त्रिविका स्ववियु सभापति ओझाले भने- त्रिविको डिन र क्याम्पस प्रमुख मेरिटोक्रेसीका आधारमा नियुक्त हुनुपर्छ
काठमाडौं : त्रिभुवन विश्वविद्यालयका स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापति श्यामराज ओझाले डिन र क्याम्पस प्रमुख नियुक्ति मेरिटोक्रेसीका आधारमा हुनुपर्ने बताएका छन्।
एमाले निकटका विद्यार्थी संगठन अनेरास्ववियुदेखि एमाले महासचिव शंकर पोखरेलले त्रिविमा मेरिटको आधारमा डिन र क्याम्पस प्रमुख नियुक्त गर्न नहुने बताएकापछि स्ववियु सभापति श्यामराज ओझाले विज्ञप्ति निकालेर मोरिटको आधारमै डिन र प्रमुख नियुक्त गर्नुपर्ने माग गरे।
महासचिव पोखरेलले सामाजिक सञ्जालमा पोस्ट गर्दै ‘मेरिटोक्रेसीका नाममा भइरहेको भद्दा नाटक’ भनेका थिए। तर, सभापति ओझाले मेरिट मिच्ने कार्य भएमा संघर्ष गर्ने चेतावनी दिए।
ओझाले विज्ञप्तिमा भनेका छन्, ‘विश्वविद्यालयलाई अनिर्णयको बन्दी बनाउँदै मेरिट मिचेर अघि बढे त्यसको प्रतिवाद गर्ने र उक्त कार्य गर्ने तथा प्रेरित गराउनेका विरुद्ध आम युवा विद्यार्थी संघर्ष गर्ने कुराको चेतावनी समेत दिन चाहन्छौं।’
यता, स्ववियु सचिव सिद्धान्त भट्ट भने भीसी कार्यकक्ष अगाडि धर्नामा बसेका छन्। उनी एमालेबाट निर्वाचित हुन्।
यसैगरी नेपाल ल क्याम्पसका स्ववियु सभापति विष्णु ढुंगेलले पनि मेरिटकै आधारमा विश्वविद्यालयमा डिन र क्याम्पस प्रमुख नियुक्ति हुनुपर्ने माग राखेका छन्।
‘विगतका विश्वविद्यालय सभामा पनि मेरिटोक्रेसीको बारेमा पटक-पटक कुरा उठ्दा राजनीतिक दलले आफ्नो स्वार्थ नमिल्दा यसलाई विवादमा ल्याउने गरेका थिए,’ उनले विज्ञप्तिमा छन्, ‘विश्वविद्यालयको मेरिटोक्रेसीमा नियुक्त गरिने एउटा विधि बनाउन निवर्तमान उपकुलपतिले चालेको कदमलाई विभिन्न राजनीतिक दलका नेता र कार्यकर्ताले पूर्वाग्राही ढंगले विरोध गर्नु लज्जास्पद विषय हो।’
त्यस्तै, पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पनि उच्च शिक्षामा मेरिटोक्रेसी स्थापित गर्नका लागि आफ्नो कार्यकालमा धेरै संघर्ष गरेको भएपनि सरकारले आफ्नो कार्यकर्ता भर्ती गरेमा दलले नियुक्त गरेका व्यक्तिको जवाफदेहिता दलप्रति मात्र हुने र विद्यार्थीको हित प्राथमिकतामा नपर्ने बताएकी छिन्।
मंसिर २६, २०८१ बुधबार २०:३९:०४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।