एनपिएलमा प्लेअफ दौडबाट बाहिरिएपछि लुम्बिनीका कप्तान रोहितले भने 'अन्तिम खेल जित्ने लक्ष्य छ'

एनपिएलमा प्लेअफ दौडबाट बाहिरिएपछि लुम्बिनीका कप्तान रोहितले भने 'अन्तिम खेल जित्ने लक्ष्य छ'

काठमाडौं : नेपाल प्रिमियर लिग एनपिएलको प्लेअफ दौडबाट बाहिरिएपछि लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले अन्तिम खेल जित्ने लक्ष्य रहेको बताएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको ‘लो स्कोरिङ’ खेलमा काठमाण्डु गुर्खाजसँग १८ रनले हारेसँगै लुम्बिनी प्लेअफमा नपुग्ने निश्चित भएको हो। 

काठमाण्डुले दिएको एक सय ४ रनको लक्ष्य पछ्याएको लुम्बिनी १९.२ ओभरमा अलआउट भएको हो। लुम्बिनीले सबै विकेट गुमाउँदै ८५ रन मात्रै बनायो। तथापि उसले अझै एक खेल खेल्न बाँकी छ। लिग चरणमा उसले कर्णाली याक्ससँग खेल्न बाँकी छ। 

खेलपछि पत्रकारसँगको कुराकानीमा कप्तान रोहितले ब्याटिङमा राम्रो हुन नभएको भन्दै सोचेजस्तो खेल्न नसकेको स्वीकारे। 

'आजको लक्ष्य भेट्टाउन सक्ने नै थियो। तर, ब्याटिङमा राम्रो हुन सकेन। सोचेजस्तो खेल्न सकेनौं। टिमको जुन क्षमता थियो, त्यसलाई सदुपयोग गर्न सकेनौं। प्रतियोगिता हाम्रा लागि राम्रो हुन सकेन। विकेटअनुसार खेल्न एकदमै आवश्यकता थियो। अबको अन्तिम खेलमा सबैलाई अवसर दिने योजना छ। अन्तिम खेल जित्ने लक्ष्य हुनेछ, रोहितले भने।

६ खेल खेलिसकेको लुम्बिनीले जम्मा १ खेल जित्दा ५ खेलमा हार व्यहोरेको छ। त्यस अनुसार लुम्बिनी तालिकाको छैटौं स्थानमा छ।  

मंसिर २६, २०८१ बुधबार १९:४२:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।