त्रिचन्द्र क्याम्पसको पुनर्निर्माण सकिएन, भवन तयार हुन अझै एक वर्ष लाग्ने
काठमाडौँ : भूकम्पबाट क्षतिग्रस्त भएको त्रिचन्द्र बहुमुखी क्याम्पसको पुरानो भवन प्रबलिकरण सम्झौता अनुसार पुस २ मा सञ्चालनमा आउनु पर्ने हो। तर मंसिर अन्तिम साता सकिन लाग्दा समेत प्रबलीकरणको ७० प्रतिशत मात्रै काम सकिएको छ।
२०७२ को भूकम्पले क्याम्पसको पुरानो भवन क्षतविक्षत बनायो। तर पुनर्निर्माण या प्रबलीकरण के गर्ने सरकारले चासै दिएन। क्याम्पसका पूर्व विद्यार्थीको दबाब समूह नै बनाएर सरकारलाई त्रिचन्द्रको इतिहासको संरक्षण गर्न दबाब दिएपछि बल्ल २०७९ मा ३८ करोड ४० लाखमा भवन प्रबलीकरणको काम सुरु भयो।
न्यु टेक्निकल इन्फा प्राइभेट लिमिटेडले भवन प्रबलीकरणको जिम्मा पाएको थियो। सम्झौता अनुसार पुस २ मा प्रबलीकरणको सबै काम सकिनु पर्ने हो। तर सकिएको छैन। अबको आठदेखि नौ महिनाभित्र भवन पुनर्निर्माण सम्पन्न हुने गरी काम गरिरहेको इन्जिनियर सुशील थापाले बताए। उनका अनुसार अहिले क्याम्पसको प्रबलीकरणको काम ७० प्रतिशत मात्र सकिएको छ।
‘पुनर्निर्माणको समयसीमा पुस २ गते सकिँदैछ। तर अबको आठदेखि १० महिनाभित्र क्याम्पसको भवन निमार्णको कार्य सकिनेछ। फाउन्डेसनदेखि लिएर रिभाइज गर्दै जानुपर्ने हुन्छ। घण्टाघर र त्रिचन्द्र क्याम्पस आफैँमा एउटा सेपरेट हुनुपर्ने भनेर डिजाइन भएको थियो। पहिलाकै डिजाइनमा काम गर्दै जाँदा बिल्डिङको पुरानो संरचनालाई पुनः डिजाइन गर्नुपर्यो’ उनले भने।
उनका अनुसार ग्राउन्ड फ्लोर भन्दा माथिको भागमा घण्टाघरलाई रेक्ट्रोफिट गर्न एक हप्ता अगाडि मात्र रि–डिजाइन स्वीकृत भएको छ। इन्जिनियर थापाका अनुसार क्याम्पसको डिजाइन पुरानै आकारमा भइरहेको छ।
प्रबलीकरण भइरहेको भवनमा क्याम्पसले कक्षाहरू समेत सञ्चालन गर्दै आएको थियो। भवनको अभावमा भूकम्पबाट चर्किएको जोखिमपूर्ण भवनमै कक्षाहरू सञ्चालन हुन्थे। प्रबलीकरण सुरु भएपछि भने कक्षा अन्यत्र सारियो। तर यता प्रबलीकरणमा ढिला हुँदा उता विद्यार्थीहरुको पढाइमै असर परिरहेको देखियो।
नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का नेता गोविन्द कोइरालाले भवन पुनर्निर्माणका लागि आफूहरूले धेरै दबाब दिएर मात्र पुनर्निर्माणको काम अगाडि बढेको बताउँछन्।
क्याम्पसका विद्यार्थीहरुले ऐतिहासिक भवनहरू पुनर्निर्माणमा दबाब दिन ‘सेभ त्रिचन्द्र’ अभियान नै चलाएका थिए।
‘कलेजको पुन निर्माण एउटा ऐतिहासिक काम पनि हो। २०७२ को भूकम्पपछि यहाँ रेड स्टिकर लगाइएको थियो। तर पनि पढाइ भने चली नै रहेको थियो। त्यस्तो भवनमा भित्ताबाट पानी चुहिने, इट्टाहरू खस्ने र विद्यार्थीहरू घाइते हुने खालको समस्या थियो,’ उनले भने ‘अर्को भवन थिए। धेरै प्रयास गर्दा पनि सरकारको ध्यान भ्यु टावर बनाउने, ठुला ठुला भवन बनाउने तर शैक्षिक संस्थाहरूमा ध्यान नगएपछि २०७८ मा दबाब सिर्जना गरेका थियौँ।’
पहिला क्याम्पसको पुनर्निर्माणको जिम्मा राष्ट्रिय पुन निर्माण प्राधिकरणले लिएको थियो। तर जिम्मा लिए पनि उसले कामै सुरु गरेन। त्रिचन्द्र पुनर्निर्माण नगरी प्राधिकरण विघटन भयो। सरकारले पुनर्निर्माण गर्ने सङ्केत नदेखाएपछि क्याम्पसका पूर्व प्रबुद्ध विद्यार्थीहरुले तत्कालीन प्रधानमन्त्री र प्रमुख दलका नेताहरू भेटेर पुनर्निर्माण सुरु गर्न दबाब दिएका थिए।
क्याम्पसका विद्यार्थीहरुले पनि दबाब अभियान सुरु गरे। अनि मात्र सरकारले बजेट विनियोजन गरेको थियो। २०७८ मा बजेट विनियोजन भएपछि ०७९ भदौमा ठेक्काको आह्वान भएको थियो। मङ्सिरबाट काम सुरु भयो।
पुनर्निर्माणको लागि दुई वर्षको समय तोकिएको थियो। तर तोकिएको समयमा भवन प्रयोगका लागि तयार हुने सम्भावना छैन।
१९७५ देखिको विरासत
१९७५ भदौ १२ मा स्थापना भएको त्रिचन्द्र क्याम्पसको पहिलो नाम त्रिभुवन-चन्द्र कलेज थियो। पछि १९८१ मा त्रिचन्द्र बहुमुखी क्याम्पस नामकरण भएको देखिन्छ। एक शताब्दी इतिहास बोकेको नेपालमा उच्च शिक्षाको पहिलो प्रतिष्ठानका रूपमा रहेको क्याम्पसबाट प्रधानमन्त्री, मन्त्री, शासक प्रशासक साथै लब्ध प्रतिष्ठित व्यक्तिहरू उत्पादन भइसकेका छन्।
वरिष्ठ चिकित्सक डा.मधु घिमिरेको अगुवाइमा त्रिचन्द्रलाई पनि ‘एकाडेमिक भिलेज’का रूपमा विकास गर्ने अभियान सुरु गरिए पनि पूरा हुन सकेको छैन। भवनको मौलिकता र पुरातात्त्विक सौन्दर्यता साथै भव्यतालाई जोगाउँदै नयाँ संरचना निर्माण गर्दै शैक्षिक हबका रूपमा विकास गर्ने पूर्व विद्यार्थीको अभियान अहिले सुस्ताएको छ। क्याम्पसमा हाल १२ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत छन्।
आकाङ्क्षा धामी/एनएनबी
मंसिर २५, २०८१ मंगलबार १६:०३:२४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।