उकेरा टप फाइभ : रविको अनुसन्धानमा पीडक राज्य र पूर्वाग्रही मिडियाको भूमिकादेखि मनास्लु लार्केला पदयात्राको अनुभूतिसम्म

उकेरा टप फाइभ : रविको अनुसन्धानमा पीडक राज्य र पूर्वाग्रही मिडियाको भूमिकादेखि मनास्लु लार्केला पदयात्राको अनुभूतिसम्म

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन्। भवन निर्माणमा दक्षिण कोरियाको युमहोङ गिलह्युमन  फाउन्डेसनको चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख लगानी गरेका छन्।

नेपाल प्रिमियर लिग एनपिएलमा जनकपुर बोल्ट्सको अपराजित यात्रामा ब्रेक लागेको छ। आज भएको सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा जनकपुर बोल्ट्स ७२ रनले पराजित भएको हो। एक सय २४ रनको लक्ष्य भेट्टाउने क्रममा १२.२ ओभरमा अलआउट हुँदै जनकपुर ५१ रनमा समेटियो। योसँगै सुदूरपश्चिम रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जनकपुर भने पहिलोबाट दोस्रो स्थानमा झरेको छ।

एनपिएलकै दोस्रो खेलमा लुम्बिनी लायन्स प्लेअफ दौडबाट बाहिरिएको छ। आज भएको ‘लो स्कोरिङ’ खेलमा काठमाण्डु गुर्खाजसँग १८ रनले हारेसँगै रोहित पौडेल कप्तान रहेको लुम्बिनी प्लेअफमा नपुग्ने निश्चित भएको हो। तथापि उसले अझै एक खेल खेल्न बाँकी छ। ६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ। 

सहकारी पीडित तथा सहकारी बचतकर्ताहरूले बचत रकम फिर्ता गर्न माग गर्दै राष्ट्रिय मानव अधिकार आयोगलाई ध्यानाकर्षण पत्र बुझाएको छ। राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तपवहादुर मगरसमक्ष बुझाएको ध्यानाकर्षण पत्रमा सरकारद्वारा बचतकर्ताको रकम फिर्ता गर्न ठोस कदम नचालेको उल्लेख छ। 

कैलाली जिल्लाका भएका तीन छुट्टाछुट्टै सडक दुर्घटनामा कमेडियन हिक्मत महरासहित तीन जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका सहायक प्रवक्ता दर्शन खड्काका अनुसार गोदावरी नगरपालिका–४ भीमदत्त राजमार्ग सडकखण्डमा म२प ९११७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालक कञ्चनपुर शुक्लाफाँटा नगरपालिकाका-११ का ३० वर्षीय महराको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ। उनीविरूद्ध विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दर्ता भएको श्रेस्तेदार रामु शर्माले जानकारी दिए। दर्ता भएको मुद्दामा ७ वर्ष कैद सजाय माग गरिएको छ। हिरासतमा रहेका प्रसाईंलाई संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ।

अमेरिकाले युक्रेनलाई २० अर्ब डलरको कोष दिएको छ। अमेरिकाले यो कोष रुसको जफत गरिएको सम्पत्तिबाट लिएको हो। यो आर्थिक सहायता ५० अर्ब डलरको प्याकेजको एक हिस्सा हो, जुन जी७ समूहका सदस्य राष्ट्रहरूले जुनमा घोषणा गरेका थिए। अमेरिकी ट्रेजरी सेक्रेटरी जेनेट येलेनले जफत गरिएको सम्पत्तिबाट आर्थिक सहायताको अर्थ ‘रूसले आफ्नो अवैध युद्धको मूल्य चुकाउनु पर्ने’ बताए।

दक्षिण कोरियाका पूर्व रक्षामन्त्रीले यस महिनाको मार्सल ल अपरेसनमा आफ्नो भूमिकाका लागि औपचारिक रूपमा गिरफ्तार हुनुभन्दा केही समयअघि आत्महत्या गर्ने प्रयास गरेको कारागारका एक वरिष्ठ अधिकारीले बताएका छन्। राष्ट्रपति युन सुक येओलले डिसेम्बर ३ मा मार्सल ल घोषणा गर्दै सैनिक र हेलिकोप्टरहरू संसद्मा पठाए। तर, संसद् सदस्यहरूले यसलाई अस्वीकार गरेपछि केही घन्टामा नै त्यो आदेश फिर्ता लिन बाध्य भए।

