जनकपुरको अपराजित यात्रामा ब्रेक, ५१ रनमै अलआउट गरेपछि शीर्ष स्थानमा उक्लियो सुदूरपश्चिम
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सको अपराजित यात्रामा ब्रेक लागेको छ।
आज भएको सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा जनकपुर बोल्ट्स ७२ रनले पराजित भएको हो। एक सय २४ रनको लक्ष्य भेट्टाउने क्रममा १२.२ ओभरमा अलआउट हुँदै जनकपुर ५१ रनमा समेटियो।
उसका लागि जोस ट्रम्पले १३ रन बनाउनुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
बलिङतर्फ सुदूरपश्चिमका हरमीत सिंह, दीपेन्द्रसिंह ऐरी र इसान पाण्डेले दुई-दुई विकेट लिँदा स्कट कुगलेजिन, नरेन साउद र सैफ अली जैबले समान एक-एक विकेट लिए।
त्यसअघि नेपाल प्रिमियर लिग (एनपीएल)मा सुदूरपश्चिम रोयल्सले जनकपुर बोल्ट्सलाई एक सय २४ रनको लक्ष्य दिएको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङमा तानिएको सुदूरपश्चिमले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर एक सय २३ रन जोड्यो।
उसका लागि विनोद भण्डारीले सर्वाधिक ३३ रन बनाए। सैफ अली जैब २१, इसान पाण्डे १७ र ब्रान्डन म्याकमुलन ११ रन बनाउँदा बाँकी खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्।
जनकपुरका किशोर महतोले चार विकेट लिँदा शेर मल्ल र अरनिको यादवले समान दुई-दुई विकेट लिँदा हर्ष ठाकरले एक विकेट लिए।
योसँगै सुदूरपश्चिम रोयल्स अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। जनकपुर भने पहिलोबाट दोस्रो स्थानमा झरेको छ।
मंसिर २६, २०८१ बुधबार ११:४८:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।