सरकारले रविमाथिको ज्यादती नरोके संसदको विशेष अधिवेशन बोलाएर विरोध गर्ने प्रचण्डको चेतावनी
चितवन : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन्।
चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधनमा प्रचण्डले सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको भन्दै यसलाई नरोके संसदको विशेष अधिवेशन बोलाउने र लाखौं जनता सडकमा ल्याएर सदन र सडकबाट आन्दोलन अघि बढाउने बताए।
राम्रो बन्दै गरेको विद्युत प्राधिकरण, मेरिटोक्रेसीमार्फत सुधारको बाटोमा अघि बढेको त्रिभुवन विश्वविद्यालय आदिमा प्रहार गरेर सरकारले अराजकता निम्त्याउन खोजेको उल्लेख गर्दै उनले यस्ता हर्कत स्वीकार्य नहुने बताए।
आफूले प्रधानमन्त्री हुँदा रुग्न उद्योगहरू सन्चालनको तयारी गरेको उल्लेख गर्दै उनले अहिलेको सरकारले सार्वजनिक उद्योग बिक्री गर्न खोजेको र यो पनि जनताका लागि स्वीकार्य नहुने बताए।
अध्यक्ष प्रचण्डले देशभरका हजारौं सहकारीको पैसा अपचलन गर्नेमा कांग्रेस एमालेकै नेताहरूको बाहुल्यता भए पनि उनीहरुलाई बचाउन केन्द्रित रहेको बताए।
उनले भने, ‘तपाईं हामी सबैलाई चासो हुनेलाई थाहा छ अहिले सरकारको नेतृत्व गर्ने दलका नेताहरु नै ठूला सहकारी ठग छन्। तिनै नाटकबाजहरुकलाई बचाउन सरकार केन्द्रित छ। उनीहरुलाई बचाउनकै लागि रवि लामिछानेलाई सहकारीको सबै पैसा खाएको हो जसरी प्रस्तुत गरिएको छ।’
प्रचण्डले आफू प्रधानमन्त्री हुँदा रवि लामिछानेबारे बुझ्दा सहकारी प्रकरणमा केही छैन भन्ने सबै सरकारी निकायबाट सूचना आएपछि सदनमा पनि बोलेको बताए।
उनले भने, ‘देशको चौथो पार्टीको नेता भागेर विदेश जाने स्थिति छैन। मैले सरकार र सरकारवादी नेताहरूलाई भनेको छु, किन हिरासतमा राख्नुपर्यो? छाडेर जेजे अनुसन्धान गरे पनि भइहाल्यो नि! रविजीले अदालतलाई सघाउँछु भनिराख्नुभएकै छ। रवि लामिछानेसँग कांग्रेस र एमाले किन तर्सिनपर्यो। सरकारले यो विषयमा ज्यादती गर्दा भने संसदको विशेष अधिवेशन बोलाएर हामी त्यहाँबाट पनि विरोध जनाउँछौं।’
उनले आफूले सरकारको नेतृत्व गर्दा दुई छिमेकीलाई सन्तुलनमा राखेर अघि बढेको स्मरण गर्दै भारत भ्रमणमा बेला गरिएका सीमा समस्या समाधान, विद्युत व्यापार सम्झौता, कृषि मलको सहज आपूर्ति तथा चीन भ्रमणका गरिएको नाका खोल्ने सहमति, दोस्रो कार्यकालमा गरिएको बिआरआईमा सैद्धान्तिक सम्झौता महत्त्वपूर्ण रहेको बताए।
यसपटक चीन भ्रमणको बेला अहिलेका प्रधानमन्त्रीले पुरानै गरेका सहमतिलाई आफ्नो भनेर प्रचार गरेको बताए।
मंसिर २५, २०८१ मंगलबार १६:४८:५२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।