ब्रायन लारालाई भेट्न पाए क्रिकेट खेलेको सार्थक हुन्छ : इसान पाण्डे

ब्रायन लारालाई भेट्न पाए क्रिकेट खेलेको सार्थक हुन्छ : इसान पाण्डे

काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलको टिम सुदूरपश्चिम रोयल्सका अलराउन्डर इसान पाण्डेले ब्रायन लारालाई भेट्न पाए क्रिकेट खेलको सार्थक हुने बताएका छन्।

आजको खेलमा जनकपुर बोल्ट्समाथि ७२ रनको जित निकालेपछि प्लेयर अफ द म्याच बनेका उनले पत्रकारसँगको कुराकानीमा यस्तो बताएका हुन्।

‘ब्रायन लारा आउने खबर सुन्नेबित्तिकै एक्साइटेड थिएँ। आफूले बायाँ हातमा ब्याट समातेदेखि नै टिभीमा ब्रायन लारा र सौरभ गांगुलीलाई हेरिरहेको,’ उनले भने, ‘एकचोटी भेटर तीनदेखि पाँच मिनेट बोल्न पाए क्रिकेट खेलेको सार्थक हुन्छ जस्तो लाग्छ।’

फरक प्रसङ्गमा उनले पूरै १२ ओभरमा स्पिनर लगाउनुको पछाडिको प्लान विकेट लिने नै रहेको स्पष्ट पारे।

उनले भने, ‘एसियन कन्डिसनमा खेलिसकेको ब्याट्सम्यानबाहेक अरुलाई खेल्न सजिलो थिएन। जति ठूलो नाम भए पनि गाह्रो नै हुन्छ भन्ने थाहा थियो।’

आफूलाई प्रमाणित गर्न र अघिल्लो खेल हार्दा उठेका प्रश्नको जवाफको लागि पनि आजको खेल जित्न आवश्यक रहेको उनले बताए।

‘जनकपुर हामीभन्दा एक स्टेप माथि थियो, यो टिमलाई हराएसँगै अघिल्लो खेलमा हामीमाथि उठेका प्रश्नहरूको पनि उत्तर पाएको छ भन्ने लाग्छ’, उनले अगाडि भने।

ब्रायन लारा नेपाल प्रिमियर लिग हेर्नका लागि नेपाल आउँदैछन्।

मंसिर २६, २०८१ बुधबार १२:२९:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।