै पस्थेँ। अनि भित्र पसेर हाजिर गर्थें। अहिलेको जस्तो अग्लो पर्खाल पनि थिएन। 

त्यो जागिरका लागि केही गर्नु पर्दैन थियो। देशका लागि कसैले घाटा गर्यो भने, त्यसको रिपोर्ट गर्दा भइहाल्यो। भ्रष्टाचार विरोधी संस्था थियो। कतै पनि हामी भ्रष्टाचार गर्न दिँदैन थियौँ।

मान्छेहरूले भ्रष्टाचार गर्न पनि डराउँथे। किनभने भ्रष्टाचार गरेको रिपोर्ट दरबारमा पुगेपछि माफी हुँदैन थियो। आउट भनेपछि, आउट। नियम कडा थियो। मैले नै कति जनाको जागिर खाइदिएको छु। अहिलेको जस्तो सहज थिएन। अदालत लग्यो मुद्दा छिनेपछि फेरि जागिर खायो। 

राजाले आफ्नै कार्यालयका श्रीराम अधिकारी कि के भन्ने थिए। उनले ७ रूपैयाँ घुस खाएको भेटाएपछि निकालि दिएका थिए। ति मान्छे दरबारकै खोपीमा मान्छे हुन्। दरबारमा बस्दा बाहिरी मान्छेहरुसँग ७ रूपैयाँ घुस खाएछन्। उनले सामान खरिद गर्दा बिलमा बढि निकालेर घुस खाएको भन्ने कुरा छ। ७ रूपैयाँ घुस खाएको कुरा दरबारमा रिपोर्ट पुगेपछि त्यही दिनबाट जागिर चैट। अहिलेको जस्तो 'आफन्त हो छोड्दिउ' भन्ने थिएन। अहिले त मिलेमतोमा खान्छन्, छुट्छन्। 

म गुप्तचरमा हुँदा के थाहा छ भने, महेन्द्रले आफ्नै मामालाई कारबाही गरेका थिए। अदालतमा मुद्दा मामिला चलिरहेको थियो। उनको मामाले हारे। हारेपछि न्यायाधीशलाई दरबारमा बोलाइयो। राजाले अब गाली गर्ने भए भन्ने डरले ति न्यायाधीश थरथर, तर महेन्द्रलाई तिनलाई राम्रो काम गर्यो भनेर बक्सिस दिएका थिए। यस्ता घटना धेरै भए त्यो समयमा। 

त्यसबेला कैलालीमा धनगढी राजमार्ग बनिरहेको थियो। त्यहाँ धेरै भ्रष्टाचार छ भनेर मलाई त्यता खटाइयो। अनुसन्धान गर्दा भ्रष्टाचार भएको पाएँ। भ्रष्टाचार गरेका २/४ जनाको जागिर खोसिदिए। त्यतिबेलाका प्रतिबन्धित दल नेपाली कांग्रेसका मान्छेहरू कराउन आउँथे। हामी यस्तो उस्तो हो भन्थे। अनि त्यसको जवाफमा मैले 'पहिला माटो चिन्नुहोस्' भन्थेँ। म अलिक तीतो बोल्थेँ। 

त्यसपछि मेरो काम पर्सामा सर्यो। पर्सामा काला काम गर्नेहरू धेरै परे, मेरो कारबाहीमा। त्यहाँका सोझा-साझा थारूलगायतलाई भारतबाट आएका केही मान्छेहरूले ठग्ने गर्थे। कतिसम्म गर्थे भने, एउटा मामराज मारवाडी भन्ने थियो। उसले धानको भुसमा आगो लगाएर 'मेरो धान गोदाममा आगो लाग्यो' भनेर सरकारसँग पैसा खाँदो रहेछ। त्यो फेला पारेपछि मैले कारबाही गरें। मैले पर्सामा त्यस्ता काला काम गर्नेलाई कारबाही गरेको देखेर अञ्चलाधीश लक्ष बहादुर गुरुङले मलाई २ सय रूपैयाँ पुरस्कार समेत दिनुभएको थियो। 

त्यतिबेला कतै मोटर बाटो कतै हिँडेरै काम गर्नुपर्ने बाध्यता थियो। अहिलेको जस्तो सहज थिएन। भ्रष्टाचारको कुरा गर्ने हो भने, पहिलाको तुलनामा अहिलेजस्तो यतिधेरै भ्रष्टाचार थिएन। मेरो पहिलो तलब ५४० रूपैयाँ थियो। पछि ८४० भयो। बहुदल आएपछि मेरो तलब ३८ हजार भयो। मैले पछि अवकाश नलिई आफैं जागिर छाडेको हो। ५८ वर्षसम्म त जागिर खान पाइन्थ्यो तर, मैले बिचैमा छाडें।  

मंसिर २७, २०८१ बिहीबार १८:२९:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।