इजरायलद्वारा सिरियाली नौसैनिक जहाजमाथि आक्रमण गरेको पुष्टि
एजेन्सी : इजरायलले सिरियाली नौसैनिक जहाजमा आक्रमण गरेको पुष्टि गरेको छ।
इजरायलले असद सरकारको बिदाइपछि सिरियाको सैन्य शक्तिलाई ‘बेअसर’ गर्नका लागि यस्ता हमला गरिरहेको बताएको छ।
इजरायली सेनाले एक विज्ञप्तिमा भनेको छ, ‘हाम्रो सैन्य जहाजहरूले सोमबार राति अल-बायदा र लाटाकिया बन्दरगाहहरूमा आक्रमण गरेका छन्, जहाँ १५ जहाजहरू डक गरिएका थिए।’
लताकिया बन्दरगाहमा भएको विस्फोटको भिडियोमा जहाज र बन्दरगाहका केही भागमा ठूलो क्षति पुगेको देखिएको छ। इजरायली सेनाले आफ्नो लडाकु विमानले सिरियामा ३५० भन्दा बढी लक्ष्यमा आक्रमण गरेको बताएको छ।
यसअघि बेलायतस्थित सिरियन अब्जर्भेटरी फर ह्युमन राइट्स (एसओएचआर)ले विद्रोहीहरूले असद सरकारलाई सत्ताबाट हटाएदेखि इजरायलले सिरियामा ३१० भन्दा बढी हवाई आक्रमण गरेको बताएको थियो।
इजरायली रक्षा मन्त्री इजरायल काट्जले भनेका छन्, ‘आईडीएफको लक्ष्य इजरायललाई खतरामा पार्ने रणनीतिक क्षमताहरूलाई हटाउनु थियो।’
गत हप्ता तत्कालीन सिरियाली राष्ट्रपति बसर अल-असद सिरियाबाट भागेर रसिया गएपछि विद्रोहीहरूले राजधानी दमास्कस कब्जा गरेका थिए।
मंसिर २६, २०८१ बुधबार ०७:३९:०२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।