जबर्जस्ती गर्न थालेपछि सुचिना चिच्याउँछिन्, कसैले सुन्छन् र आफू फस्ने डरमा गुरूङले हत्या गरेर गाड्छन्
काठमाडौं : घाँस काट्न जंगल जाँदा बेपत्ता भएकी गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर १ की सुचिना घलेको शव त्यहींको जंगलमा भेटियो। तीन दिनअघि जंगल गएकी १८ वर्षीय सुचिनाको शव यही मंसिर १८ मा भेटिएको थियो।
घाँस काट्न भन्दै स्थानीय स्युङमान पाखा जंगल गएकी सुचिना त्यस दिन घर फर्किएकी थिइनन्। अनि खोजीका लागि परिवारले बारपाक प्रहरी चौकीमा खबर गरे।
त्यसपछि बारपाक र इलाका प्रहरी कार्यालय जौवारीबाट प्रहरीहरू पनि खोजीमा गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी ईन्द्रप्रसाद सुवेदीले बताए। प्रहरीले सुचिनाको शव केही भाग गाडेको अवस्थामा भेट्यो।
डिएसपी सुवेदीका अनुसार युवतीको शव भेटिएको ठाउँनजिकै काटेका घाँसका स-साना मुठा फेला परेका थिए। साथै घटनास्थल नजिकै डोको, रगत र कपालसमेत फेला परेको थियो। शव उत्खनन् गर्दा सुचिनाको टाउकोमा धारिलो हतियारले काटेको चोट देखियो। दाँया हातको दुईवटा औंला काटिएका थिए।
युवतीको हत्या भएको अनुमानमा गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराबाट कुकुरसहित विशेषज्ञ टोली झिकाएर अनुसन्धान अघि बढाइयो। प्रहरीले अनुसन्धानका क्रममा घाँस काट्न जाने मानिस, उक्त जंगल वरपरका भेडीगोठालाहरूसँग आवश्यक सोधपुछ हुन थाल्यो। लगभग ५० बढी मान्छेहरूसँग सोधपुछ भएको प्रहरीले जनाएको छ।
आइतबार प्रहरीले सुचिनाको हत्या आरोपमा प्रहरीले बारपाक सुलिकोटकै ४२ वर्षीय मन शमजेर गुरूङलाई नियन्त्रणमा लिई पत्रकार सम्मेलन गरी सार्वजनिक गर्यो। उनी बारपाककै एक निजी विद्यालयका शिक्षकसमेत हुन्।
जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी बासुदेव पाठकका घटनाको प्रारम्भिक अनुसन्धानबाट घाँस काट्न सुचिना अघिअघि र उनको पिछा गर्दै आरोपी गुरूङ जंगल गएको खुलेको छ।
‘प्रारम्भिक अनुसन्धानमा खुलेअनुसार घाँस काट्न सुचिना घले अघिअघि गएको र उनको पछिपछि अभियुक्त गुरूङ गएको र जंगलमा एकै ठाउँमा पुगेको देखिन्छ,’ एसपी पाठकले भने, ‘त्यस बेला अभियुक्तको मनमा पाप पलाउँछ, उनले एकपटक प्रयास गर्छन्, जबर्जस्ती गर्छन्, अनुरोध गर्छन्। नमानेपछि जबर्जस्ती गर्न खोज्छन्। तर सुचिनाले कडा प्रतिवाद गर्छिन्, हतियार प्रहार गर्छिन्, अभियुक्तको हातमा चोट पनि देखिन्छ। त्यहाँ केहीबेर हानाहानको अवस्था रहन्छ।’
एसपी पाठकले अभियुक्तले बलात्कार प्रयास गरेको तर बलात्कार गरेको नदेखिएको सुनाए।
‘सुचिना चिच्याउँछिन्। धेरै पटक चिच्याएपछि कसैले सुन्छन् र आफू फस्छु भनेर अभियुक्तले घलेलाई लडाएर वरपर रहेका घाँस र गोबर मिसिएको माटो मुखमा कोचिदिन्छन्, शिथिल भएपछि अभियुक्तले शव व्यवस्थापन गरेको देखिन्छ,’ उनले भने।
मंसिर २६, २०८१ बुधबार १५:३२:४९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।