प्रकाश सपुतको हातमा फिल्म नै फिल्म, दयाहाङ राईकै लाइनमा त हैन !
काठमाडौं : गायकबाट नायक बनेका प्रकाश सपुतको आलोचना र चर्चा एकअर्काका परिपूरक जस्तै हुन् भन्दा फरक पर्दैन। दोहोरी ब्याटलहुँदै ‘गलबन्दी च्यातियो’ले उनलाई चर्चाको शिखरमा पुर्यायो। त्यसपछि भने ‘तिम्रो मायाले मलाई पीर दियो’,‘कुरा बुझ्न पर्च’,‘सकम्बरी’,‘दमाई महाराज’ले प्रकाशलाई आलोचित बन्यो। फेरिपनि उनी चर्चाकै रहिरहे।
उनलाई आफ्नो गीतको भिडियो कसरी चलाउनुपर्छ भन्ने राम्रै फण्डा थाहा छ। उनले विभिन्न फण्डा अपनाइरहे। यसैक्रममा नारायण रायमाझीले आफ्नो फिल्म ‘परदेशी २’मा मुख्य भुमिकामा अभिनय गराएपछि उनले अभिनेतामा डेब्यु पारे। पहिलो फिल्म भएर पनि होला, प्रकाशले देशका ठूल्ठूला शहरमा फिल्मलाई प्रचार गरे। पहिलो फिल्मले नै प्रकाशलाई चर्चा मात्र दिलाएर कमाई पनि मनग्गे दियो।
त्यसपछि भने प्रकाशले लगातार फिल्ममा काम पाइरहेका छन्। पहिलो फिल्ममा मध्यम अभिनय गरेका प्रकाशले दोस्रो फिल्म ‘पूर्ण बहादुरको साराङ्गी’मा अभिनय गरे। फिल्मको पहिलो दृश्यमा नै उनको सिन राखिएको थियो। ओखलढुङ्गाको रुम्जाटारमा खिचिएको प्रकाश र बाल कलाकार संयम केसीको फोटोको राम्रै चर्चा भयो।
तर, फिल्म प्रदर्शन आउँदाताका प्रकाश प्रचारप्रसारमा हिँडेनन्। निर्माण टिमसँग उनले घुर्की लगाए। जब फिल्मले सर्वाधिक कमाई गर्यो, उनको अभिनय छायाँमा पर्यो तब मिडियामा देखिन थाले।
उनको दोस्रो फिल्म ‘पूर्ण बहादुरको साराङ्गी’ले हलबाट ५० करोड हाराहारीको व्यापार गरेर रेकर्ड राखेको छ। तर, यतिको फिल्मले व्यापार गर्दा पनि न उनको चर्चा छ न उनको अभिनयको।
यो टिमसँग रुष्ट बनेको प्रकाश अहिले आफैं फिल्म निर्माणमा लागेका छन्। आफ्नै लेखन तथा निर्देशनमा फिल्म ‘बसन्त’निर्माण गरिरहेका छन्। दसैं अघिबाट नै स्वस्तिमा खड्कालाई हिरोइन् लिएर धमाधम यो फिल्मको खिच्ने काम भइरहेको छ। तर उनको चर्चा गुमनाम जस्तै छ।
उनले हालै एक अन्तवार्तामा आफू ६ महिनामा एक पटक अन्तवार्ता दिन्छु, त्यसपछि दिन्न भनेका थिए। त्यसैले पनि होला उनी मिडियाबाट टाढै छन्।
मिडियाबाट टाढिएका प्रकाशलाई भने एकपछि अर्को फिल्म हात परिरहेको छ। आफ्नो फिल्म ‘बसन्त’को छायांकन गर्दै नयाँ फिल्ममा अनुबन्ध भइसकेका छन् प्रकाश। किनकी उनलाई आफ्नो फिल्ममा खेलाउनका लागि निर्माता र निर्देशक मरिहत्तेमा छन्।
त्यसअघि प्रकाश सरोज वलीको निर्माणमा बन्न लागेको फिल्म ‘हरि बहादुरको जुत्ता’मा अनुबन्ध भएका छन्। यो पछि उनी ‘माइतीघर’मा पनि अनुबन्ध भइसकेका छन्। भर्खरै मात्र अर्जुन सुवेदीको निर्देशनमा बन्न लागेको फिल्म‘सोल्टिनी’मासमेत अनुबन्ध भए।
अर्जुनले कथावाचक साइग्रेस पोखरेललाई कथावाचन गर्न लगाएको एक भिडियो सार्वजनिक गर्दै प्रकाश सपुतलाई फिल्मको मुख्य भुमिकामा लिइएको जानकारी दिए।
समाजमा विद्यमान अमानवीयता र जातीय भेदभावलाई उजागर गर्दै यस विरुद्ध आवाज उठाउने कथामा फिल्म निर्माण हुन लागेको हो। यसैमा प्रकाशले मुख्य भूमिका निवार्ह गर्न लागेका हुन्। हालै प्रकाशले निर्माण गरिरहेको फिल्म ‘बसन्त’को कथा पनि यस्तै नै छ। जुन फिल्मको थिममा रहेर प्रकाशले केही महिनाअघि बिग मुभिज्मा भिडियो रिलिज गरेका थिए।
यो फिल्ममा प्रकाश सपुत र परीक्षा लिम्बुलाई प्रमुख भूमिकामा प्रस्तुत गरिएको छ। अभिनेता सपुतले ‘भीमसेन पोखरेल’को भूमिका निर्वाह गर्दैछन्। अर्को वर्षको असोज ३ मा संविधान दिवसको दिन फिल्म रिलिज हुनेछ। प्रकाशकै आफ्नो फिल्म भने चैते दसैं आसपासमा रिलिज हुँदैछ।
अर्को वर्ष प्रकाशमय फिल्मक्षेत्र बन्नेमा कुनै शंका छैन। उनले पनि दयाहाङ राईले जस्तै मौकामा चौका हानेका त हैनन्, यो प्रश्न भने निरुत्तरित छ।
मंसिर २५, २०८१ मंगलबार १५:०५:२२ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।