उकेरा टप फाइभ : बैतडी र दार्चुला अस्पतालले मेसिन किन्न सप्लायर्ससँग गरेको मिलेमतोदेखि प्रचण्ड रविको पक्षमा उत्रिनुको रहस्यसम्म
काठमाडौं : अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाल–चीनबिच भएको बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पारदर्शिताबारे प्रश्न उठाए लगत्तै सरकारले पूर्णपाठ सार्वजनिक गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चिन भ्रमणको बेलामा बेइजिङमा भएको सहकार्यको फ्रेमवर्क परराष्ट्र मन्त्रालयले मङ्गलबार अपराह्न आफ्नो वेबसाइटमा राखेको हो।
संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनअन्तर्गत सिरियामा खटिएका सबै नेपाली सेनाको अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। नेपाली सेनाले आज प्रेस विज्ञप्ति जारी गर्दै सिरियामा तैनाथ नेपाली शान्ति सैनिक सुरक्षित रहेको जानकारी दिएको हो। इस्लामी विद्रोही समूह हयात तहरीर अल शाम (एचटीएस) ले सिरियामा कब्जा गरिसकेको छ।
नेपाल प्रिमियर लिग एनपीएल अन्तर्गत पहिलो खेलमा लुम्बिनी लायन्सले पहिलो जित निकालेको छ। एक सय ६८ रनको लक्ष्य पछ्याएको चितवन राइनोजलाई आठ विकेट लिएर एक सय ३४ रनमा समेट्दै लुम्बिनीले ३३ रनको जित निकालेको हो। पाँचौं खेल खेल्दा लुम्बिनीले पहिलो जित दर्ता गरेको हो। यसअघिका चारै खेलमा लुम्बिनी पराजित भएको थियो। चितवन भने पाँच खेलमध्ये तीनमा जित र दुईमा हार व्यहोरेको छ।
एनपिएलकै दोस्रो खेलमा पोखरा एभेन्जर्ससँग खेलमा कर्णाली याक्सले जित हासिल गरेको छ। मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको कर्णाली याक्सले जित निकालेको हो। ५ खेलमा ३ खेल जितेको कर्णाली ६ अंक जोडेर चौथो स्थानमै छ। कर्णालीले यस जितपछि प्लेअफ पुग्ने सम्भावना बलियो बनाएको छ।
बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै आठ जनाको ज्यान जाने गरी भएको दुर्घटना चालक निदाएकाले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ। रौतहटको लमाहामा गए राति जीप अनियन्त्रित भई रूखमा ठोकिएको थियो। त्यसक्रममा आठ जनाको ज्यान गएको थियो भने पाँच जना घाइते भएका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिए।
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा सिन्को पनि नभाँचेको बताएका छन्। चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधनमा प्रचण्डले आफूले अघिल्लोपटक गरेका कामलाई मान्यता दिएको तर, ओली आफैंले सिन्को पनि नभाँचेको दाबी गरे। प्रचण्डले प्रधानमन्त्री ओलीलाई देख्दा दया पनि लाग्ने गरेको भन्दै व्यंगसमेत गरे।
अब उकेरामा सोमबार प्रकाशित टप फाइभ समाचार
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप पौडेलले खरिद विवादमा बदनाम राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख डा. रुद्रप्रसाद मरासिनी र स्वास्थ्य सेवा विभाग अन्तर्गत व्यवस्थापन महाशाखाको आपूर्ति व्यवस्थापन शाखा (खरिद इकाई)का प्रमुख डा. सुरेन्द्र चौरासियालाई हटाएका छन्। सोमबार मन्त्री पौडेलले डा. मरासिनीलाई हटाउँदै ट्रमा सेन्टरको प्रमुखको जिम्मेवारी डा. बद्री रिजाललाई दिएका छन्। डा. रिजाल दोस्रो पटक ट्रमा सेन्टरको प्रमुख बनेका हुन्। डा. मरासिनीलाई निर्देशकबाट मात्रै हटाएर ट्रमामा नै कार्यस्थल तोकिएको छ।
