यातायात सचिवको उद्घाटन मोह, भासिएको सडक चार महिनापछि खोल्दा पनि रिबन काट्न पुगे
काठमाडौं : चार महिनाअघि भासिएको कमलादीको सडकमा बक्स कल्भर्ट निर्माण गरेर आजदेखि प्रयोगमा ल्याइएको छ।
पुननिर्माण गरिएको सडकमा आयोजित एक कार्यक्रमका बिच रिबन काटेर सडक खोलिएको हो। रिबन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशव कुमार शर्माले काटेका थिए।
२३ साउनमा काठमाडौं महानगरपालिका नगर कार्यपालिकाको कार्यालय नजिकै सडक भासिएपछि बन्द नै थियो।
४.४८ मिटर लामो र एउटा स्पान भएको बक्स कल्भर्ट निर्माण सम्पन्न भई उद्घाटन गरिएपछि आजैदेखि सडक सुचारु गरिएको हो।
यो सडकलाई अब एकतर्फी प्रयोगमा ल्याइएको छ। अबदेखि दरबार मार्ग महेन्द्र सालिकबाट सवारीहरू कमलपोखरीतिर मात्रै जान पाउने छन्।
योसँगै प्रज्ञा प्रतिष्ठानबाट कमलादी गणेशस्थान हुँदै घण्टाघर जाने सडक पनि एकतर्फी बनाइएको छ।
मंसिर २७, २०८१ बिहीबार १०:२०:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।