विकेट झरेको बेलामा भगवानलाई धन्यवाद भनिरहेको थिएँ : कप्तान रोहित पौडेल
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइजी टिम लुम्बिनी लायन्सक कप्तान रोहित पौडेलले चार खेलमा हारपछिको जित एकदमै महत्त्वपूर्ण भएको बताएका छन्।
एनपीएलमा पहिलो जितपछिको पत्रकार सम्मेलनमा उनले पहिलो जितले टोलीलाई सकराकात्मक ऊर्जा दिएको बताए।
‘हाम्रो लागि जित एकदमै महत्त्वपूर्ण थियो। बाँकी दुई खेल जितेको खण्डमा प्लेअफको लागि आशा गर्न सकिन्छ। तर अरु टिमको रिजल्टमा भर पर्छ,’ उनले भने, ‘चार खेल हारिसकेको अवस्थामा स्वदेशी र विदेशी खेलाडीको माइन्डसेट पजेटिभ नै राखौं भन्ने थियो। दुईटा गेम एकदमै टाइट थियो।’
ब्याटिङ गर्दा बल एकदमै घुमेर आइरहेको भन्दै उनले त्यही अनुसार बायाँहाते ब्याट्सम्यानलाई क्रिजमा बोलाइएको बताए।
उनले थपे, ‘बल एकदमै टर्न गरिरहेको थियो। लेफ्टी ब्याट्सम्यान चाहिएको थियो। त्यहीअनुसार सादलाई पठाइयो। १४० भन्दा बढी रन बनाउन सकियो भने चितवनलाई पनि चुनौती दिन सकिन्छ भन्ने थियो। साद र मेरो राम्रो पार्टनरसिप भयो।’
उनले पहिलो खेलमा आफूले बलिङ नगर्नु गल्ती भएको स्वीकार्दै आगामी दिनमा त्यसलाई सुधार्दै लैजाने बताए। ब्याटिङ गरिरहँदा एकदमै सकारात्मक अनुभव गरिरहेको बताउँदै उनले राम्रो समय चलिरहेको बेला नयाँ-नयाँ सटहरूको पनि अभ्यास गरिरहेको बताए।
आफूहरूलाई जसरी पनि जित चाहिएकाले बलिङ गरिरहँदा विकेट झर्दा भगवानलाई धन्यवाद भनिरहेको उनले बताए।
उनले अगाडि भने, ‘हामीलाई जसरी पनि जित चाहिएको थियो आज। चार गेम भइसकेका थियो हारेको। विकेटहरु झरेको बेलामा भगवानलाई धन्यवाद भनिरहेको थिएँ। बलिङमा पनि हामीले स्टेप अप गरिरहेका छौं।’
पहिलो जित निकालेसँगै लुम्बिनी दुई अंकसहित तालिकाको पाचौं स्थामा उक्लिएको छ।
मंसिर २५, २०८१ मंगलबार १३:५४:५९ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।