प्रचण्डकी नातिनी स्मिताको बिहे चर्चा : संजय दत्तदेखि भारतीय प्रधानमन्त्री मोदीसम्मको बधाई

प्रचण्डकी नातिनी स्मिताको बिहे चर्चा : संजय दत्तदेखि भारतीय प्रधानमन्त्री मोदीसम्मको बधाई

काठमाडौं : यही मंसिर २१ मा लगनगाँठो कसेकी गायिका स्मिता दाहालको विवाहको चर्चा छ यतिबेला। उनको विवाहको चर्चा यसकारण पनि भएको छ, स्मिता माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनीसमेत हुन्। स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग काठमाडौंको नर्लिङ रिसोर्टमा लगनगाँठो कसेकी थिइन्। 

त्यस समारोहमा प्रचण्डका साथै प्रधानमन्त्री केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, परराष्ट्रमन्त्री डा आरजु राना देउवा, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, कलाकारहरू हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, केदार घिमिरे ‘माग्ने बूढा’, जितु नेपाल, सन्दीप क्षेत्री, संगीतकार चेतन सापकोटा लगायतले उपस्थित भएर स्मितालाई बधाई दिए।

त्यतिमात्र हैन, स्मिताको विवाहमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलेसमेत शुभकामना सन्देश पठाए। 

आमा गंगा दाहालले फेसबुकमार्फत सार्वजनिक गरेको त्यस शुभकामना सन्देशमा प्रधानमन्त्री मोदीले स्मिता र सायुज्यलाई जीवनभरको विश्वास र एकताको यात्रा सुरु गरेकोमा हार्दिक बधाई दिएका छन्।

गंगा दाहाललाई सम्बोधन गर्दै गत डिसेम्बर २ मा पठाइएको पत्रमा भनिएको छ, ‘उहाँहरूको दाम्पत्य जीवनको हार्दिक शुभकामना व्यक्त गर्दछु। ६ डिसेम्बर २०२४ मा हुने विवाह समारोहका लागि निमन्त्रणाका लागि तपाईँ र परिवारको लागि म हृदयदेखि आभारी छु। कृपया श्री पुष्पकमल दाहालजीलाई पनि हार्दिक बधाई तथा शुभकामनाको सन्देश सुनाइदिनु होला।’

त्यससँगै बलिउड स्टार संजय दत्तले पनि स्मितालाई वैवाहिक जीवनको शुभकामना दिए। 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुभकामना सन्देश दिएको एक दिनपछि अभिनेता दत्तले एक भिडियो सन्देशमार्फत स्मितालाई बधाई दिएका हुन्। 

गंगा दाहालले सामाजिक संजालमार्फत सार्वजनिक गरेको त्यस भिडियोमा अभिनेता दत्तले नवविवाहित जोडीलाई बधाई दिन चाँडै नेपाल आउने बताएका छन्।

भिडियोमा दत्तले भनेका छन् :
...केही प्राविधिक समस्याको कारण आज म तपाईंहरूमाझ आउन सकिन। तर, मेरी भान्जी स्मिता र सायुज्यलाई उनीहरूको वैवाहिक जीवनको लागि शुभकामना। म मेरी बहिनी गंगा र उनको परिवारलाई मेरो तर्फबाट धेरै धेरै आशीर्वाद। तपाईंहरू सबैसँग चाँडै भेट्नेछु। मेरो तर्फबाट धेरै धेरै शुभकामना। गंगा बहिनी चाँडै आएर भेट्नेछु र यी बच्चाहरूलाई आफ्नो आशीर्वाद दिनेछु।  

मंसिर २५, २०८१ मंगलबार १८:४७:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।