एनसेल फाउन्डेसनद्वारा एनपीएलका चौका वापत १५ सय शैक्षिक सामग्रीको वितरण गर्ने पक्का
काठमाडौं : एनसेल फाउन्डेसनले मंसिर २६ गतेसम्म खेलिएका नेपाल प्रिमियर लिग (एनपीएल)का खेलहरूमा हानिएका कुल ३७५ चौका बापत १५ सय वटा शैक्षिक सामग्री विद्यार्थीहरूलाई वितरण गर्ने पक्का भएको छ।
यी सामग्रीहरू दुर्गम र ग्रामिण भेगका सामुदायिक विद्यालयहरूमा अध्ययनरत विद्यार्थीहरुलाई वितरण गरिने फाउन्डेसनले जनाएको छ। गत बिहीबार क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग जोड्दै एनसेलले एनपीएलका प्रत्येक चौका बापत चारवटा शैक्षिक सामग्री प्रदान गर्ने घोषणा गरेको थियो।
बुधबारसम्म खेलिएका १९ वटा खेलहरूमा ७३ जना खेलाडीले कुल ३७५ वटा चौका हानेका छन्। लुम्बिनी लायन्सका क्याप्टेन रोहित कुमार पौडेलले सबैभन्दा बढी २४ वटा चौका हानेर ९६ वटा शैक्षिक सामग्रीको वितरण सुनिश्चित गरेका छन्।
जनकपुर बोल्टका लाहिरु मिलन्थाले अहिले सम्मको दोस्रो धेरै २२ चौकासहित ८८ शैक्षिक सामग्री र पोखरा एभेन्जर्सका आन्द्रियस गौसले १९ चौकाबाट ७६ शैक्षिक सामग्रीको वितरण पक्का गरेका छन्।
यस पहलले विद्यार्थीहरुको पठनपाठनमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राखेको छ। विद्यार्थीहरुले प्राप्त गर्ने प्रत्येक शैक्षिक सामग्रीमा स्कुल ब्याग, कापी, सिसाकलम, कटर, इरेजर लगायतका सामग्री समावेश हुनेछन्।
यी सामग्रीले स्रोतको अभाव घटाउन र विद्यार्थीहरूलाई पठनपाठनमा योगदान गर्ने एनसेलकी कर्पोरेट कम्युनिकेशन एन्ड सीएसआर हेड विशाखा लक्ष्मी खड्काको विश्वास छ।
‘१९ खेलसम्मका यात्रामा चौकाको योगदान गर्ने प्रत्येक खेलाडीलाई बधाई तथा धन्यवाद दिन चाहन्छौं र बाँकी खेलहरू अझै उत्साहजन हुने र थप चौकाहरू सहित अझै बढी शैक्षिक सामग्रीहरूको योगदान बढ्ने कुरामा हामी विश्वस्त छौँ’, उनले भनिन्।
एनसेल फाउन्डेसनले एनपीएलका खेलहरु सकिएपछि क्रिकेट एशोसिएसन नेपाल (क्यान), स्थानीय निकाय र सरोकारवालाहरूको समन्वयमा शैक्षिक सामग्रीहरूको वितरण गर्ने जनाएको छ। सामुदायिक विद्यालयका लक्षित विद्यार्थीहरूसम्म यी सामाग्रीहरु पुर्याउनका लागि एनसेलले कर्मयोग फाउन्डेसनसँग सहकार्य गरेको छ।
मंसिर २७, २०८१ बिहीबार ०९:४४:१४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।