त्योबेला रविले प्रचण्डलाई सत्तादेखि प्रतिपक्षको बेञ्चसम्मै साथ दिए, बल्ल त्यो गुन तिर्न थाले प्रचण्ड

त्योबेला रविले  प्रचण्डलाई सत्तादेखि प्रतिपक्षको बेञ्चसम्मै साथ दिए, बल्ल त्यो गुन तिर्न थाले प्रचण्ड

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई चितवनबाट पोखरा लैजाँदा प्रशासनले ज्यादती गरेको अनि कांग्रेस-एमालेलाई त्यसको मूल्य चर्को पर्ने भनेर चेतावनी दिए।

मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा प्रचण्डले रविको समर्थनमा सत्तारुढ दलहरू नेपाली कांग्रेस र प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको एमालेलाई धम्कीको भाषामा चेतावनी दिए। 

‘कांग्रेस र एमालेका नेताहरूले प्रधानमन्त्री भइदिनुस् भनेर रवि लामिछानेलाई भनेको र सुनेको मैले आफ्नै आँखाले देखेको छु,’ प्रचण्डले भने, ‘अहिले उहाँलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाँदा जसरी आतंकित पार्ने काम भएको छ, यसको मूल्य एमाले र कांग्रेसलाई धेरै चर्को पर्नेछ।’

कांग्रेस उपसभापति धनराज गुरुङ र एमाले नेता ॠशिकेश पोखरेलतिर लक्षित गर्दै प्रचण्डले कांग्रेस र एमालेका ठूला नेताहरु नै सहकारी ठगको रुपमा देखा परिसकेको बताए।

उनले भने, ‘उनीहरुले जालझेल गरेर सहकारी ठगी गरेपछि श्रीमतीलाई डिभोर्स दिइसकेको भन्दै सँगै बसेका कुराहरू हामीले देखिरहेका छौं। तिनै नाटकबाजहरुलाई नै बचाउन यो सरकार लागिपरेको छ।’

प्रचण्डले अमानवीय र निरंकुश कामबाट सत्तापक्षकै नेताहरूले पनि विरोध जनाउन थालेको बताए। 

‘जसरी आतंकित पार्ने हिसाबले मध्यरातमा प्रहरीबाट ज्यादतीबाट भयो भन्ने पनि सुन्छु म,’ उनले भने, ‘नेपाली कांग्रेसले प्रधानमन्त्रीको प्रस्ताव राखेकै हो। तर, त्यतिबेला अहिले म होइन प्रचण्ड नै प्रधानमन्त्री बनाउनुपर्छ भन्ने मान्छे हो रवि लामिछाने।’ 

अर्थात् प्रचण्डको यो अब अभिव्यक्तिले उनी रविको त्यसबेलाको गुन अहिले तिरिरहेका छन् भन्ने देखाउँछ। त्यसैकारण पनि प्रचण्ड रविको समर्थनमा आवाज उठाएर गुन तिर्न जोडतोडका साथ लागिरहेका छन्। 

उनले भनेजस्तै त्यसबेला एमाले-माओवादी गठबन्धनबाट रवि उपप्रधान तथा गृहमन्त्री थिए अनि प्रधानमन्त्री प्रचण्ड। प्रचण्डले भर्खरै कांग्रेसको साथ छोडेर एमालेसँग मिलेर सरकार बनाएका थिए। जतिबेला २१ सिटको चौथो ठूलो दलका रूपमा रास्वपाको साथ प्रधानमन्त्री प्रचण्डलाई अनिवार्य नै थियो। नभन्दै रविले प्रचण्डको साथ दिए र फेरिपनि प्रधानमन्त्री बनाउन भूमिका खेले। 

प्रचण्डले करिब १८ महिला सरकारको नेतृत्व गर्दा रास्वपा दुई पटक सहभागी भयो। दुवैपटक प्रचण्ड-रविको ट्युनिङ मिलेको देखियो। प्रचण्डले अन्तिमपटक विश्वासको मत लिंदा रविले प्रचण्डको खुलेर तारिफ गरेका थिए भने प्रचण्डले पनि तारिफमा लामै समय खर्चिए। 

समयक्रमसँगै प्रतिपक्षमा रहेको कांग्रेसले रविलाई सहकारी ठगको आरोप लगाएर पटक-पटक संसद् अवरोध गर्यो। उसले संसदीय छानबिन समिति बनाएर रविमाथि छानबिन गर्नुपर्ने माग राख्यो। एमालेका अध्यक्ष ओलीले सहमति नदिँदा संसदीय छानबिन समिति बन्ने सकेन। जबकि तत्कालीन प्रधानमन्त्री प्रचण्ड र रवि स्वयं पनि छानबिन समितिका लागि तयार थिए। 

तर, कांग्रेसले आफ्नो अडान छाडेन। अनि ओली गलायो। र, लामो समयको रस्साकसीपछि छानबिन समिति बन्यो। 

यसैबीच माओवादी अध्यक्ष प्रचण्डलाई सत्ताच्युत गरेर कांग्रेस-एमाले मिले। ओलीले प्रचण्डको साथ छोडेर कांग्रेसको समर्थनमा प्रधानमन्त्री बने। त्यसबेला प्रचण्डको साथ ओलीले मात्र हैन, नागरिक उन्मुक्ति पार्टी, जसपा, जनमत पार्टीलगायतका अन्य साना दलले पनि छाडेका थिए। तर, रास्वपाले भने सत्तामा पनि सत्ता बाहिर पनि प्रचण्डको साथ छाडेन। त्यसैकारण पनि रास्वपालाई 'दोस्रो माओवादी' समेत भनेर व्यंग्य गरियो। 

