जीपका चालक निदाएपछि गढीमाईको दर्शन गरेर फर्कँदै गरेका ८ जनाको ज्यान गयो, ५ जना घाइते

जीपका चालक निदाएपछि गढीमाईको दर्शन गरेर फर्कँदै गरेका ८ जनाको ज्यान गयो, ५ जना घाइते

काठमाडौं : बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै आठ जनाको ज्यान जाने गरी भएको दुर्घटना चालक निदाएकाले हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जीप अनियन्त्रित भई रूखमा ठोकिएको थियो। त्यसक्रममा आठ जनाको ज्यान गएको थियो भने पाँच जना घाइते भएका इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले जानकारी दिए।  

उनका अनुसार दुर्घटनामा परी सिरहाको अर्नामा नगरपालिका-३ बंठिया टोलका रामकुमारीदेवी महरा, रामकुमारी महरा, सकुन्तलादेवी महरा, उर्मिला महरा, लरुवतीदेवी महरा, महगीदेवी महरा, फुलमन्तीदेवी चमार र चालक श्रीकुमार यादवको मृत्यु भएको छ। 

त्यसैगरी घाइते भएका राधा राम, आर्यन राम, देवकुमारी महरा, रितिक महरा र कन्यादेबी महरालाई उपचारका लागी पर्साको वीरगञ्ज पठाइएको प्रहरीले जनाएको छ।

बिहान प्रहरीको कन्ट्रोलमा फोन आएपछि इलाका प्रहरी कार्यालय चपुरबाट डिएसपी राजकुमार राई र जिल्ला ट्राफिक प्रहरी कार्यालय रौतहटका प्रमुख एसपी लोकेन्द्र अधिकारीको कमाण्डमा टोली खटिएको थियो। एसपी अधिकारीका अनुसार चालक निदाएकाले त्यस दुर्घटना भएको प्रहरीको अनुमान छ। 

‘उहाँहरू एक समूहबाट मेलामा जानुभएको देखिन्छ। शनिबार वा आइतबार नै उहाँहरू त्यहाँ आउनुभएको देखिन्छ। सोमबार अबेर राति मात्र उहाँहरू फर्किएको देखिन्छ,’ एसपी अधिकारीले भने, ‘मेलामा अनिद्रा पनि भएको हुनसक्छ।’ 

मंसिर २५, २०८१ मंगलबार १५:३०:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।