पूरा समाचार: खरिदमा बदनाम डा. मरासिनी र चौरासियालाई मन्त्री पौडेलले हटाए
भूकम्पबाट क्षतिग्रस्त भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पुरानो भवन प्रबलिकरण सम्झौता अनुसार पुस २ मा सञ्चालनमा आउनु पर्ने हो। तर मंसिर अन्तिम साता सकिन लाग्दा समेत प्रबलीकरणको ७० प्रतिशत मात्रै काम सकिएको छ। २०७२ को भूकम्पले क्याम्पसको पुरानो भवन क्षतविक्षत बनायो। तर पुनर्निर्माण या प्रबलीकरण के गर्ने सरकारले चासै दिएन।
पूरा समाचार: त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण सकिएन, भवन तयार हुन अझै एक वर्ष लाग्ने
जिल्ला अस्पताल बैतडी र दार्चुलाले ‘सी-आर्म’ मेसिन किन्न खरिद प्रक्रिया अगाडि बढाउँदै सार्वजनिक गरेको टेन्डरमा सप्लायर्स कम्पनीसँग मिलेमतो देखिएको छ। टेन्डरको स्पेशिफिकेशनमा एकै कम्पनीको उत्पादन मेसिनको मापदण्डसँग मिल्नेगरी क्याटलगका प्रावधानहरू जस्ताको त्यस्तै कपी गरेर राखिएको भेटियो। उकेराको खोजमा यी दुवै अस्पतालको स्पेशिफिकेशन एकै बायोमेडिकल इन्जिनियरले बनाएको खुल्यो।
पूरा समाचार: बैतडी र दार्चुला अस्पतालले किन्न लागेको ‘सी-आर्म’ टेन्डरको स्पेशिफिकेशनमा ‘स्क्यान रे’ कम्पनीको क्याटलग हुबहु
नेपाल र चीनबीच भएको बेल्ट एन्ड रोड सहकार्य फ्रेमवर्कमा बेल्ट एन्ड रोड पहलका लागि उच्च गुणस्तरीय वित्तीय सेवाहरू प्रदान गर्ने उल्लेख गरिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणकोक्रममा बीआरआइको विषयमा हस्ताक्षर गर्ने कि नगर्ने भन्ने विवादकैबीचमा फ्रेमवर्कमा सहमति भएको थियो। सो सहमति ऋणका आधारमा हुने हो या अनुदानका आधारमा भन्ने विवादमा चिन भ्रमणमा रहेकाहरूबाट भिन्न भिन्न धारणा सार्वजनिक भएपछि सरकारले मङ्गलवार फ्रेमवर्कको पूर्णपाठ नै सार्वजनिक गरेको छ।
पूरा समाचार: यस्तो छ नेपाल-चीन बीआरआइ फ्रेमवर्क : सम्झौताको अवधि छ वर्ष, जलविद्युतदेखि रेल र सडकमार्गसम्म प्राथमिकतामा
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको अनि कांग्रेस-एमालेलाई त्यसको मूल्य चर्को पर्ने भनेर चेतावनी दिए। ‘जसरी आतंकित पार्ने हिसाबले मध्यरातमा प्रहरीबाट ज्यादतीबाट भयो भन्ने पनि सुन्छु म,’ उनले भने, ‘नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राखेकै हो। तर, त्यतिबेला अहिले म होइन प्रचण्ड नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मान्छे हो रवि लामिछाने।’ अर्थात् प्रचण्डको यो अब अभिव्यक्तिले उनी रविको त्यसबेलाको गुन अहिले तिरिरहेका छन् भन्ने देखाउँछ। त्यसैकारण पनि प्रचण्ड रविको समर्थनमा आवाज उठाएर गुन तिर्न जोडतोडका साथ लागिरहेका छन्।
पूरा समाचार: त्योबेला रविले प्रचण्डलाई सत्तादेखि प्रतिपक्षको बेञ्चसम्मै साथ दिए, बल्ल त्यो गुन तिर्न थाले प्रचण्ड
मंसिर २५, २०८१ मंगलबार २२:०४:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।