अब उकेरामा सोमबार प्रकाशित टप फाइभ समाचार

घुम्न जाने भने पछि मन त्यसै फुरुङ्ग! दशैंअघि नै यस पटक चैँ ट्रेक जाने भनेर मनस्थिति बनाइसकेको थिएँ। तर जाने निश्चित नभएसम्म अफिसमा छुट्टीको कुरा गर्ने मन भएन। जब जाने तिहार पछि जाने भनेर समय निश्चित गरियो, स्वास्थ्य अवस्था बिग्रिदियो। त्यसपछि के भयो? उकेराकर्मी मोनिका वाइबाले लेखेको ब्लग आज उकेरामा प्रस्तुत छ। 
पूरा समाचार: मनास्लु लार्के’ला पदयात्रा-१ : आङ सिरिंङ, मन फुरुङ्ग

आइतबार प्रहरीले गोरखा, बारपाककी सुचिना घलेको हत्या आरोपमा प्रहरीले बारपाक सुलिकोटकै ४२ वर्षीय मन शमजेर गुरूङलाई नियन्त्रणमा लिई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो। उनी बारपाककै एक निजी विद्यालयका शिक्षकसमेत हुन्। जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बासुदेव पाठकका घटनाको प्रारम्भिक अनुसन्धानबाट घाँस काट्न सुचिना अघिअघि र उनको पिछा गर्दै आरोपी गुरूङ जंगल गएको खुलेको छ।
पूरा समाचार: जबर्जस्ती गर्न थालेपछि सुचिना चिच्याउँछिन्, कसैले सुन्छन् र आफू फस्ने डरमा गुरूङले हत्या गरेर गाड्छन्

रवि पक्राउको मुल आधार उनी प्रबन्ध निर्देशक रहेको कम्पनीले सहकारीबाट अवैध रुपमा पैसा लग्नु हो भन्ने अब थप बहसको विषय रहेन। तर त्यही प्रतिवेदनमा अर्को मिडियामा पनि त्यसरी नै सहकारीबाट पैसा गएको त्यही संसदीय समितिको प्रतिवेदनमा हुँदा त्यो हामी मिडियाको समाचारको विषय बन्न सकेको छैन। यस सन्दर्भमा हामी मिडियाकर्मी पनि पूर्वाग्रही देखियौं। 
पूरा समाचार: सहकारी ठगी र रविको अनुसन्धान : पीडक राज्य, पूर्वाग्रही मिडिया

एनपिएलको फ्रेन्चाइजी टोली जनकपुर बोल्ट्सका कप्तान अनिल शाहले महान क्रिकेटर ब्रायन लारा आउँदा खेलाडीलाई फरक नपर्ने बताएका छन्। सुदूरपश्चिम रोयल्ससँग ७२ रनको हारपछि पत्रकारहरुमाझ आएका उनले लाराको आगमनले खेलाडीहरूको लागि खासै फरक नहुने बताए। हारेको झ्वाकमा उनले पत्रकारसँग प्रतिक्रिया दिएको देखियो। 
पूरा समाचार: ५१ रनमा अलआउट भएपछि जनकपुरका कप्तान भन्छन्- ब्रायन लारा आएर वा नआएर खेलाडीलाई फरक पर्दैन

दक्षिण कोरियाली प्रहरीले राष्ट्रपति युन सुक-योलको कार्यालय र त्यसलाई सुरक्षा दिने प्रहरी मुख्यालयमा बुधबार छापा मारेको छ। दक्षिण कोरियाको योनहाप समाचार संस्थाका अनुसार सियोल महानगरीय प्रहरी र राष्ट्रिय सभा प्रहरी गार्डको कार्यालयमा पनि छापा मारिएको छ। यो प्रहरी कारबाहीलाई राष्ट्रपति युन सुक-योलले मार्शल ल लागू गरेपछि भइरहेको अनुसन्धानको एक हिस्सा भएको बताइएको छ।
पूरा समाचार: दक्षिण कोरियाको राष्ट्रपति कार्यालयमा प्रहरीको छापा


 

मंसिर २६, २०८१ बुधबार २२:०९:३४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।