प्रधानमन्त्री ओलीले चीन भ्रमणमा सिन्को पनि भाँचेनन्, उनलाई देख्दा दया पनि लाग्छ : प्रचण्ड
काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हालसालै प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको चीन भ्रमणमा सिन्को पनि नभाँचेको बताएका छन्।
मंगलबार चितवनमा आयोजित खबरदारी सभालाई सम्बोधनमा प्रचण्डले आफूले अघिल्लोपटक गरेका कामलाई मान्यता दिएको तर, ओली आफैंले सिन्को पनि नभाँचेको दाबी गरे।
‘केपी ओलीले नयाँ भनेको एउटा सिन्को पनि भाँचेको मैले देखेको छैन। तैपनि मैले गरेका कामलाई उनले मान्यता दिए, त्यसका लागि उहाँलाई धन्यवाद छ,’ प्रचण्डले भने।
प्रधानमन्त्री ओलीको यसपटकको भ्रमणमा कुनै पनि समझदारी नभएको दाबी गर्दै प्रचण्डले अघिल्लो साल आफू प्रधानमन्त्री हुँदा गरेका समझदारीलाई ओलीले फोटोकपी गरेर प्रचार गरिरहेको बताए।
उनले भने, ‘चीनले अघि सारेको बीआरआई परियोजनालाई नेपालमा पहिलोपटक समझदारी गराएको म दोस्रो पटक प्रधानमन्त्री हुँदा हो। मैले पोहोर साल चीन भ्रमणमा जाँदा संयुक्त वक्तव्यमा नै बीआरआईको कार्यान्वयन फ्रेमवर्कमा हस्ताक्षर गर्नुपर्छ र अन्तिम तयारी गर्ने कुरा गरिएको थियो।’
प्रचण्डले प्रधानमन्त्री ओलीलाई देख्दा दया पनि लाग्ने गरेको भन्दै व्यंगसमेत गरेका छन्।
उनले भने, ‘भारत र चीनसँग सन्तुलित सम्बन्ध दूरगामी थिए। मलाई अहिलेको प्रधानमन्त्रीलाई देख्दा अलिअलि खुसी पनि लाग्छ, अलिअलि दया पनि लाग्छ। मैले गतसाल गरेका सबैलाई फोटोकपी गरेर मैले गरेको भनेर प्रचार गरिरहनुभएको छ। ती सबै गतसाल गरिएका सहमति समझदारी हुन्।’
मंसिर २५, २०८१ मंगलबार १५:५९:५७ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।