कांग्रेस-एमाले गठबन्धन बनेपछि माओवादी-रास्वपा प्रतिपक्षको बेन्चमा थन्किए। यहीबीचमा सहकारी ठगी सम्बन्धी संसदीय विशेष छानबिन समितिको म्याद सकियो। एमाले सांसद सूर्य थापाको संयोजकत्वमा बनेको त्यस समितिले रवि गोर्खा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक हुँदा सहकारीबाट गैरकानूनी रूपमा आएको रकम अपचलन भएको भन्दै कारबाहीको लागि सिफारिस गर्यो। समितिले सार्वजनिक गरेको प्रतिवेदनमा रविसहित जीबी राई, छविलाल जोशी, कुमार रम्तेललगायतलाई कारबाही सिफारिस गरिएको छ। 

समितिले संसद्लाई त्यस प्रतिवेदन बुझाएपछि सरकारले थप कानूनी प्रक्रिया अघि बढाउने क्रममा गत कात्तिक २ मा रवि पक्राउ परे। उनलाई त्यही रात स्थलमार्ग हुँदै पोखरा लगियो। अहिलेसम्म पनि उनी कास्की प्रहरीको हिरासतमा छन्। यसबीचमा उनले रूपन्देही, काठमाण्डौं, चितवन, पर्सामा गएर बयान दिइसकेका छन्। 

रवि पक्राउ पर्नासाथ रास्वपाले देशैभर विरोध प्रदर्शनका कार्यक्रमहरू गर्यो। उसले रविमाथि राज्यले प्रतिशोध साँधेको आरोप लगाइरहेको छ।  तर, रवि पक्राउ परेको लामो समयसम्म प्रचण्ड बोलेनन्। सिंगो माओवादी नै मौन देखियो। सत्तादेखि विपक्षसम्म रविले साथ दिएका प्रचण्ड मौन हुनु अर्थपूर्ण थियो। 

यसैबीच गएको बिहीबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अनुसन्धानका लागि रविलाई जिल्ला प्रहरी कार्यालय चितवनबाट रातारात पोखरा पुर्याइएको थियो। 

सहकारी ठगीमा संलग्न रहेको आरोपमा काठमाडौँमा पक्राउ परेका रविलाई प्रारम्भमा पोखरा लगिएकोमा त्यसपछि विभिन्न जिल्लामा बयानमा लागि प्रहरीले लगिरहेको छ। बुटवलको सुप्रिम सहकारी, काठमाडौँको सुर्यदर्शनपछि चितवनको सहारा सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा प्रहरीले बयानका लागि चितवन लगेको थियो।

रविलाई बयानका लागि जहाँ लग्यो त्यही जिल्लामा राष्ट्रिय स्वतन्त्र पार्टीका समर्थक र कार्यकर्ताहरूले विरोध प्रदर्शन गर्ने गरेका छन्। अन्यत्रको तुलनामा चितवनमा प्रदर्शन उग्र भएपछि प्रहरीले बयान सकिएपछि चितवनै नराखी रातारात पोखरा ल्याएको थियो।

रास्वपाले यस घटनालाई मानव अधिकारको उलङ्घन र अमानवीय व्यवहारको आरोप लगाउँदै आएको छ। रास्वपाले नै हिरासतमा प्रहरीबाट अमानवीय व्यवहार गरेको दाबीसहित मानव अधिकार आयोगमा उजुरी दिएपछि आयोगले अनुसन्धान सुरू गरेको थियो। यो विषयले यतिबेला प्रहरी र सरकारको आलोचना भइरहेपछि बल्ल प्रचण्ड पनि रविको पक्षमा खुलेर बोल्न थालेका हुन्। 

सोमबार सामाजिक सञ्जालमार्फत प्रचण्डले अदालतबाट दोषी ठहर नभएका र अत्यधिक जनमतद्वारा निर्वाचित लामिछानेमाथि सरकारले अमानवीय व्यवहार गरेको भन्दै निन्दा गरे। 

उनले भनेका छन्, 'अदालतबाट दोषी ठहर नभएका, अत्यधिक जनमतद्वारा निर्वाचित रास्वपा सभापति रवि लामिछानेमाथि सरकारले जुन निरङ्कुश, अलोकतान्त्रिक, अमानवीय र प्रतिशोधपूर्ण व्यवहार गरिरहेको छ त्यसको निन्दा गर्दछु र त्यस प्रकारको व्यवहार रोक्न गम्भीर आग्रह गर्दछु।' 

त्यसअघि नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई रातारात चितवनबाट पोखरा लगेकोप्रति आपत्ति जनाएका थिए। हाम्रोजस्तो लोकतान्त्रिक देशमा कसैलाई पनि रविलाई जस्तो अमानवीय व्यबहार गर्न नहुने उनको तर्क छ। 

उनले भनेका छन्, ‘रविजीको विषयमा अदालतले आफ्नो प्रक्रिया अघि बढाइरहेको छ। त्यसमा मेरो केही भन्नु छैन, तर राति १२ बजे उठाएर लैजाने भन्ने कुरा चाहिँ अमानवीय काम हो। यो रविजीको मात्रै कुरा होइन, कसैलाई पनि गर्न हुँदैन। यो त हाम्रो लोकतान्त्रिक देश हो। त्यो विल्कुल गलत हो।’  

मंसिर २५, २०८१ मंगलबार २०:१४:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।