श्रममन्त्री भण्डारी भन्छन्- रोजगार दिने भनेको निजी क्षेत्रले हो, सरकारले होइन
काठमाडौं : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सरकारले रोजगार दिने नभई रोजगारीको वातावरण मात्रै निर्माण गरिदिने बताएका छन्।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सरकारले रोजगारीको वातावरण बनाइदिने र रोजगारी निजी क्षेत्रले दिने बताए।
मन्त्री भण्डारीले भने, ‘सरकारले रोजगारी दिने होइन। सरकारले बाटो बनाइदिने हो। रोजगार दिने भनेको रोजगारदाताले हो, निजी क्षेत्रले हो। प्रत्येक ७ सय ५३ वटा पालिकामा रोजगार सेवा केन्द्र स्थापना गरेका छौं।’
उनले वैदेशिक रोजगार रोक्न नसक्ने अवस्थामा यसलाई मर्यादित र सुरक्षित गर्ने कुरामा पनि ठूलो समस्या देखा परेको बताए। अहिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र सरकार सही बाटोमा हिनेको पनि उनको भनाई छ।
उनले वैदेशिक रोजगारीको लागि महाशाखा, बोर्ड र विभाग भएपनि आन्तरिक रोजगारीको लागि केही व्यवस्था नभएको भन्दै आन्तरिक रोजगार महाशाखाको स्थापना गर्न लागेको बताए।
उनले भने, ‘विशेषगरि रोजगारीको क्षेत्रमा हेर्ने हो भने वैदेशिक रोजगार महाशाखा छ, वैदेशिक रोजगार विभाग छ, वैदेशिक रोजगार बोर्ड छ। तर आन्तरिक रोजगारको बारेमा कही केही छैन। त्यो कसले हेर्ने, त्यसकारण अहिले मन्त्रालयको संरचनाको बारेमा छलफल गर्दैछौं।’
मंसिर २६, २०८१ बुधबार २०:०२:३२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।