५१ रनमा अलआउट भएपछि जनकपुरका कप्तान भन्छन्- ब्रायन लारा आएर वा नआएर खेलाडीलाई फरक पर्दैन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी टोली जनकपुर बोल्ट्सका कप्तान अनिल शाहले महान क्रिकेटर ब्रायन लारा आउँदा खेलाडीलाई फरक नपर्ने बताएका छन्।
सुदूरपश्चिम रोयल्ससँग ७२ रनको हारपछि पत्रकारहरुमाझ आएका उनले लाराको आगमनले खेलाडीहरुको लागि खासै फरक नहुने बताएका हुन्।
‘मलाई थाहा छैन, हामी भेट्छौँ कि भेट्दैनौँ। ब्रायन लारा आउनुहुन्छ, टुर्नामेन्टको हाइप बढ्छ। तर, प्लेयरहरुमा केही परिवर्तन हुन्छ जस्तो मलाई लाग्दैन। हामी गएर खेल्नैपर्छ। उहाँ आएर वा नआएर खेलाडीलाई फरक पर्दैन।’
फरक प्रसङ्गमा उनले ५१ रनमा टोली अलआउट हुनुमा पिचलाई भन्दा पनि ब्याटरले जिम्मेवारी लिनुपर्ने बताए। सिधा बलमा पनि विकेट गइरहेको भन्दै उनले जसले आएपछि विकेट आइरहेको तर्क गरे।
‘विकेटले गर्दा आउट भएको छैन कोही पनि, सिधा बलहरूमा आउट भएका छन्। सर्ट सेलेक्सन राम्रो नहुँदा हामी ५१ रनमा आउट भयौँ,’ उनले थपे, ‘ब्याटरहरूले जिम्मेवारी लिएर खेल्न सक्नुपर्थ्यो, सकेनौँ। जसले फाल्दा पनि विकेट आइराथ्यो, त्यसले गर्दा हामीले टिममा थप एक जना ब्याटर लिएर खेलेका थियौँ।’
टोलीको टप अर्डर राम्रो चल्दा मिडल ओभरका खेलाडी त्यतिधेरै एक्सपोज नभएको भन्दै आगामी खेलमा भएका कमजोरीलाई सुधार्ने बताए।
‘आफ्नो प्रस्तुतिबाट सन्तुष्ट हुनुहुन्छ?’ भन्ने सञ्चारकर्मीको प्रश्नमा प्रतिप्रश्न गर्दै उनले सोधे, ‘मेरो पफर्मेन्सबाट तपाईं स्याटिसफाइ हुनुहुन्छ?, जिरोमा आउट भएर को स्याटिसफाइ हुन्छ?’
आजको खेलमा सात बलको सामना गरेका उनले एक रन पनि बनाउन सकेका थिएनन्।
मंसिर २६, २०८१ बुधबार १४:२०:१९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।