जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, दुई जना घाइते

जाजरकोटमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु, दुई जना घाइते

जाजरकोट : जिल्लाको नलगाडमा जिप दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन्।

गए राति ११ बजे नलगाड नगरपालिका-४ कालिमाटीबाट वडा नम्बर ३ करुवा जाँदै गरेको ग३च ९८४५ नम्बरको जिप ३ नम्बर वडाकै बिराखोला कैना-कट्के सडकखण्डबाट करिब सात सय मिटर तल खसेको थियो।

जिपमा चालक सहित सवार सात जनालाई स्थानीय र प्रहरीले उद्धार गरी थप उपचारका लागि नगर अस्पताल दल्ली पुर्याए पनि सातमध्ये पाँच जनालाई डाक्टरले मृत घोषणा गरेका थिए।

मृत्यु हुनेमा नलगाड नगरपालिका-३ करुवा बस्ने अन्दाजी ३१ वर्षीय चालक इन्द्रजित थापा, सोही वडाकै अन्दाजी ६४ वर्षीया शिला पुन, अन्दाजी ३२ वर्षीया शारदा थापा, अन्दाजी १७ वर्षीया लक्ष्मी पुन रोका र उनको एक महिनाको छोरा आलोचन रोका रहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका डीएसपी पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी दिए।

घाइते दुईमध्ये २१ वर्षीय जीवन विकको अवस्था सामान्य रहेकोले सामान्य उपचार पश्चात उनलाइ डिस्चार्ज गरिएको र अर्का घाइते १९ वर्षीय जनक थापाको नगर अस्पताल दल्लीमा उपचार भइरहेको प्रहरीले बताएको छ।

दुर्घटनाको कारण खुल्न नसकेको र प्रहरी अनुसन्धानमै रहेको डीएसपी पाण्डेले बताए।

मंसिर २७, २०८१ बिहीबार ०७:२४:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।