दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधको मुद्दा दर्ता, सात वर्षको कैद सजाय माग
काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर अपराधको मुद्दा दर्ता भएको छ।
उनीविरूद्ध विद्युतीय कारोबार ऐन-२०६३ अन्तर्गतको कसुरमा जिल्ला अदालत काठमाडौंमा बुधबार मुद्दा दर्ता भएको श्रेस्तेदार रामु शर्माले जानकारी दिए।
साइबर ब्युरोले बुझाएको अनुसन्धान प्रतिवेदनको आधारमा जिल्ला सरकारी वकिल कार्यालयले उनीविरूद्ध अभियोगपत्र दायर गरेको हो।
सरकारी वकिलको कार्यालयले उनीविरूद्ध विद्युतीय कारोबार ऐन-२०६३ को दफा ४७ को उपदफा (१) अन्तर्गतको कसुरमा सजाय हुन मागदाबी गरेको छ। दफा (४७)को (२) अनुसार उनलाई थप सजायका लागि मागदाबी गरिएको छ। दर्ता भएको मुद्दामा ७ वर्ष कैद सजाय माग गरिएको छ।
हिरासतमा रहेका प्रसाईंलाई संगठित अपराध मुद्दामा अनुसन्धान भइरहेको छ। लरेन्स बिश्नोईको नामबाट नेपाली व्यवसायीलाई धम्की दिएको आरोपमा पक्राउ परेका झापाका हरिचन्द्र फुयाँलसँग प्रसाईंको कनेक्सन देखिएपछि सीआईबीले सोमबारदेखि उनीमाथि संगठित अपराध मुद्दामा अनुसन्धान थालेको हो।
प्रसाईंलाई मंसिर ४ मा भक्तपुरस्थित उनको निवासबाट पक्राउ गरेर साइबर ब्यूरोलाई बुझाएको थियो। प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियामा ३२ अर्ब लगानी भन्ने आरोप लगाएपछि उनी पक्राउ परेका थिए।
मंसिर २६, २०८१ बुधबार १९:२४:१६ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।