दक्षिण कोरियाको सहयोगमा बन्यो प्रधानमन्त्री ओलीले पढेको विद्यालयको भवन, उद्घाटनमा ओली र कोरियाली राजदूत

दक्षिण कोरियाको सहयोगमा बन्यो प्रधानमन्त्री ओलीले पढेको विद्यालयको भवन, उद्घाटनमा ओली र कोरियाली राजदूत

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्रारम्भिक शिक्षा लिएको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गरेका छन्। 
    
तेह्रथुमको आठराई गाउँपालिका-४ इवामा रहेको उक्त विद्यालयमा निर्माण भएको १८ कोठे भवन आज प्रधानमन्त्री ओलीले उद्घाटन गरे। 

त्यसैक्रममा उनले विद्यालयका विद्यार्थी, शिक्षक, स्थानीयलगायतसँग अन्तरक्रियासमेत गरे। प्रधानमन्त्री ओलीले यस विद्यालयमा कक्षा ३ सम्म अध्ययन गरेको विद्यालयका प्रधानाध्यापक अमृतबहादुर बुढाथोकीले जानकारी दिए। 

दक्षिण कोरियाको युमहोङ गिलह्युमन फाउन्डेसनको सहयोगमा निर्मित उक्त भवनको हालै निर्माण सम्पन्न भएको हो। 

भवन निर्माणमा उक्त फाउन्डेसनको चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख लगानी गरेका छन्।

पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेका थिए। प्रधानमन्त्री ओलीकै आग्रहमा युमहोङ गिलह्युमन फाउन्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको हो। 

कार्यक्रममा नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युमहोङ गिलह्युमन फाउन्डेसनका पार्क यु सुन लगायतको उपस्थिति रहेको थियो।

मंसिर २६, २०८१ बुधबार २०:२२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।